१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गुलजार सिमकोट

लाखौं–करोडौं लगानी गरेका होटल व्यवसायीलाई मात्र होइन, भारी बोकेर गुजारा गर्ने भरियालाई पनि सिजनले उत्साही बनाएको छ
छपाल लामा

सिमकोट — मानसरोवर कैलाश यात्राको सिजन सुरु भएसँगै हुम्लामा चहलपहल बढेको छ । भारतीय पर्यटकको आगमन बढेपछि होटल, पर्यटन व्यवसायी र हेलिकप्टर कम्पनीलाई भ्याइनभ्याई छ । सिमकोट बजारमा विभिन्न उपभोग्य सामानको व्यापार बढेको छ ।

गुलजार सिमकोट

सदरमुकामको ७० जना क्षमताको होटल विजयमा अहिले कोठा पाइनै मुस्किल छ । होटल सञ्चालक विजय लामा पहिल्यै होटलका कोठा ‘बुक’ भइसकेकाले नयाँ पाहुनालाई व्यवस्थापन गर्नै गाह्रो भएको बताउँछन् । सयजना क्षमताको होटल मानसरोवर र ७५ जना क्षमताको सनी भ्याली रिसोर्ट पनि भरिभराउ छन् ।


मानसरोवरका सञ्चालक टेके रावतले मानसरोवर जाने तीर्थयात्रुको कारण एकछिन पनि फुर्सद नभएको बताए । होटलमा आठजना कर्मचारी राखिएकामा नपुगेर घरका पाँचजना पनि पाहुनाको सत्कारमा खटिनुपरेको उनले बताए । ‘यो सिजन हाम्रो व्यवसायका लागि निकै राम्रो मानिन्छ,’ उनले भने, ‘त्यसैले रातदिन पाहुनालाई खुसी बनाउन लागिपरेका छौं ।’


सामान्यतया एकजना पर्यटकले एक दिनमा २ हजार ४ सय रुपैयाँ होटलमा खर्च गर्छन् । होटलका कोठा पूरै खपत हुने भएकाले यही सिजनबाट फाइदा हुने गरेको होटल व्यवसायी बताउँछन् । सिमकोटमा सानाठूला गरी करिब २० वटा होटल छन् । घुइँचो बढी भएको दिन पर्यटकहरू साना होटलमा पनि बस्ने गरेका छन् ।


करोडौं लगानी गरेका व्यवसायी माात्र होइन, भारी बोकेर गुजारा गर्ने भरियालाई पनि यो सिजनले उत्साही बनाएको छ । सिमकोट गाउँपालिका ३ का बाँचु सुनारले पर्यटकको भारी बोक्न पाउँदा आम्दानी बढेको बताए । उनका अनुसार यो सिजनमा दैनिक करिब १ हजार २ सय रुपैयाँसम्म कमाइ हुने गरेको छ ।


एयरपोर्टदेखि होटलसम्म भारी बोकेको प्रतिट्रिपको १ सय रुपैयाँ लिने गरेको उनले बताए । ‘भारी नबोकी पेट भरिँदैन, सधैं भारी बोक्न पाइँदैन,’ उनले भने, ‘यसरी भारी बोक्न पाइने भनेको सिजन सुरु भएपछि मात्र हो ।’ सिमकोटकै ५१ वर्षीय भरिया हंश सुनारले मानसरोवर कैलाश यात्राको सिजनले राम्रै आम्दानी दिने गरेको बताए । जग्गा नभएकाले यही सिजनमा पैसा बचत गरी अरू बेला गर्जो टार्ने गरिएको उनको भनाइ छ ।


सिमकोट बजारमा पनि चहलपहल बढेको छ । पसल, सपिङ सेन्टरमा पर्यटकले दैनिक उपभोग्य वस्तु खरिद गर्दा व्यापार बढेको स्थानीय व्यवसायी बताउँछन् । पानस सपिङ सेन्टरका प्रोप्राराइटर सरोज रावतले एक सातायता दैनिक १० हजारदेखि १५ हजारसम्म कारोबार हुने गरेको बताए ।


जय सप्लायर्सका प्रोप्राइटर खुम्मबहादुर रावत त दैनिक ३० देखि ४० हजारसम्म कारोबार गरेको सुनाउँछन् । ‘मानसरोवर जाने पर्यटक आउन थालेपछि सिमकोटमा चहलपहल बढेको छ, हाम्रो व्यापार व्यवसाय पनि फस्टाएको छ,’ उनले भने, ‘सधैं यस्तै भए कति राम्रो हुन्थ्यो ।’


यही सिजनलाई लक्षित गरी विमानस्थल पनि सुधारिएको छ । विगतमा शौचालय, विश्रामस्थल नहुँदा यात्रुले निकै सास्ती पाउने गरेका थिए । अहिले भने विमानस्थलमा डिजिटल डिस्प्लेको व्यवस्था गरिएको छ । विमानस्थल सफासुग्घर पारिएको छ । होटल व्यवसायी संघ हुम्लाका महासचिव नुर्ब जाङबु लामाले एयरपोर्टबाटै पर्यटकलाई राम्रो स्वागत थालिएको बताए । यसले पर्यटकमा सकारात्मक छाप बस्ने उनको भनाइ छ ।


‘हामीले यहाँ आएका पाहुनालाई सिधै मानसरोवरतिर पठाउनुभन्दा एक दिन रोकेर जिल्लाका पर्यटकीयस्थल घुमाउन सक्यौं भने अझ राम्रो आम्दानी हुन सक्छ,’ उनले भने, ‘यसका लागि हुम्लामा पर्यटकलाई लोभ्याउने प्रशस्त पर्यटकीयस्थल पनि छन् ।’

प्रकाशित : जेष्ठ १३, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?