सहयोगीको भरमा छोटी भन्सार

कर्मचारी घरबिदामा जाँदा स्थानीय युवाले पुर्जी काट्ने र रकम आफैं राख्ने गर्छन् 
नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ । महेशपुर भन्सारअन्तर्गत सञ्चालित यहाँ सवारी सुविधाबाहेक अन्य काम हुँदैन । सीमापार भारतका विभिन्न स्थानबाट नेपाल आउने सवारी साधनलाई जाँच गरेर पुर्जी बनाउने काम मात्रै भइरहेको छ ।

त्रिवेणी भन्सार कार्यालयमा सुब्बास्तरका कर्मचारीको दरबन्दी छ । अहिले भने सहयोगीले राजस्व असुलीको काम गरिरहेका छन् । कर्मचारी घरबिदामा हुँदा स्थानीय युवाले पुर्जी काट्ने र रकम आफैं राख्ने गर्छन् । महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माका अनुसार कर्मचारी अभावमा कार्यालय सहयोगीको भरमा छाड्नुपरेको हो ।

‘दुई कार्यालय सहयोगी त्रिवेणी नाकामा खटिएका छन् । एक स्थानीयले स्वयं सेवा गरेका छन्,’ उनले भने, ‘मेला महोत्सव लागेका समयमा सुब्बा खटाइन्छ ।’ नाकाबाट औसतमा प्रतिमहिना २ देखि ३ लाख रुपैयाँसम्म मात्र राजस्व संकलन हुने गरेको छ । नजिकै पश्चिम नवलपरासीको महेशपुरमा मूल भन्सार नाका भएकाले यहाँबाट आयात निर्यात हुँदैन ।

छोटी भन्सारको सामान्य कार्यालय प्रयोजनका लागि साँघुरो कोठाबाहेक अन्य भौतिक संरचना छैन । भौतिक संरचनाको अभावमा चोरी निकासीबाट आएका सामान बरामद भए पनि प्रहरीको सहयोगमा तत्कालै मूल भन्सार लैजानुपर्ने बाध्यता छ । यस नाकाबाट चोरी निकासी पनि बढ्दो छ । छोटी भन्सार गण्डकी प्रदेशमा परे पनि सिधा र मूल सडकमा नजोडिएकाले पहिले सडक निर्माण गर्नुपर्ने आवश्यकता रहेको उद्योगी व्यवसायी बताउँछन् ।

नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलका अनुसार मुख्यमन्त्री र राजनीतिक दलका नेताले पटकपटक स्थलगत निरीक्षण गरेर प्रदेशको मूल भन्सार बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘गण्डकी प्रदेशको आर्थिक विकासका लागि नाका मेरुदण्ड हो,’ उनले भने, ‘नेपाल र भारतबीच आयात निर्यात अन्य मुलुकभन्दा बढी हुने भएकाले तत्काल मूल भन्सारका लागि आवश्यक नीति, कर्मचारी र भौतिक संरचना निर्माणमा प्रदेश र केन्द्रको ध्यान जान आवश्यक छ ।’

पोखरा संवाददाताका अनुसार गण्डकी प्रदेश सरकारले त्रिवेणी छोटी भन्सार स्तरोन्नति गरी मूल भन्सारका रूपमा सञ्चालनका लागि संघीय सरकारसँग एक वर्षअघि नै माग गरेको छ । सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरी मुख्य भन्सारमा स्तरोन्नति गर्न माग गरिएको हो ।

‘प्रदेशको समृद्धिका लागि नाका मूल भन्सारका रूपमा सञ्चालन नगरी हुँदैन,’ उनले भने, ‘संघीय सरकारले केही भनेको छैन ।’ प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले यस विषयमा केन्द्रबाट केही जवाफ नआएको बताए । यस विषयमा आफूले पनि सम्बन्धित निकायमा कुरा गर्ने उनकोभनाइ छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

घाइतेका बाबु सोध्छन्–'कसले लगायो बम फिट गर्न ?’

जनकराज सापकोटा

काठमाडौँ — जेठ १२ गते सुकेधारा र घट्टेकुलोमा चार जनाको ज्यान जाने गरी भएको विस्फोटको खबर रेडियोबाट सुन्दा ५५ वर्षीय कृष्णबहादुर श्रेष्ठ रामेछापको मन्थली– ४ स्थित घरमै थिए । त्यति धेरै मान्छे मरेछन् भनेर उनले दुःख माने । घटनाको नौ दिनपछि एक जना अपरिचित प्रहरीले उनलाई खबर गरेर सोधे, ‘तपाईं रामकुमार श्रेष्ठको बाबु हो ?’ उनले हो भन्नेबित्तिकै प्रहरीले जुन खबर सुनायो, त्यसले उनको होसहवास उड्यो । उनी हतारिँदै काठमाडौं हान्निए । 

काठमाडौं आएपछि अस्पतालभित्रको सघन उपचार कक्ष (आईसीयू) मा अक्सिजनमार्फत सास फेरिरहेका छोराको अनुहार देखेपछि कृष्णले आफूलाई सम्हाल्नै सकेनन् । उनले भने, ‘चिटचिट पसिना आयो । म त बेहोस जस्तै भएछु ।’ ओखलढुंगाको गाम्नाङस्थित मामाघर बसेर पढेको जेठो छोरा रामसँग उनको दसैंपछि भेट भएको थिएन ।

एसएलसी मात्रै पास गरेका रामले दसैंमा बाबुसँग आफू चन्द समूहमा लागेको बताएका थिए । कृष्णले त्यो दिन सम्झिए, ‘यस्तो पार्टीमा नलाग् छोरा । मान्छे मार्ने खेलमा लागेर काम छैन । बरु १/२ लाख खोज्छु, विदेश जा भनेको थिएँ । तर मानेन ।’ दसैं सकिएपछि घर छाडेको छोरासँग उनको घटनाको एक महिनाअघि फोनमा कुरा भएको थियो ।

रामले आफू चितवनको भरतपुरमा रहेको बताएका थिए । त्यही भएर पनि सुकेधारा र अनामनगर विस्फोटको खबर सुनेपछि कृष्णलाई घटनामा आफ्नो छोरा पर्‍यो होला भन्ने अनुमानसम्म पनि भएन । त्यसो त घटनालगत्तै होसमै रहेका बेला रामले आफ्नो घर बताएपछि प्रहरीले उनका अभिभावकको खोजीमा ओखलढुंगामा प्रहरी परिचालन गरेको थियो ।

घटनापछि अस्पताल पुर्‍याइएका रामको होस एघार दिनपछि फर्केको थियो । छोराको होस आए पनि आँखा खोलेर राम्ररी हेर्न र बोल्न सक्ने अवस्था भइनसकेको कृष्णले बताए । छर्रा लागेर चोटग्रस्त भएका कारण चिकित्सकले उनको देब्रे आँखाको नानी झिकिदिएका छन् । त्यो आँखाबाट पिप जस्तो पानी रसाइरहन्छ । दाहिने आँखा पनि रामले राम्ररी खोल्न सक्दैनन् । त्यो आँखाबाट पनि लगातार आँसु रसाइरहे जस्तो देखिन्छ ।

चिकित्सकले छोराको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको बताएपछि उनको हतास मन केही शान्त त भएको छ । तर प्रत्येक दिनको उकालोलाग्दो उपचार खर्च सुनेपछि उनको चिन्ताको पारो चढिहाल्छ । ‘पार्टीले गर्दा यस्तो भयो । तर पार्टीका नेताले एक पैसा दिएका छैनन् । अब उपचार खर्च कसरी जुटाउने ?’ उनले भने, ‘इन्तु न चिन्तु भइसक्या छु ।’ चन्द समूहका कुनै नेता घटनापछि सम्पर्कमा नआएको उनको भनाइ छ ।

विस्फोटमा परी छोराको यस्तो हालत भएपछि उनको मनमा केही प्रश्न उब्जिएका छन् । उनले भने, ‘कसले बम फिट गर्न लगायो होला ?’ आफू सामान्य कृषि कर्म गरेर परिवारको गर्जो टार्ने कृष्णलाई सबैभन्दा ठूलो चिन्ता भनेकै उपचार खर्चको छ । ‘छोरा त बाँच्ला । तर उपचार खर्च कहाँबाट, कोसँग मागेर तिर्नु ? खर्च जुटाउने कुनै उपाय छैन,’ उनले भने । उपचारमा १० लाख रुपैयाँभन्दा धेरै खर्च भइसकेको छ । उपचारमा अझै पाँच/छ महिना लाग्ने चिकित्सकले बताएका छन् ।

जेठ १२ मा करिब ४ बजे झन्डै दस मिनेटको अन्तरमा अनामनगर र सुकेधारामा शक्तिशाली विस्फोट भएका थिए । जसमा कालिकोटको सान्नित्रिवेणी गाउँपालिका ९ घर भएका विभुराम भनिने दीपिन विक, दाङको बबई गाउँपालिका ३ घर भएका करिब ३३ वर्षीय गोकुल रानामगर र ४४ वर्षीय निरन्तर मल्ल र शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का विद्यार्थी नेता प्रज्ज्वल शाहीको मृत्यु भएको थियो ।

चारै जना नेत्रविक्रम चन्द समूहका कार्यकर्ता थिए । सुकेधारा विस्फोटका चार घाइतेमध्ये चन्द समूहमा आबद्ध रामकुमार, हरि खडका र सुरेन्द्र महर्जनको उपचार चाबहिलस्थित ओम अस्पतालमा भइरहेको छ । उनीहरू चन्द समूहमा आबद्ध रहेको पुष्टि भइसकेको छ । विस्फोटमा परेका सैलुनका सञ्चालक छोटे भनिने जीवकुमार ठाकुरको उपचार भने ट्रमा सेन्टरमा हुँदै छ ।

ठाकुर चन्द समूहमा संलग्न थिए वा उनी उपयोग मात्रै भएका हुन् भन्नेबारे पुष्टि भइसकेको छैन । प्रहरीका अनुसार सुरेन्द्रको दाहिने खुट्टाको घुँडामुनिको भाग उपचारका क्रममा काटिएको छ । हरिको पनि दाहिने खुट्टाको घुँडामुनिको भाग संक्रमित छ । संक्रमण बढे खुट्टाको भाग काट्नैपर्ने देखिएको प्रहरीको भनाइ छ ।

महोत्तरी गौशाला नगरपालिका १ का छोटे भनिने जीवकुमार ठाकुर ट्रमा सेन्टरमा उपचाररत छन् । चन्द समूहका कार्यकर्ताले सुकेधारामा गराएको विस्फोट उनकै सैलुनमा भएको थियो । त्यही विस्फोटमा तीन वटा करङ भाँच्चिएपछि उनलाई प्रहरीले उपचारका निम्ति ट्रमा सेन्टर ल्याएको हो । चन्द समूहका कार्यकर्ता किन उनकै सैलुनमा भेला भए र कसरी त्यहाँ विस्फोट भयो भन्नेबारे पुष्टि हुने प्रमाण प्रहरीले पाइसकेको छैन । प्रहरीले उनको विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।

कमजोर आर्थिक अवस्थाका छोटेको उपचार खर्च जुटाउनै परिवारलाई धौधौ छ । नेपा नाई ट्रेड युनियनले उनको निःशुल्क उपचारको माग गर्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको थियो । त्यसैका आधारमा जेठ २३ मा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका निजी सचिव भवनाथ खतिवडाले ट्रमा सेन्टरलाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिन पत्र काटेका छन् ।

छोटेका छोरा वीरेन्द्र अस्पतालमा कुरुवा बसिरहेका छन् । अस्पतालमा उनको सुरक्षामा प्रहरी परिचालित छन् । ‘उनी बोल्न सक्ने अवस्थामा छैनन्,’ एक प्रहरीले भने, ‘स्वास्थ्यमा सुधार आएपछि उनको पनि बयान लिइनेछ ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्