कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

जीर्ण सडकले आयातित सामानमा क्षति

विराटनगर — भारतको जोगबनी–बथनाहा सडक जीर्ण भएपछि नेपाली आयातकर्ता सास्ती खेप्न बाध्य छन् । भारतबाट ल्याउने सामानमा क्षति पुग्ने गरेको छ । उक्त सडक खण्डमा खाल्डैखाल्डा रहेकाले मालवाहक साधन दिनहुँजसो पल्टने गरेका छन् ।

यसले गर्दा भारत तथा तेस्रो मुलुकबाट ल्याइने औद्योगिक कच्चा पदार्थ र तयारी सामान नोक्सानी हुने गरेको उद्योगी–व्यवसायीले बताए । यस्तै निकासी हुने कतिपय नेपाली उत्पादनमा पनि नोक्सानी भइरहेको छ ।


जोगबनीदेखि बथनाहासम्मको करिब ७ किलोमिटर सडक सिंगल लेनको छ । ठूल्ठूला खाल्डा परेका छन् । ‘आयात निर्यात गर्दा मालवाहक ट्रक हरेक दिन पल्टने गरेका छन्,’ जुटका तयारीवस्तु निकासीकर्ता राजकुमार गोल्छाले भने, ‘एक महिनामा जुटका तयारी वस्तु लिएर भारत जाँदै गरेका ६ वटा ट्रक पल्टिएर लाखौंको नोक्सानी भएको छ ।’


केही दिनअघि अरिहन्त मल्टिफाइवर र रघुपति जुट मिलबाट उत्पादित तयारी सामान भारत लैजाँदा १४ जीजी ७४३९ र आरजे ३६ जीए ३७२० नम्बरका ट्रक एकसाताकै अवधिमा बथनाहमा पल्टिएका थिए । राजस्थान–आसामा ट्रान्सपोर्टका सञ्चालक पवन शर्माका अनुसार जेठ महिनाको दोस्रो सातासम्ममा आफ्नै ट्रान्सपोर्टका ५ वटा मालवाहक ट्रक पल्टिँदा लाखौंको क्षति पुगेको छ ।


महालक्ष्मी ट्रान्सपोर्टका सन्दीप सिंह पनि एक महिनाको अवधिमा आफ्नो ट्रान्सपोर्टका ४ वटा मालवाहक ट्रक पल्टेको बताउँछन् । सानो सडकमा परेका ठूला खाल्डा र जामकै कारण हरेक दिन मालवाहक ट्रक पल्टिने गरे पनि सम्बन्धित निकायले मर्मत नगर्दा यो सडक खण्डबाट आयात निर्यात प्रभावित हुने गरेको सिंहको भनाइ छ ।

प्रकाशित : जेष्ठ १९, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?