कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सहकारीबाट जथाभावी ऋण

हुँदै नभएको जग्गा धितोमा करोडभन्दा बढी कर्जा प्रवाह 
दीपक परियार

लेखनाथ — पोखराको कुँडहर बचत तथा ऋण सहकारीबाट १ करोड १० लाख रुपैयाँ ऋण लिएर तनहुँका विद्यासागर पौडेल फरार भए । ऋणको किस्ता बुझाउन नआएपछि धितो राखिएको जग्गा मालपोतमा रोक्का गर्न सहकारीका कर्मचारी पुगे ।

त्यतिबेला विद्यासागरले धितो राखेको जग्गा नै नरहेको पत्ता लाग्यो । उनले नक्कली लालपुर्जा बनाएर धितो राखी ऋण लिएको खुल्यो । उनको जालझेलमा सहकारी सजिलै फसेको तथ्य बाहिर आयो ।


तनहुँ म्याग्दे गाउँपालिका जामुने स्थायी घर भएका पौडेल पोखरा १० चाउथेमा बस्दै आएका थिए । गत वर्षको असोजमा पोखरा ३३ भरतपोखरीको कित्ता नम्बर ४७५ को ४ रोपनी ८ आना जग्गा देखाएर सहकारीसँग कर्जा माग गरे । न्यु स्टार इन्जिनियरिङ कन्सल्टेन्सीले जग्गाको मूल्यांकन गर्‍यो । कन्सल्टेन्सीका इन्जिनियर आनन्द सापकोटा, सहकारीका अध्यक्ष ओमबहादुर केसी, कर्जा उपसमितिका प्रतिनिधि स्वयं धितो राखिएको जग्गा हेर्न पुगे । सञ्चालक समितिले ७० लाख रुपैयाँ कर्जा स्वीकृत गर्ने निर्णय गर्‍यो ।


गत पुसमा उनले पोखरा ३१ को आफ्नो नामको जग्गा धितोमा राखेर भाइ विशाल पौडेलको नाममा सहकारीबाटै ऋण झिके । कित्ता नम्बर ४३९ को एक रोपनी जग्गा धितोमा राखेर ४० लाख रुपैयाँ भाइको नाममा ऋण लिए । सहकारीका प्रबन्धक वृहस्पति अधिकारीका अनुसार पौडेलले केही समय किस्ता र ब्याजबापतको रकम बुझाए ।


अन्य सहकारीमा पनि त्यही जग्गा धितो प्रस्ताव गर्दै कर्जा माग गर्न गए । वैशाखमा किस्ता बुझाउन पनि आएनन् । कुँडहर सहकारीले उक्त कुरा चाल पाएपछि जग्गाको आधिकारिकता बुझ्न मालपोत कार्यालय पुग्यो ।


मालपोतले पहिलो जग्गा फिल्डमै नभएको र दोस्रो जग्गा पनि पौडेलको नाममा नरहेको पुष्टि गर्‍यो । प्रबन्धक अधिकारीले नक्कली लालपुर्जा धितोमा रहेको थाहा पाउने बित्तिकै प्रहरीमा खबर गरेको बताए । सहकारीले विद्यासागर, उनका भाइ विशाल र अन्य तीनजनाविरुद्ध वैशाख २० मा किटानी जाहेरी दियो ।


प्रहरीले विशाललाई पक्रिएर हिरासतमा राखे पनि दाजु विद्यासागर फरार छन् । कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले दस्तखत र कागजात किर्ते गरेर ठगी गरेको आरोपमा पाँचजनाका नाममा किटानी जाहेरी दर्ता भएको बताए । आवश्यक कागजात संकलन भइरहेकाले अनुसन्धानमै रहेको उल्लेख गरे । किर्ते कागज बनाउने योजना विद्यासागरको भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी यसअघि पनि यस्तै प्रकृतिको घटनामा संलग्न रहेको पाइएको छ । यसअघि ३४ लाख ९९ हजार रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।


सहकारीमा प्रबन्धक वृृहस्पति अधिकारी नियतबस नभई अञ्जानमा गल्ती भएको दाबी गर्छन् । मालपोत कार्यालयमा धितो रोक्का गर्न अनुभवी प्रतिनिधि तीर्थराज घिमिरे भए पनि दुवैपल्ट संयोगबस अर्का प्रतिनिधि सुरज श्रेष्ठ गएको उनले बताए ।


‘मालपोतमा धितो रोक्का गर्न संस्थाका तर्फबाट खटिएका कर्मचारीबाट त्रुटि भएकै हो,’ उनी भन्छन्, ‘कार्यालय प्रमुखकोमा अन्तिम दस्तखत, मोठ भिडाउँदा, कम्प्युटरमा रोक्का गर्दा प्रतिनिधि पुग्नुपर्ने हो । उहाँ भने बाहिरै बस्नुभएछ ।’ लेखापढी व्यवसायीले कागजात तयार गरेर मालपोतभित्र प्रवेश गरेपछि कार्यालयमा नगई अन्यत्र कतैबाट किर्ते भएको आएको उनको दाबी छ । भन्छन्, ‘सम्बन्धित ठाउँमा गएर नभिडाउनु कमजोरी देखियो ।’


सहकारीको सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विश्वबन्धु थापाले विद्यासागरका बुबाआमाले धितो सुरक्षण गरेको जानकारी दिए । उनका अनुसार पौडेल परिवारको चाउथेमा तीन आनामा बनेको तीनतले घर र तनहुँको ५ रोपनी जग्गा सहकारीले सुरक्षण स्वरूप राखेको छ । ‘धितोमा हामी पूर्ण रूपमा सुरक्षित भएका छौं,’ उनले भने ।


उता पोखराकै धौलागिरि बचत तथा ऋण सहकारीसमेत संकटग्रस्त अवस्थामा पुगेको छ । बिनाधितो ऋण प्रवाह गर्दा संकटमा परेको हो । संस्थाका अध्यक्ष तोकबहादुर गुरुङ तथा बोर्ड सदस्यले आफूखुसी नजिकका मान्छेलाई बिनाधितो ऋण प्रवाह गरेको आरोप छ ।


आर्थिक अनियमितताकै कारण संस्थाको आर्थिक वर्ष २०७४/०७५ को लेखापरीक्षण हुन सकेको छैन । सहकारीले कर कार्यालयबाट आव २०७३/०७४ को कर चुक्ताको प्रमाणपत्रसमेत पाउन सकेको छैन । आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरीक्षण गराइसक्नुपर्ने भए पनि अनियमितताकै कारण संस्थाले अहिलेसम्म पनि लेखापरीक्षण गर्न नसकेको हो । सहकारीमा हाल १५ सय सेयर सदस्य छन् । १३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी महाशाखाले सकारीसँग स्पष्टीकरण मागेको छ ।


महाशाखा प्रमुख बद्रीनाथ अधिकारी केही सहकारीले संक्रमणकालीन समयको फाइदा लिएर आफूखुसी ऋण प्रवाह गर्दा सर्वसाधारणको लगानी जोखिममा रहेको बताउँछन् । महाशाखामा जनशक्ति कम भएकाले अनुगमन गर्न नसकिएको उनले बताए । ‘अहिले सहकारी संघ, प्रदेश र स्थानीय तहअन्तर्गत छन्,’ उनले भने, ‘नीतिगत अप्ठ्याराको फाइदा सहकारीले लिइरहेका छन् ।’


जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारी सहकारी आफैंले स्वयंलाई अनुशासनमा राख्नुपर्ने बताउँछन् । कतिपय सहकारीले सावधानी नअपनाउँदा सर्वसाधारणको लगानी असुरक्षित भएको उनले बताए । ‘केही सहकारीमा प्राविधिक गडबडी र केही ठाउँमा जानाजान गल्ती भएका छन्,’ उनी भन्छन्, ‘केहीले बुझेर चलाए पनि धेरैले नबुझी सहकारी चलाउँदा यस्ता गल्ती हुन्छन् ।’ संघका अनुसार कास्कीमा बचत तथा ऋण, कृृषि, दुग्ध, मत्स्य, कफी, उपभोक्तालगायत गरी ६५० सहकारी छन् । ती सहकारीमा झन्डै २० अर्ब रुपैयाँ लगानी छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?