कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एउटै वडामा ६३ उद्योग

रूपा गहतराज

नेपालगन्ज — बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा ६३ उद्योग स्थापना भएका छन् । ४४ वटा सञ्चालनमा र १९ सञ्चालनको तयारीमा छन् ।

नेपालगन्ज औद्योगिक क्षेत्रमा ३० वटा मात्रै सञ्चालनमा भने गनापुरमा स्वस्फूर्त रूपमा सिमेन्ट, आइरन, खाद्य, इँटा, जडीबुटी, रोजिन, औषधिजस्ता आन्तरिक खपत र निर्यातमा महत्त्व राख्ने ठूला उद्योग स्थापना भएका हुन् । नेपालगन्ज–कोहलपुर सडक खण्डसँगै जोडिएको गनापुरमा लहरै उद्योग स्थापना भएका छन् ।


जानकी गाउँपालिका–६ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गसँग जोडिएको र नेपालगन्ज उपमहानगरपालिकाबाट नजिक भएकाले गनापुरमा उद्योग थपिने क्रम बढेको बताए । यहाँ स्थापित ६३ मध्ये ६ उद्योग अहिले बन्द अवस्थामा र पाँच नयाँ उद्योग खुल्ने क्रममा छन् ।


बाँकेको जानकी गाउँपालिकामा पछिल्लो समय नयाँ नयाँ उद्योग थपिँदै गएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए । गाउँपालिकाले उद्योगमैत्री नीति अपनाउँदै गनापुर क्षेत्रलाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने उनले बताए ।


नेपालगन्ज उपमहानगरपालिका भित्र ठूलो उद्योग खोल्नका लागि आवश्यक पर्ने जग्गाको अभाव छ । पाइहाले पनि महँगो पर्छ । ‘त्यसको विकल्पमा उपमहानगरपालिकासँगै जोडिएको र राजमार्गको छेउमै रहेको जानकी गाउँपालिकामा पर्याप्त जग्गा सुलभ मूल्यमा पाउन सहज छ,’ गाउँपालिका अध्यक्ष यादवले भने, ‘त्यसैले उद्योग खोल्दा सबैको रोजाइ यो गाउँपालिका हुने गरेको छ ।’

प्रकाशित : जेष्ठ २५, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?