कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भूमेमा व्यावसायिक दूध उत्पादन

हरि गौतम

रुकुम पूर्व — भूमे गाउँपालिकामा व्यावसायिक रूपमा दूध उत्पादन सुरु गरिएको छ । मारिङ बहुद्देश्यीय सहकारी संस्थाले पहिलो पटक दूध बिक्री वितरण थालेको हो । सहकारीले ५ वटा गाई खरिद गरी खाबाङ बगरमा दूध बिक्री गरिरहेको छ । 

५ लाख ५० हजार रुपैयाँमा गाई खरिद गरेर दूध बिक्री थालिएको सहकारीले जनाएको छ । बुटवलबाट ५ वटा माउ गाई, एउटा बहर, २ वटा बाच्छा ल्याइएको छ । २ वटा जर्सी र तीनवटा होलिस्ट्यान जर्सी गाई हुन् । ‘गाउँपालिकाका धेरै ठाउँमा दूध पाइन्न,’ सहकारीका व्यवस्थापक सन्दीप अधिकारीले भने, ‘त्यस्ता ठाउँमा दूध आपूर्ति गर्ने उद्देश्यले गाईपालन गरेर दूध बेच्न थालेका हौं ।’


गाईगोरु, भेडा, बाख्रा मात्र पाल्ने भएकाले धेरै ठाउँमा दूध नपाइने गरेको उनले बताए । घरमा पालिएका गाई दुहुने चलन कमै छ । त्यसैले दूधको आवश्यकता बढी देखिएपछि गाईपालन गरेर व्यावसायिक रूपमा दूध बिक्री थालिएको व्यवस्थापक अधिकारीले बताए । एउटा गाईले दुई छाकमा १२ लिटर दूध दिन्छ ।


पहिलो चरणमा गाउँपालिका केन्द्र, खाबाङ बगर, त्रिवेणी, महतलगायत गाउँमा दूध आपूर्ति भइरहेको छ । दीर्घकालीन रूपमा जिल्लाका अन्य स्थानीय तहका बजार तथा रुकुम पश्चिम र रोल्पासम्ममा दूध पुर्‍याउने लक्ष्य लिइएको सहकारीले जनाएको छ । गाईपालनमा २ जनाले रोजगारी पाएका छन् ।


प्रदेश सरकार, भूमे गाउँपालिका र सहकारीको आफ्नै लगानीमा गाईपालन सुरु गरेको हो । ६ रोपनी जग्गा भाडा, गोठ निर्माण, गाई खरिदसमेत गरेर २४ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश ५ सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १४ लाख, भूमे गाउँपालिकाको ४ लाख अनुदान र सहकारीको ५ लाख रुपैयाँ लगानीमा गाईपालन सुरु गरिएको छ ।


भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले गाउँपालिकामा पहिलो पटक व्यावसायिक दूध उत्पादन सुरु भएको बताए । गाउँपालिकामा यसअघि छिटफुट रूपमा मात्रै दूध पाइने र त्यो व्यक्तिगत प्रयोजनमा मात्रै रहेको उनले सुनाए ।


गाउँपालिकाका केही ठाउँमा मात्रै भैंसी पालिने र भैंसीको दूध पनि घरायसी प्रयोजनमा मात्रै सीमित छ । सहकारीले थालेको गाईपालनबाट केही रोजगारी प्राप्त हुनुका साथै दूध पनि आपूर्ति हुने भएपछि यसबाट अन्य सर्वसाधारणसमेत व्यावसायिकतातर्फ आकर्षित हुने अपेक्षा गरिएको अध्यक्ष बुढाले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?