कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डोटी विमानस्थलको काम सुस्त 

मोहन शाही

डोटी — तीन वर्षअघिदेखि निर्माण सुरु भएको डोटी विमानस्थलको धावन मार्ग स्तरोन्नति कार्य सुस्त गतिमा छ । ०३८ सालमा स्थापना गरिएको डोटीको दिपायलस्थित विमानस्थल २०६२ सालयता अलपत्र छ । गौचरनमा परिणत भएको विमानस्थलको २०७३ सालदेखि मर्मत र कालोपत्रेको काम सुरु भएको हो । 

डोटी विमानस्थलको काम सुस्त 

ठेकेदार कम्पनीले पटकपटक सम्झौताको म्याद थपे पनि अझै काम सम्पन्न गरेको छैन । विमानस्थलको रनवे कालोपत्रे, नाली निर्माण गर्ने काम ठेकेदार कम्पनी सपना ग्याल्भाले ५ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनी आफैंले काम नगरी धनगढीको देवसिंह निर्माण सेवा कम्पनीलाई काम दिएको छ ।


नाली निर्माण गर्ने काम सम्पन्न भए पनि रनवे कालोपत्रे गर्ने काम अझै सुरु भएको छैन । देवसिहं निर्माण सेवाका फिल्ड इन्चार्ज विष्णु विष्टले असार मसान्तभित्रै काम सक्ने गरी तयारी भइरहेको बताए । ‘अलकत्राको गाडी लोड भइसकेको छ, केही दिनमै पुग्छ, अन्य कच्चा पदार्थ पनि आइसकेको छ,’ विष्टले भने, ‘ढुक्क हुनुस् असारभित्रै काम सम्पन्न हुन्छ, अब गरिएन भने त स्थानीयभन्दा कम्पनीलाई नै आर्थिक रूपमा धक्का पर्ने भएकाले काम जसरी पनि सक्ने तयारी भइरहेको छ ।’


काममा ढिलासुस्ती हुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । ‘हामीले धनगढी पुग्न मात्र ७ घण्टाको गाडीमा यात्रा गर्नुपर्ने बाध्यता छ,’ स्थानीय आईजंग कुवँरले भने, ‘हवाई उडान नहुँदा गर्भवती महिला, सिकिस्त बिरामीहरूले निकै नै दुःख पाइरहेका छन् ।’ विमानस्थल नभएकाले जिल्लाको पर्यटन विकाससमेत प्रभावित भएको उनले बताए ।


द्वन्द्वकालमा राम्रोसँग सञ्चालन भएको डोटी विमानस्थल शाही शासनकालका तत्कालीन क्षेत्रीय प्रशासक गणेश शेरचन सरुवा भएर बाहिर गएकै दिनबाट अन्तिम उडान भएको स्थानीय नेता कर्णबहादुर द्वारिया सम्झन्छन् । ‘त्यसपछि विमानस्थल सुचारु गर्न हैसियत राख्न सक्ने नेता डोटीमा नै भएन,’ द्वारियाले भने, ‘अनेक आशा, भरोसा र लोभ नेताहरूले देखाए पनि राजनीतिक लाभ मात्र उठाए ।’

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?