कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पाहुनालाई रैथाने परिकार

राजकुमार कार्की

सिन्धुली — रैथाने बालीको संरक्षण गर्न होमस्टे सञ्चालनमा ल्याइने भएको छ । कमलामाई नगरपालिका–२ को ढुंग्रेभन्ज्याङमा होमस्टेका लागि स्थान छनोट भइसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार होमस्टे चलाउन ४६ जना स्थानीयलाई तीनदिने तालिम दिइएको छ । 

केन्द्रकी बाली संरक्षण अधिकृत तथा प्रवक्ता सरिता सापकोटाले रैथाने बाली प्रवर्द्धन तथा संरक्षण कार्यक्रमअन्तर्गत संघीय सरकारको सहयोगमा ढुग्रेभन्ज्याङमा होमस्टे स्थापना गर्न लागिएको बताइन् । कोदो, फापर, चिनो, कागुनो, जौ, उवा र लट्टेजस्ता रैथाने बाली लोप हुँदै गएकाले ग्रामीण पर्यटनसँग जोडिएको होमस्टे निर्माणको अवधारणा अघि सारिएको उनले जनाइन् ।


ढुंग्रेभन्ज्याङमा होमस्टे निर्माणका लागि ४ लाख ८० हजार खर्च हुनेछ । पाहुनाहरूलाई सत्कार गर्न चाहिने सामानमा ५० प्रतिशत अनुदानमा होमस्टे सञ्चालकलाई उपलब्ध गराइने अधिकृत सापकोटाले बताइन् । कोदो, फापरजस्ता रैथाने बालीका परिकार बनाउन स्थानीयलाई सीप प्रदान गरिएको छ । होमस्टे निर्माणका लागि उद्योग वाणिज्य संघले पनि सघाउने भएको छ ।


संघका अध्यक्ष अम्रेशचन्द्र बैदारका अनुसार माछा, मासु र अन्य बालीको स्वादिष्ट परिकारका अलावा रैथाने बालीबाट बनेको परिकारको स्वाद पाहुनाहरूले चाख्न पाउनेछन् ।


होमस्टे सञ्चालनका लागि अहिले दर्ता गर्ने प्रक्रिया सुरु भएको छ । ‘भौतिक सामानदेखि अन्य धेरै कुराको सहयोग गर्छौं,’ उनले भने, ‘समुद्र सतहदेखि झन्डै १३ सय मिटर उचाइमा रहेको उक्त स्थान बीपी राजमार्गसँग जोडिएको र ऐतिहासिक तथा धार्मिक स्थल भएकाले होमस्टे निर्माण गर्न छनोट गरिएको हो ।’ स्थानीय मगरजातिको संस्कृति, भेषभूषा र रहनसहन पाहुनामाझ झल्काइनेछ ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?