१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिजनमै रित्तिए मौरी घार

मौरी मरेर मह उत्पादन घटेपछि व्यावसायिक मौरीपालक निरास
चन्द्र कार्की

तेह्रथुम — मह काट्ने मुख्य सिजनमै मौरी मर्न थालेपछि किसानले ठूलो नोक्सानी व्यहोरेका छन्  । मह काटेर आम्दानी लिने समयमा घार नै रित्तिने गरी मौरी गोलामै मर्न थालेपछि लाखौंको क्षति भएको छ  ।

सिजनमै रित्तिए मौरी घार

हिउँदमा चिसो र चरन अभावले मौरीपालन व्यवसायमा घाटा खाएका जिल्लाका किसान उपयुक्त सिजनमा पनि नोक्सान व्यर्होन बाध्य छन् । स्थानीय सेरेना जातका मौरी पालेर जीविकोपार्जन गर्ने किसान मौरी मर्न थालेपछि चिन्तित छन् । जिल्लाका मेन्छ्यायाम, फेदाप, छथर गाउँपालिका र लालीगुराँस तथा म्याङलुङ नगरपालिकाका किसानले पालेका मौरी घारभित्रै मरिरहेका छन् ।

जंगलमा मौरीका लागि पर्याप्त चरन भएको समयमा पनि घारभित्रै मरिरहेको छथर गाउँपालिका ५ ओख्रेका नोचन्द्र पौडेलले बताए । २६ घार मौरी पालेका पौडेलका एक महिनामा १३ गोला मौरी मरेका छन् । मौरी मर्दा आफूलाई १ लाख ३० हजार रुपैयाँ नोक्सान भएको पौडेलले बताए ।
मेन्छायाम गाउँपालिका ३ श्रीजुङका युवा मौरीपालक डिल्ली दाहालका पनि १० गोल्याभन्दा बढी मौरी घारभित्रै मरेका छन् । एक महिनाको अवधिमा मौरी मरेर सखाप भएको दाहालले बताए । जिल्लामा किसानले सेरेना जातका ५ हजारभन्दा मौरीका गोला पालेको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय तेह्रथुमले जनाएको छ ।


जंगल र खेतबारीमा समेत प्रशस्त फूल फुल्ने सिजनमै यस्तो भएको हो । विगतका वर्षमा दुईपटकसम्म मह काट्ने गरेको भए पनि यसपटक मह निकाल्न नपाएको लालीगुराँस नगरपालिका ९ सोल्माका सरोज पोखरेलले बताए । मौरी चरनका लागि ननिस्कने र घारमा भएका मौरीसमेत मर्ने गरेको उनको भनाइ छ ।


किसानले मौरी मर्नुको कारण पत्ता लगाउन सकेका छैनन् । घारमै मौरी मरेर मह उत्पादनमा कमी आएपछि व्यावसायिक मौरी पालनमा लागेका जिल्लाका किसान निरास छन् । अन्य कृषि व्यवसायको बिमा हुने गरेको छ । कम्पनीहरूले मौरी व्यवसायको बिमा नगरिदिँदा आफूहरू थप मारमा परेको किसान पौडेलले बताए ।


जिल्लामा मौरीविज्ञ एकैजना पनि नहुँदा थप समस्या भएको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयमा समेत अहिले एकैजना कर्मचारी छैनन् । त्यसमा पनि मौरीबारे पर्याप्त ज्ञान भएको व्यक्ति कहिल्यै पनि नआएको किसानको भनाइ छ ।


सरकारी बेवास्ता, बालीनालीमा विषादीको अत्यधिक प्रयोग, वन विनाश, मौरी विज्ञको अभाव र मौरीका लागि पर्याप्त चरन नहुँदा पनि मौरीपालन व्यवसाय संकटमा परेको किसानको भनाइ छ । पछिल्लो समय किसानले खेतबारीमा तोरी, फिलुङगे, सूर्यमुखीलगायत फूल फुल्ने जातका बाली र बिरुवाको खेती गर्न छाडेका छन् ।


किसानले बालीमा फूल फुलेको समयमा जीवनाषक विषादी प्रयोग गर्ने र विषादी छरिएको फूलमा गएको मौरीले विषादीको अवशेष घारमा समेत ल्याउँछ । त्यसैकारण सबै मौरी मर्ने गरेको मौरी विकास केन्द्र गोदावरीका प्रमुखसमेत रहेका वरिष्ठ मौरीविज्ञ तीर्थकुमार श्रेष्ठले बताए ।

एपिस सेरेना जातको मौरीलाई कृत्रिम खाना बनाएर खुवाउने प्रचलन किसानमा नहुँदा खाना अभावले पनि मौरी मरेको हुन सक्ने मौरीविज्ञ श्रेष्ठको भनाइ छ ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?