१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

नाका सम्बोधनले स्थानीय खुसी

राजबहादुर शाही

मुगु — जिल्लाको तिब्बत जोड्ने उत्तरी नाक्चेनाङला नाका आगामी बजेटमा समेटिएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । लामो समयदेखि वर्षेनि न्यून बजेट विनियोजन गरी सडक निर्माणको काममा ढिलाइ हुँदा स्थानीय निरास थिए । 

बजेट भाषणमै पहिलोपल्ट उत्तरी नाकाबारे सम्बोधन भएपछि छिट्टै नाका सञ्चालन हुनेमा उनीहरू आशावादी छन् । मुगुको उत्तरी नाकालाई सरकारले सम्बोधन गरेपछि हर्षित भएको नागरिक सञ्जालका संयोजक चित्रबहादुर मल्लले बताए । ‘अब संघीय सरकारले निर्माणको कामलाई तीव्रता देओस्,’ उनले भने, ‘गमगढीदेखि तिब्बत सीमासम्म करिब ८५ किलोमिटर लम्बाइ रहेको नाकामा अहिलेसम्म १६ किलोमिटर मात्र ट्र्याक खोलिँदा हामी लामो समयदेखि निरास भएका थियौं, अब धेरै आशा पलाएको छ ।’


संघीय सरकारले यस वर्ष बजेटमै सम्बोधन गरेकाले छिटो नाका खुलेर दुई देशको व्यापार सुरु हुने आशा जागेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । ‘अब सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिन जरुरी छ,’ उनले भने, ‘सेनाले जिम्मा लिए लक्ष्यअनुसार नै सडक निर्माणको काम हुनेछ ।’ ठेक्का प्रवृत्तिले उत्तरी नाकाको काम कछुवाको गतिमा अगाडि बढेको उनको भनाइ छ । बजेट मन्तव्यमा पर्यटकीयस्थल राराको विकास र गमगढीदेखि रारासम्मको सडक मार्ग स्तरोन्नति गर्ने योजनासमेत समावेश भएकाले आफूहरू उत्साही भएको उनले जनाए ।


२०६३ सालदेखि सडक निर्माण सुरु गरिएको चीन जोड्ने सडकमा अहिलेसम्म करिब १० करोड रुपैयाँ बढी रकम खर्च भइसकेको छ । अति छोटो र सहज मानिएको यो सडक खोल्न सकिए कर्णाली प्रदेश र छिमेकी राष्ट्र चीनबीच व्यापारिक सम्बन्ध सुमधुर हुने देखिएको प्रतिनिधिसभा सदस्य मोहन बानियाँले बताए ।


उनका अनुसार आगामी वर्षका लागि सडकमा करिब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘कार्यान्वयन कसरी हुन्छ ? त्यो हेर्न बाँकी छ,’ उनले भने, ‘अहिलेको बजेट भाषणबाट स्थानीयमा ठूलो आशा पलाएको छ ।’


जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर रोकायाले राराको विकास, सडकको स्तरोन्नतिदेखि चिनियाँ नाका खोल्ने विषय बजेट मन्तव्यमै समेटिनु सुखद् भएको बताए । उनले बजेट कार्यान्वयनमा समयमै ध्यान दिन जरुरी रहेको जनाए ।


तिब्बत जोड्ने सडक निर्माणको काममा वर्षौंदेखि लापरबाही हुँदा स्थानीयवासीलाई तिब्बती हाटबजारबाट दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न घोडा, खच्चर र चौंरीको प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?