जीडीपी योगदानकाे पुछारमा कर्णाली

वीरेन्द्रनगर — कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान पुर्‍याउने सबै सूचकमा कर्णाली प्रदेश अन्य प्रदेशभन्दा पछाडि छ । वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा केन्द्रीय तथ्यांक विभागले प्रस्तुत गरेको तथ्यांकमा यस्तो देखिएको हो । 

विभागका तथ्यांक अधिकृत शिव श्रेष्ठले प्रस्तुत गरेको तथ्यांकअनुसार चालु मूल्यअनुसार कर्णालीको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा १ खर्ब १९ अर्ब २५ करोड ९० लाख रहेको छ ।


कुल गार्हस्थ उत्पादन (जीडीपी) मा योगदान पुर्‍याउने विभिन्न १५ वटा आर्थिक क्षेत्रसँग सम्बन्धित सबै आँकडाहरूमा कर्णाली सबैभन्दा पछाडि रहेको तथ्यांकले देखाएको छ ।


कर्णालीको कुल गार्हस्थ उत्पादन खर्ब १९ अर्ब २५ करोड ९० लाख रहेको तथ्यांक अधिकृत श्रेष्ठले जनाए । जीडिपीमा सबैभन्दा बढी योगदान पुर्‍याएको कृषि तथा वन क्षेत्रको ३२ दशमलव ८७ प्रतिशत रहेको छ ।


मत्स्यपालन क्षेत्रले सबैभन्दा कम ० दशमलव २ प्रतिशत योगदान पुर्‍याएको तथ्यांक अधिकृत श्रेष्ठले जानकारी दिए । शिक्षा क्षेत्रले १४ दशमलव २७ प्रतिशत, स्वास्थ्य क्षेत्रले ३ दशमलव २४ प्रतिशत, रियलस्टेट तथा व्यावसायिक सेवा क्षेत्रले ८ दशमलव ६० प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रले ७ दशमलव ७८ प्रतिशत, वित्तीय क्षेत्रले १ दशमलव ५२ प्रतिशत, यातायात, सञ्चार तथा भण्डारण क्षेत्रले १ दशमलव ३६ प्रतिशत योगदान पुर्‍याएको तथ्यांकमा उल्लेख छ ।


होटल तथा रेस्टुरेन्ट क्षेत्रले २ दशमलव ९७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रले ६ दशमलव ४३ प्रतिशत, निर्माण क्षेत्रले ११ प्रतिशत, विद्युत्, ग्यास तथा पानीको क्षेत्रले १ दशमलव २१, उद्योगले १.०३ र खानी तथा उत्खनन क्षेत्रले ० दशमलव ५६ प्रतिशत योगदान पुर्‍याएको विभागको तथ्यांकले जनाएको छ ।


यसअघिका वर्षको तुलनामा हरेक सूचक बढेको भए पनि अन्य प्रदेशभन्दा कर्णाली पछाडि नै रहेको तथ्यांकले देखाउँछ । तथ्यांक अधिकृत श्रेष्ठले कर्णालीको कुल गार्हस्थ उत्पादन वृद्धिदर ५ दशमलव ६८ प्रतिशत रहेको बताए । यस्तै कर्णालीको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ६ सय १ अमेरिकी डलर पुगेको छ ।


–चाँदनी कठायत

प्रकाशित : जेष्ठ ११, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?