कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मोहनी लाउँदै मनास्लु

मनास्लु क्षेत्र भ्रमण गर्नेमा जर्मन र फ्रान्सेली पर्यटक धेरै 
हरिराम उप्रेती

गोरखा — पछिल्लो दुई महिनामा मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । मार्च, अप्रिल, मे तथा अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ ।

मोहनी लाउँदै मनास्लु

मार्चमा ९ सय ५९ र अप्रिलमा १ हजार १ सय ५९ पर्यटक उक्त क्षेत्र पुगेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख नरेन्द्र लामाले बताए । ‘अझै पर्यटक बढ्थे,’ लामाले भने, ‘यस वर्ष धेरै समय हिमपात भयो, फागुनभर पर्यटक आउन सकेनन्, चैतबाट मात्र पर्यटकको चाप बढ्यो ।’ अघिल्ला वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको उनले बताए ।


सन् २०१८ मा ७ हजार ६ सय ४० पर्यटक मनास्लु संरक्षण क्षेत्र घुम्न आएका थिए । ‘चालु वर्ष ८ हजार पर्यटक आउँछन् भन्ने अनुमान गरेका छौं,’ उनले भने । मनास्लु क्षेत्र भ्रमण गर्ने जर्मन र फ्रान्सेली पर्यटक धेरै छन् ।


नेदरल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना, जोडर्न, फिनल्यान्ड, उरुग्वे, पोल्यान्ड, जापान, चीन, टर्की, अमेरिका र दक्षिण अफ्रिकाका नागरिक पनि उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् ।


एमक्यापअन्तर्गतको पर्यटक जाँच चौकी जगत्ले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ । विदेशी पर्यटकको मात्रै अभिलेख राख्ने गरिन्छ । आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको एमक्यापले जनाएको छ ।


प्राकृतिक र सांस्कृतिक महत्त्वसहित मनमोहक मनास्लु पर्यटकको रोजाइमा पर्ने गरेको उनले बताए । संरक्षित जंगलमा पाइने लोपोन्मुख प्रजातिका वन्यजन्तु, चराचुरुंगी, गुम्बा, हिमशृंखला र वातावरणले पर्यटक तान्ने स्थानीय बताउँछन् ।


संरक्षण क्षेत्रअन्तर्गत नुब्री र चुम उपत्यका पर्यटकको रोजाइमा पर्छन् । ५ हजार २ सय मिटर उचाइको लार्के पार गरेर मनाङ निस्कने पर्यटक पनि त्यहाँ पुग्छन् । सामान्यतया आठ दिनमा लार्के पार गर्न सकिन्छ ।


निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि खुला गरेको हो । चुम क्षेत्र भने २०६३ असोज ३० बाट मात्र खुला भएको थियो । त्यसयताका हरेक वर्ष उक्त क्षेत्र आउने पर्यटकको संख्या बढ्दै आएको छ ।


खुला गरिएयता ५४ हजार ८ सय ४४ पर्यटक पुगेको एमक्यापको अभिलेखमा छ । पर्यटकको चाप बढेसँगै होटल व्यवसाय फस्टाएको छ । ‘पर्यटक आउने सिजनै हो,’ सिर्दिबासकी सञ्जु गुरुङले भनिन्, ‘होटल खाली राख्नुपरेको छैन, चहलपहल राम्रै छ ।’


चुमनुब्री गाउँपालिकाअन्तर्गतको ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिबास र सामागाउँलाई समेटेर मनास्लु संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ ।


पदमार्ग सुधारको खाँचो

बर्खायाममा पदमार्ग क्षेत्रका केही भागमा ढुंगा झर्ने तथा पहिरोले कटान गर्दा असुरक्षित रहेको भन्दै स्थानीयले चिन्ता जनाए । चौंरीखर्क कटेर छेकम्पार पुग्न ज्यानको बाजी लगाउनुपर्ने अवस्था रहेको छेकम्पारका स्थानीय कान्छा लामाले बताए ।


‘माथि भीरमा वन्यजन्तु हिँड्दा ढुंगा खस्न सक्छ, पानी परेको बेला त यसै पहिरोको डर, तल हेरे पनि भीर छ,’ उनले भने, ‘चौंरीखर्कको बाटो मर्मत गर्न पनि गाह्रो छ, वैकल्पिक बाटो बनाउन कसैले चासो दिएन ।’


चौंरीखर्कको बाटो सुधारका लागि आगामी आर्थिक वर्ष प्राथमिकतामा राखेर काम गर्ने एमक्यापका प्रमुख लामा बताउँछन् । ‘सानोतिनो पैसाले हुँदैन, आगामी आर्थिक वर्ष अप्ठ्यारो पदमार्ग सुधारमा बजेटलाई प्राथमिकता दिन्छौं,’ लामाले भने ।


लार्केपासदेखि मनाङको भीमथानसम्मको पदमार्ग पनि सुधार गर्नुपर्ने उनले बताए । चालु अर्थिक वर्ष रुविनालाबाट न्याकसम्म पदमार्ग सुधार्न रकम छुट्टाइएको छ । पर्यटन बोर्डले एमक्यापमार्फत उक्त पदमार्ग सुधारका लागि १० लाख तथा धर्मशालामा क्याम्पसाइट निर्माणका लागि १५ लाख बजेट छुट्याएको लामाले बताए ।


‘रुविनाला क्षेत्रमा ग्लासिएर माथि पदमार्ग छ, यस्तो बाटो अस्थायी प्रकृतिको हुन्छ,’ उनले भने, ‘अहिले छुट्टिएको पैसा पर्याप्त होइन, बाटो क्लिएर गरेर अप्ठ्यारो ठाउँमा सम्याउने काममा खर्चन्छौं ।’


धर्मशालामा क्याम्पसाइट निर्माणका लागि जेठ अन्तिम साता डिटेल सर्भेको काम सक्ने उनले सुनाए । ‘पर्खाल लगाएर टेन्ट टाँग्न मिल्ने ठाउँ बनाउने योजनामा छौं, शौचालय र खानेपानीको व्यवस्था गर्न सके पर्यटकलाई सजिलो हुन्छ ।’

प्रकाशित : जेष्ठ ७, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?