कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुम्बिनी सर्वाधिक भ्रमण गरिने गन्तव्य

अढाई महिनापछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने, मुख्य टर्मिनल भवनको काम ०७६ असारसम्म सम्पन्न भई भदौदेखि नियमित उडान सञ्चालन हुने
सुरज कुँवर

काठमाडौँ — नेपालभित्र रहेका पर्यटकीय स्थलमध्ये लुम्बिनी सर्वाधिक भ्रमण गरिने गन्तव्यमा परेको छ । आर्थिक सर्वेक्षणअनुसार सन् २०१८ मा १५ लाख १७ हजार आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी पुगेका थिए ।

लुम्बिनी सर्वाधिक भ्रमण गरिने गन्तव्य

सन् २०१७ मा पनि लुम्बिनी सर्वाधिक पर्यटक पुग्ने गन्तव्यमा थियो । सन २०१८ मा ११ लाख ५५ हजार नेपाली, १ लाख ९२ हजार भारतीय र १ लाख ८० हजार अन्य मुलुकका पर्यटक लुम्बिनी पुगेका थिए ।


सन् २०१८ को अगस्टदेखि सन् २०१९ को मार्चसम्म पर्यटक आगमन अघिल्लो वर्षको यही समयको दाँजोमा २७ प्रतिशतले वृद्धि भएको छ । ०१८ मा नेपालमा ११ लाख ७३ हजार पर्यटन आए । यिनमा ८२ प्रतिशत हवाई मार्गबाट र १७ प्रतिशत स्थलमार्गबाट नेपाल छिरेका थिए ।


नेपालमा बढी पर्यटक आउने प्रमुख ५ मुलुकमा भारत, चीन, अमेरिका, श्रीलंका, बेलायत छन् । यी मुलुकबाट आउने पर्यटकको हिस्सा कुल संख्यको करिब ५० प्रतिशत हाराहारी छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, पहिलो आठ महिना पर्यटन क्षेत्रबाट ४७ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको छ ।


यो कुल आर्जित विदेशी मुद्राको तुलनामा करिब ५ प्रतिशत हाराहारी हो भने वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ६७ प्रतिशत हो । प्रतिदिन प्रतिपर्यटकको खर्च अमेरिकी डलर ४४ रहेको छ । अघिल्लो वर्षको दाँजोमा प्रतिपर्यटकको प्रतिदिन खर्च १० डलरले घटेको देखिन्छ ।


पर्यटकको सरदर बसाइ अवधि अघिल्लो वर्षको दाँजोमा थोरै घटेको छ । अघिल्लो वर्ष १२.६ थियो । यस वर्षको पुससम्म १२.४ मा झरेको छ । नेपाल घुम्न आउनेमध्ये ६० प्रतिशत मनोरञ्जनका लागि, १६ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि, १४ प्रतिशत तीर्थयात्रीलगायत छन् ।


सर्वेक्षणले आन्तरिक पर्यटनसमेत क्रमिक रूपमा विस्तार हुँदै गएकाले होटल तथा रेस्टुरेन्ट क्षेत्रको क्षमता उपयोग बढेको जनाएको छ । कुल गार्हस्थ्य उत्पादनमा होटल तथा रेस्टुरेन्टको योगदान २ प्रतिशत रहने सरकारले अनुमान गरेको छ । पर्यटन क्षेत्रमा तारेहोटलको संख्या १ सय २९ पुगेको छ । तारेबाहेकका अन्य ११ सय २५ पर्यटकस्तरीय होटलसमेतलाई जोडा १२ सय ५४ होटल पुगेका छन् ।


यिनमा ४० हजार ८ सय शय्याको संख्या पुगेको छ । पर्यटन विभागले हालसम्म ३ सय २४ निजी तथा सामुदायिक घरलाई होमस्टे (घरबास) को अनुमति दिएको छ । जसमा १ हजार कोठा छन् ।


यस्तै सर्वेक्षणले अबको अढाई महिनापछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भनेको छ । मुख्य टर्मिनल भवनको काम ०७६ असारसम्म सम्पन्न भइसक्नेछ । भदौदेखि नियमित उडान सञ्चालनमा ल्याइने लक्ष्य रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।


यसैबीच बाराको निजगढमा निर्माण गरिने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भइसकेको छ भने विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ११० बिघामध्ये ६५ बिघा अधिग्रहण गर्ने कार्य सकिएको छ ।


पोखरा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थल निर्माणको कार्य तोकिएकै समयमा हुने भएको छ । यस्को लक्ष्य सन् २०२१ रहेको छ । काठमाडौं विमानस्थल २२ घण्टा सञ्चालनमा ल्याइएको छ । हाल तीन महिनाका लागि धावनमार्ग विस्तार र सुधार कार्य सञ्चालन भइरहेकाले यो आंशिक रूपमा सञ्चालन भइरहेको छ ।


पर्वतारोहणबाट सरकारले अघिल्लो वर्ष ४६ करोड सलामी दस्तुर संकलन गरेको थियो । यस वर्ष ५० करोड हाराहारी पुगेको छ । नेपाल सरकारले ६५ सय मिटरभन्दा उचाइका हिमाल आरोहणको अनुमति दिन्छ । यसभन्दा मुनिका हिमाल आरोहणको अनुमति नेपाल पर्वतारोहण संघले दिने गरेको छ ।


यी दुवै निकायले सन् २०१८ मा ५८ करोड १५ लाख सलामी दस्तुर संकलन गरेका थिए । जसमा प्रदेश १ अन्तर्गतका हिमालबाट संकलन भएको सलामी दस्तुरको हिस्सा ९० प्रतिशत छ भने ९ प्रतिशत गण्डकी प्रदेशका हिमालको रहेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?