काठमाडौं–सौराहा पदमार्गको खोजी

काठमाडौंको चन्द्रागिरीबाट चितवनको सौराहासम्म पुग्न सकिने
विमल खतिवडा

धादिङ — उपत्यकाबाट नजिक पर्ने गरी नयाँ पदमार्गको खोजी सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रुट पहिल्याउन लागिएको हो । मंगलबारबाट यसको रुट पहिचानका लागि स्थलगत अध्ययन तथा अनुसन्धान थालिएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना र धादिङको बेनीघाट रोराङ गाउँपालिकाको सहआयोजनामा विज्ञ टोली खटाएर रुट पहिल्याउन सुरु गरिएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल (टान) ले प्रवर्द्धन गरेको टिममा पर्यटन बोर्ड, टान र सञ्चारकर्मीको सहभागिता रहेको छ ।


उक्त टिमले ५ दिनसम्म खटेर रुट पहिल्याउनेछ । धादिङको धुनीबेंसी नगरपालिका ७ बाट सुरु भई जोगिमाराको हुग्दीमा पुगेर यात्रा टुंगिनेछ । रुटमा मकवानपुरको सलामपुर, धादिङ र चितवनको सिमाना कान्द्राङगढीलगायत क्षेत्र पर्नेछन् । यो क्षेत्रमा तामाङ र चेपाङ समुदायको बाक्लो बसोबास छ । गुफा, पहाडले पर्यटकलाई लोभ्याउनेछ ।


पदमार्ग पहिल्याउन जानेहरूलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक पुष्पराज कँडेलले बिदाइ गरेका थिए । ‘पर्यटन महत्त्वपूर्ण क्षेत्र हो,’ उनले भने, ‘कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान साढे २ प्रतिशत रहेको छ ।’ काठमाडौंको प्रदूषित वातावरणबाट २/४ दिन यो ठाउँमा आएर रमाउन सकिने उनले बताए । ‘कहाँकहाँ बस्ती बसाउन सकिन्छ, होमस्टे कहाँ बनाउन सकिन्छ, के के संरचना निर्माण गरेर आन्ततिरक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘यसतर्फ ध्यान जान जरुरी छ ।’


अहिले चेपाङ महाभारत ट्रेकिङ ट्रायल नाम राखेर यात्रा सुरु गरिएको हो । अध्ययन र अनुसन्धानपश्चात् यसबारे छलफल गरी रुटको नाम तय गरिनेछ । रुट पहिचान गरेपछि काठमाडौंको धुवाँधुलोबाट आजित हुनेकाहरूका लागि राम्रो गन्तव्य बन्नेछ । यो रुट हुँदै चितवनको सौराहासम्म पुग्न सकिनेछ । त्यति मात्र होइन । यही रुटमा पदमार्गपश्चात् त्रिभुवन राजमार्ग हुँदै मुलुकका नाम चलेका पर्यटकीय गन्तव्यहरूसम्म जान सकिनेछ ।


राजमार्गमा निस्किएपछि पोखरा, लुम्बिनी वा सौराहा, जहाँ इच्छा लाग्छ, त्यतैको यात्रा तय गर्न सकिनेछ । एक दिनदेखि ११ दिनसम्म पद यात्रा गर्न मिल्नेछ । ‘अहिले बाटाको अध्ययन हुनेछ,’ टानका प्रथम उपाध्यक्ष जीवन थापामगरले भने, ‘रुट पहिचान गरी सञ्चालनमा आएपछि स्थानीयको जीवनस्तरमा समेत परिवर्तन आउनेछ ।’


रुट सञ्चालनमा आएपछि स्थानीयस्तरमा उत्पादन भएका खाद्यान्न गाउँघरमै खपत हुनेछ । पर्यटकले स्वच्छ वातावरणमा अर्गानिक खानाको स्वाद लिन पाउनेछन् । रुट सञ्चालनमा आए स्थानीय होमस्टे सञ्चालन गर्ने तयारीमा छन् । पद यात्रा काठमाडौंको चन्द्रागिरिबाट नै सुरु गर्न सकिनेछ ।


सांसद भूमि त्रिपाठीले महाभारत समृद्धिका लागि ट्रेकिङ रुट खोल्न आवश्यक रहेको बताए । ‘यो रुट राम्रो छ, पद यात्रा गर्नेहरू हिँडेरै सौराहा पुग्न सक्छन्,’ उनले भने, ‘त्यसैले गाँजाको जोन भएकाले गाँजा ट्रेक हिल राख्दा राम्रो हुन्छ ।’ जुन ठाउँ जेले चर्चित छ, त्यही नाम राख्दा फरक नपर्ने उनले बताए । रुटको अध्ययन थालेसँगै स्थानीय दंग छन् ।


‘महाभारतको लेकलाई रुट बनाउन आवश्यक छ,’ धुनीबेंसी नगरपालिकाका मेयर बालकृष्ण आचार्याले भने, ‘जुन रुट काठमाडौंको धुलोधुवाँले उकुसमुकुस भएकाहरूका लागि उपयुक्त हुनेछ ।’ उनका अनुसार तोप्लाङको डाँडाबाट हिमशृंखला देखिने भएकाले भ्यु टावर आवश्यक छ । ‘भ्यु टावर बनाउन सकिए ८ वटा ठूला हिमाल हेर्न पाइन्थ्यो,’ उनले भने, ‘पद यात्रामा निस्कनेहरूले पहिलो दिन हिमाल हेर्न पाउँथे, त्यसपछि खुसी हुँदै यात्रा गर्थे ।’ टोली फर्किएर आएपछि रुटका सम्बन्धमा छलफल गरी निष्कर्ष निकालिने पर्यटन बोर्डले जनाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?