कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

त्रिशूली 'थ्री ए’ को परीक्षण युनिट बन्द

कृष्ण थापा

नुवाकोट — राष्ट्रिय प्रसारण लाइनमा जोडिएको साता नबित्दै ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको विद्युत् परीक्षण उत्पादन बन्द भएको छ । दोस्रो युनिट बनाउनुपर्ने र प्रसारण लाइनका काम बाँकी नै रहेकाले पहिलो युनिटबाट परीक्षणका रूपमा उत्पादित बिजुली बन्द गरिएको हो । 

जेठ २ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ गाउँपालिका ५ सिम्लेस्थित कन्ट्रोल रूममा रहेको स्विच दबाएर आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरेका थिए । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा रहेको सबस्टेसनमा जोडिएको छ ।


पहिलो युनिटबाट परीक्षणका रूपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिसकेको छ । उपकरण, सुरुङ, बाँधस्थलमा रहेका बालुवा थिग्राउने पोखरीका संरचनाहरूको पुनःपरीक्षण थालिएको छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने आयोजनाले जनाएको छ । आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेको प्राविधिकले बताए । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि ८ प्रतिशत ऊर्जा थप भई खपत हुनेछ ।


काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजनाको नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।


इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको कामको ठेक्का सम्झौता चाइना गेजुवा ग्रुप अफ कम्पनीले सीजीजीसीसँग ०६७ साल जेठ दोस्रो साता गरेको थियो । प्रसारण लाइनको ठेक्का चाइना वाटर एन्ड इनर्जी (सीडब्लूई) ले ०७१ साल जेठ दोस्रो साता पाएको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?