नुवाकोटमा मल अभाव – 'अचार बाँडेजस्तो भयो'

कृष्ण थापा

नुवाकोट — जिल्लामा रासायनिक मलको हाहाकार भएको छ । मकै र चैते धानमा मल राख्न नपाउँदा किसान चिन्तित छन् । 'चैते धान र मकैलाई मल हाल्नैपर्‍यो,' विदुर नगरपालिका १२ चैनपुरका राजेन्द्रप्रसाद पनेरूले भने, 'पुग्दो मल पाइएन ।'

सिफारिसपत्र लिन ज्ञान केन्द्र आएका पनेरूले गाउँमा १ हजार ५ सय बोराभन्दा बढी मल आवश्यक रहेको बताए । 'अहिले मुस्किलले ३ सय बोरा पनि पाउन गाह्रो छ,' उनले भने, 'यो त गाउँमा अचार बाँडेजस्तो भयो ।' उनी चारघरे उपभोक्ता कृषि सहकारी संस्थामार्फत रासायनिक मल वितरण गर्छन् । संस्थाका अध्यक्षसमेत रहेका पनेरूले भने, 'मल लिन आउने जति सबैलाई दामासाहीले दिँदासमेत भाग पुगेको छैन ।' मान्द्रेढुंगा, मूलथला, चैनपुर, डाँडाखर्क, भदुवारलगायत गाउँका किसानलाई उक्त सहकारीमार्फत रासायनिक मल वितरण गरिन्छ ।

विदुर ३ का भीमप्रसाद रिमाल पनि रासायनिक मलका लागि सदरमुकाम विदुर धाइरहेका छन् । 'मकै र धानबालीलाई मल चाहियो,' सिर्खाली कृषि सहकारी संस्थाका अध्यक्ष रिमालले भने, 'चाहेजति मल पाइएन ।' उनलाई ३ हजार बोरा मल आवश्यक छ । २ सय बोरासम्म मात्र मल पाएको बताए । 'सदरमुकामबाट मल आएको सुन्दा गाउँलेहरू सडकमै हारालुछ गर्छन् । गोदाममा लगेर थन्क्याउन पाइँदैन । मलको हाहाकार पर्‍यो,' उनले भने ।
मल पाइने आसले किसान घरमै धर्ना कसेर बस्न थालेको रिमालले बताए । 'विदुर ३ मकैको बीउ उत्पादन गर्ने पकेट क्षेत्र हो,' अध्यक्ष रिमालले भने, 'युरिया मल नभए मकै फल्दैन ।' संस्थाले बुनीबेंसी, पुसुमटार, माझगाउँ, छापथोक, देवीघाट, सिर्खाली, कुमलटार, छोटेटार, ढोडेनी, मैदीटार, कछाडगाउँ, पिललडाँडा र बुद्धसिङघाटलगायत क्षेत्रमा रासायनिक मल वितरण गर्ने गरेको छ ।

एक रोपनी जग्गामा मकैलाई २ किलो र धानलाई ४ किलो मल लाग्ने किसानले बताए । 'सिजनमा मल नहाले एक रोपनी जग्गामा लगाएको धान स्वाट्टै घटेर आधा फसल मात्र दिन्छ,' रिमालले भने, 'ज्याला तिरेर लगाएको फसलमा मल नहालेपछि किसान मर्कामा पर्छन् ।' उनले ३ सय बोरा मल पाउने भएका छन् ।

जिल्लामा १५ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । चैते धान ६ हजार हेक्टर क्षेत्रफलमा हुन्छ । 'मलको समस्या परेको हो,' कृषि ज्ञान केन्द्र प्रमुख केशव खनालले, 'एक साताभित्रमा समस्या हल हुन्छ ।' नुवाकोटमा कम्तीमा ९ हजार टन रासायनिक मल चाहिने केन्द्रले जनाएको छ । अहिले कृषि सामग्री संस्थान त्रिशूलीले मल ल्याउन सकेको छैन । ल्याएको मल भारतीय नाकामा रोकिएको केन्द्रले जनायो ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

८५ बिघामा करार खेती

कान्तिपुर संवाददाता

रूपन्देही — नेपाली उखान छ, 'खाने मुखलाई जुँगाले छेक्दैन ।' त्यसका उदाहरण हुन्, गैडहवा गाउँपालिका ८ हसनापुरका गार्जेश यादवका तीन दाजुभाइको परिवार ।

आफ्नै जग्गा नभए पनि गार्जेश, दुर्गेश र दिनेश यादवले स्थानीय विद्यालय र देउराली सामुदायिक वनले उपयोग गर्न नसकेर बेवारिसेजस्तै बनेको ८५ बिघा जमिन करारमा लिएर खेती सुरु गरेका छन् । सात वर्षदेखि उनीहरूले त्यही जग्गामा माछा, भैंसी र बाख्रापालन गरी मनग्य आम्दानी लिन थालेका छन् ।

उनीहरू अर्गानिक तरकारी र घाँस पनि उत्पादन गर्छन् । आरम्भ एकीकृत कृषि फार्म र युनाइटेड इन्टिग्रेट एग्रो फार्ममार्फत गरेको खेतीबाट राम्रो आम्दानी लिइरहेका छन् । जेठा गार्जेश रामपुरमा भेटेरिनरी, माइला दुर्गेश दाङको पृथु टेक्निकलमा कृषिमा बीएस्सी एजी अध्ययन पनि गर्दै छन् । कान्छा दिनेश घरनजिकै बीबीएस पढ्दै छन् ।

पहिले निर्वाहमुखी कृषि गर्ने परिवारका यी तीन दाजुभाइले आफ्ना पिता कृषि प्राविधिक भएकाले व्यावसायिक रूपमै कृषि गर्ने आँट बटुलेका हुन् । तीन दाजुभाइले लिजको जग्गामा पाँच करोड रुपैयाँ लगानी गरिसकेका छन् । त्यसबाट वाषिर्क ४० लाख रुपैयाँ आम्दानी हुने दुर्गेशले बताए ।

'हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि हुने गरी वाषिर्क ११ लाख रुपैयाँ भाडा तिर्छौं,' उनले भने, '८५ बिघामध्ये ४६ बिघाको प्लटमा पाँच हेक्टरमा माछा पोखरी, ५५ वटा भैंसी, ६० वटा बाख्रापालन सँगै चरन क्षेत्र छ ।' बाँकी जमिनमा घाँसखेती गरेको उनले बताए ।

खेतमा चरी, बर्सिम र नेप्यर घाँस लगाइएको जेठा गार्जेशले बताए । प्रोटिनयुक्त भएकाले त्यहाँको घाँस अस्टि्रच फार्म र अन्य कृषि फार्ममा बिक्री भइरहेको छ । 'तरकारीको मौसममा फर्सी, धनियाँ, गोभीसमेत उत्पादन गरेका थियौं,' उनले भने, 'समयअनुसार प्रविधिको प्रयोग बढाउने र आधुनिक कृषि गर्ने लक्ष्य छ ।'

दुईवटा फार्ममध्ये युनाइटेडमा अब गाई पाल्ने योजना उनीहरूको छ । त्यस्तै दुई सय पाडा हुर्काएर बेच्ने तयारी गरेको दुर्गेशले सुनाए । एकीकृत कृषि जोन बनाउने उद्देश्यका साथ काम भइरहेको उनले बताए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनलायबाट ४५ लाख रुपैयाँ अनुदान पाएका छन् । नेपालमै पहिलो टीएमआर ब्लक -टोटल मिक्स्चर रासन ब्लक मेकिङ) मेसिन ल्याउने तयारी गरिरहेका छन् । मेसिनले पशुले खाने आधुनिक दाना बनाउने काम गर्छ । यो मेसिनबाट उत्पादित खाद्य वस्तु अन्य व्यावसायिक कृषकलाई बिक्रीसमेत गर्ने गरी मेसिन आयात गर्ने योजना बनाएको दिनेशले बताए ।

गार्जेश र दुर्गेश अन्य जिल्लामा बसेर पढिरहेको भए पनि साताको दुई दिन उनीहरू अनिवार्य फार्ममा काम गर्छन् । बिदाको समय र कामको चाप हँुदा फार्ममै व्यस्त हुने उनीहरू नहुँदा दिनेश र अन्य पाँच कर्मचारीले काम गर्छन् । 'आधुनिक कृषि गर्ने भनेरै लागेपछि अध्ययन जरुरी छ,' बाबु नारदमुनि यादवले भने, 'मैले सक्दासम्म सहयोग गरिहाल्छु । पढाइ सकेपछि उनीहरू दिनहुँ खटिनेछन् ।' अलि बढी काम पर्दा भने स्थानीयलाई ज्यालादारीमा काममा बोलाउने गरेको यादवले बताए ।

सरकारले कृषकका लागि तयार पारेको नीति हेर्दा सहज देखिए पनि बैंकको काममा समस्या हुने गरेको दुर्गेशले गुनासो गरे । 'सरकारले कृषियोग्य जमिनलाई कृषि कर्जा दिने भने पनि निजी बैंकले बढाएको ब्याजदर र कृषियोग्य जमिनलाई धितोका रूपमा स्वीकार नगर्दा कृषि गर्न समस्या छ,' उनले भने, 'नीति कार्यान्वयनका लागि सरकारले बैंकसँग छलफल गरे मात्र सहज हुनेछ ।'

बजारमा स्थानीय कृषकको उत्पादनलाई व्यापारीले उचित दररेट नदिँदा र कम मूल्यमा भए पनि उत्पादन बिक्री नभएपछि यसपटक उत्पादन गरेको बन्दा भैंसी, बाख्रा र माछालाई खुवाएर खेत खाली गरेको उनले बताए ।

–सञ्जु पौडेल

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×