२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भाइबरमा निगरानी बढाउँदै राष्ट्र बैंक

यज्ञ बञ्जाडे

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएको फेसबुक र भाइबर बैंकिङमा राष्ट्र बैंकले निगरानी बढाउने भएको छ । ती सञ्जालमार्फत बैंकिङ करोबार गर्दा ग्राहकको सूचना (डाटा) तेस्रो पक्षमा गएको आशंकाको आधारमा निगरानी बढाउन लागिएको राष्ट्र बैंक स्रोतले बताएको छ । 

भाइबरमा निगरानी बढाउँदै राष्ट्र बैंक

फेसबुक र भाइबरमार्फत हुने बैंकिङ कारोबार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को ‘बैंकिङ गोपनीयता’ व्यवस्थाविपरीत भएकाले सूक्ष्म रूपमा अध्ययन गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । ‘हाल करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले भाइबर र केहीले फेसबुक बैंकिङ सञ्चालन गरेको जानकारी छ,’ स्रोतले भन्यो, ‘ती बैंकले कसरी तथ्यांक सुरक्षित गरेका छन् भन्ने बारेमा जानकारी लिएपछि तिनको वैधताबारे खोजिनेछ ।’


बढदो प्रतिस्पर्धासँगै बैंक तथा वित्तीय संस्थाले भाइबर र फेसबुकमार्फत ग्राहकलाई सीमित बैंकिङ कारोबार (आफ्नो खातामा रहेको रकमबारे जानकारी, मिनी स्टेटमेन्टलगायत सुविधा) गर्दै आएका छन् । भाइबरमार्फतको कारोबार एक-दुई वर्ष पहिलेदेखि भए पनि फेसबुकमार्फतको सेवा सुरु भएको धेरै भएको छैन । ती माध्यममार्फत सेवा सञ्चालन गर्दा ग्राहकको विवरण तेस्रो पक्ष (भाइबर र फेसबुक) को सिस्टममा जाने भएकाले कानुनविपरीत भएको राष्ट्र बैंकले दाबी गरेको छ ।


‘हाम्रो उद्देश्य नेपालबाटै इजाजतपत्र प्राप्त भेन्डर (प्रणाली) बीच बैंकिङ कारोबार होस् भन्ने हो,’ ती अधिकारीले भने, ‘यसकारण बिस्तारै सबै प्रणालीलाई नियमनको दायरामा ल्याइनेछ ।’


केही बैंकले फेसबुक र भाइबरमार्फत ग्राहकलाई सीमित बैंकिङ सेवा दिएको बारे अनौपचारिक जानकारी प्राप्त भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले स्वीकार गरे ।


‘योबारे मैले पनि सुनेको छु, त्यस्ता कारोबारमा ग्राहकको विवरण तेस्रो पक्षसमक्ष पुग्ने डर हुन्छ,’ उनले भने, ‘ग्राहकको विवरण बाहिरिने गरी बैंकिङ कारोबार सञ्चालन गर्नु गैरकानुनी हो ।’ यस विषयमा राष्ट्र बैंकको चासो बढेकाले बैंक सुपरिवेक्षण विभागमार्फत अनुसन्धान अघि बढाइने उनले बताए । ‘अनुसन्धानका क्रममा दोषी भेटिए कानुनबमोजिम कारबाही हुन सक्छ,’ उनले भने, ‘यस्तो कारोबार बाफियाको दफा १ सय ९ को उपदाफा १ विपरीत देखिन्छ ।’


फेसबुक र भाइबर कारोबारका लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट अनुमति नलिएको, ती प्रणालीहरू विदेशी भएको लगायत कारण गैरकानुनी भएको हुन सक्ने निरौलाले बताए । विदेशी एप (भुक्तानी प्रणाली) भएकै कारण राष्ट्र बैंकले वीच्याट पे र अलीपेमार्फतको भुक्तानीलाई रोक लगाएको जनाउँदै उनले थपे, ‘त्यस्ता प्रणालीमार्फत कारोबार गर्दा बाफियाको व्यवस्था उल्लंघन हुने सम्भावना अत्यधिक रहन्छ ।’


बाफियाको दफा १०९ को उपदाफा एकमा ‘बैंक तथा वित्तीय संस्था र ग्राहकबीचको सम्बन्ध तथा बैंक वा वित्तीय संस्थाको हिसाब किताब, लेखा, खाता, बही, लेजर, स्रेस्ता र लेखाको विवरण सम्बन्धित व्यक्तिबाहेक अन्य कसैलाई जानकारी दिइने छैन,’ भन्ने उल्लेख छ ।


भाइबर र फेसबुकमार्फत बैंकिङ कारोबार हुँदा ग्राहकको विवरण ती प्रणालीको सिस्टममा जाने भएकाले बाफियाको व्यवस्थाविपरीत हुने प्रवक्ता निरौलाको ठहर छ ।


‘तेस्रो पक्षबाट ग्राहकको तथ्यांक अन्यन्त्र सार्वजनिक भयो/भएन भन्ने तपसिलको कुरा हो, मुख्य कुरा तेस्रो पक्षमा पनि विवरण जानु भएन,’ उनले भने, ‘ग्राहकको विवरण तेस्रो पक्षमा गएको प्रमाणित भए सम्बन्धित संस्था, उच्च व्यवस्थापन र सञ्चालकसमेत कारबाहीको भागिदार हुनुपर्छ ।’


भाइबर बैंकिङ कानुनविपरीत भएको सुझाव आएकै कारण आफूले सुरु नगरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘अनुन्धान विभागले त्यो प्रडक्ड ल्याउने अन्तिम तयारी गरिसकेको थियो,’ उनले भने, ‘नेपाल दूरसञ्चार प्राधिरणबाट त्यो कारोबार नेपालमा कानुनविपरीत भएको जानकारी पाइयो ।’


भाइबर बैंकिङ प्रक्रियामार्फत ग्राहकको विवरण चोरी हुने सम्भावना कम रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले बताए । ‘भाइबरमार्फत कारोबारमा तथ्यांक तेस्रो पक्षको प्रणालीमा गए पनि दुई पक्षभन्दा बाहेकले चाहेर पनि हेर्न सकिँदैन,’ उनले भने, ‘फेसबुक बैंकिङमा भने जोखिम अलि बढी हुन्छ । बैंकले कस्तो सुरक्षा संयन्त्र अपनाएर कारोबार गरेका छन् । त्यसका आधारमा मात्र भन्न सकिन्छ ।’


भाइबर बैंकिङमार्फत ग्राहकको विवरण बाहिरिने सम्भावना नहुने एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालले बताए । ‘भाइबर बैंकिङमा ग्राहकले सीमित बैंकिङबारे जानकारी लिने हो,’ उनले भने, ‘यसमार्फत तथ्यांक चोरीको सम्भावना हुँदैन ।’ तुलनात्मक रूपमा फेसबुक बैंकिङमा तथ्यांक बाहिरिने जोखिम रहने उनको भनाइ छ ।


बैंकहरूले पर्याप्त सुरक्षा संयन्त्र अपनाएर भाइबर बैंकिङ सञ्चालनमा ल्याएकाले तथ्यांक सुरक्षित हुने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ‘ग्राहकको विवरण सुरक्षामा बैंकहरू सजग छन्,’ उनले भने, ‘यही कारण हालसम्म ती कारोबारमा कुनै समस्या आएको छैन ।’

प्रकाशित : जेष्ठ ८, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?