कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानीमा चार वर्षपछि चहलपहल

२०७२ को भूकम्पलगत्तै बन्द नेपाल–चीन जोड्ने तातोपानी नाका ४ वर्षपछि सञ्चालनमा आएपछि चारवटा कन्टेनर खासा लागेका छन्
अनिश तिवारी

तातोपानी, सिन्धुपाल्चोक — मंगलबार बिहान उत्तरी तातोपानी नाकामा बेग्लै चहलपहल थियो । चारवटा खाली कन्टेनर नेपाल–चीन पास प्रक्रिया पूरा गरी खासा प्रवेश गरे । ती कन्टेनर ऊन ल्याएर फर्किनेछन् । दसजना लोडर र कन्टेनरलाई पास दिएपछि व्यापारी उत्साहित देखिए ।

तातोपानीमा चार वर्षपछि चहलपहल

१२ वैशाख ०७२ को भूकम्पलगत्तै बन्द यो नाकामा चार वर्षपछि खुसी फर्किएको थियो । नाका बुधबारबाट मात्र औपचारिक रूपमा सञ्चलानमा आउनेछ ।


‘चिनियाँ पक्षबाट सहमतिको खबर पाएपछि सिन्धुवासी निकै खुसी छन्,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने, ‘सहमतिअनुसार तातोपानी नाकामा मालबाहक सामग्रीको निर्यात खुला भएको छ ।’ नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण अझै नसकिएकाले अस्थायी चल्तीमा ल्याइएको कच्ची सडक भएर रित्ता कन्टेनर खासा लागेका हुन् । चार कन्टेनर पास प्रक्रिया सकेर तयारी अवस्थामा राखिएका थिए ।


नेपालबाट झन्डै १८२ प्रकारका सामग्री चीन निर्यात हुने अनौपचारिक सहमति भएको छ । तिनमा मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राफ्टलगायत सामग्री समावेश छन् । ती सामान चीनको ल्हासा पुग्नेछन् । चीनबाट भने ऊन, जुत्ता, इलेक्ट्रिक सामान र कपडालगायत सयौं थरी सामग्री आयात हुने निश्चित गरिएको छ ।


बुधबार ती चार कन्टेनर ऊन लिएर फर्किने सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णगोपाल गुरुङले बताए । ‘चिनियाँ पक्षले चुस्त सुरक्षामा विशेष सरोकार राखेको छ । हामीले सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ नगरी निकै कडाइ गरेका छौं,’ उनले भने ।


तातोपानी भन्सार कार्यालय, अध्यागमन र उद्योग वाणिज्य संघसँग समन्वय गरेर काम थालिएको सीमाका जनप्रतिनिधिले बताए । नेपालतर्फ नयाँ भवन निर्माण नभएकाले पुरानै भवन प्रयोगमा ल्याइनेछ । त्यसका लागि यहाँका साविक संरचनामा रङरोगन गरेर चिटिक्क पारिएको छ ।


औपचारिक तामझामबिना नाका सञ्चालनमा आएको हो । लामो समयदेखि नाका खुल्ने आसमा बसिरहेका होटल व्यवसायी र व्यापारी उत्साहित छन् । तातोपानी, कोदारीदेखि लिपिङ जोड्ने पुलको भैंसीकुना पाटीसम्मका दर्जनभन्दा बढी साना होटल व्यवसायी नाका खुल्ने आसमा थिए । उनीहरू चार महिनाअघिबाट भाडामा कोठा लिएर बसिरहेका थिए । करोडौंको लगानीमा खुलेका होटल पनि नाका नचल्दा डुब्ने अवस्थामा पुगेका थिए ।


भूकम्प जानुभन्दा अघिसम्म तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी १ हजार ५ सयभन्दा बढी सवारी साधन सञ्चालन हुन्थे ।


नाकाबाट बर्सेनि १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे । बर्सेनि २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाका पुनः खुलेपछि व्यापार व्यवसायले गति लिने उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

यस्तै चिनियाँ कम्पनी चाइना रेलवे कन्सट्रक्सन ग्रुप कम्पनी (सीआरसीसी) ले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुक्खा बन्दरगाहको निर्माण पनि सम्पन्न गरेको छ ।


यस्तै सडक डिभिजन कार्यालयले कोदारी राजमार्ग (२६ किलोमिटर) र सीआरसीसीले बसेरी–लिपिङ सडकको मर्मतसम्भार गर्दै कालोपत्रेको काम गरिरहेका छन् । ‘बाह्रबिसे–बसेरी खण्डमध्ये ७ किमि कालोपत्रेको काम भइरहेको छ, अन्य स्थान दुरुस्त भइसके,’ चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख धर्मेन्द्र झाले भने । सीआरसीसीले सिमेन्ट स्टेभलाइस सब बेस गरेर जोखिमयुक्त पहिरो रोक्दै काम गरिरहेको पनि उनले जानकारी दिए ।


यस्तै तानसुन रोड एन्ड ब्रिज कम्पनीले मितेरी पुलको ढलान कार्य झन्डै सकेको छ । सम्भवतः बुधबार पुल हस्तान्तरण हुनेछ । ‘रिटेनिङ वाल, फर्मा निकाल्ने, रङरोगनको काम सकिएपछि मितेरी पुलको निर्माण पूरा हुनेछ,’ तानसुन एन्ड ब्रिज कम्पनीका ठेकेदार पुक्वी जीको भनाइ उद्धृत गर्दै भोटेकोसी गाउँपालिकाकी उपप्रमुख दाबुटी शेर्पाले भनिन् । माथिल्लो संरचना पूर्ण भइसकेकाले बुधबार मितेरी पुलबाट कन्टेनर ऊन लिएर फर्कन सक्ने उनले बताइन् ।


मालवाहक सवारी मात्रै आउजाउ

तातोपानी क्षेत्रको निरीक्षणमा पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ याङ छिले सुरुवातमा मालवाहक सवारी मात्रै आउजाउ हुने बताएकी छन् । भोटेकोसी बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिकाका जनप्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधिसँग नाका खोल्ने विषयलाई लिएर उनले दुई घण्टासम्म अन्तरक्रिया गरिन् ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?