कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चिया बगानमा श्रममन्त्री

इलाम — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसहितको टोली पूर्वका चिया बगान पुगेको छ । श्रमिक आन्दोलनका कारण अस्तव्यस्त अवस्थामा पुगेको चिया बगानका समस्या स्थायी रूपमा समाधान गर्न टोली आएको हो । 

चिया बगानमा श्रममन्त्री

बिहीबार साँझ इलामको कन्याम आएको टोलीमा श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहाल, नेपाल चिया विकास निगमका अध्यक्ष सुवास संघाई, प्रदेश सभाका सभासदलगायत छन् । उनीहरूले विभिन्न उद्योगी, जनप्रतिनिधि, श्रमिक संघ/संगठनका अगुवासँग छलफल गरे ।


'श्रमिकले उचित ज्याला मागेका छन् र यसमा कुनै सर्त हुँदैन,' मन्त्री विष्टले भने, 'उद्योगी व्यवसायीका समस्याका लागि छुट्टै छलफल र बहसबाट निकास निकालिनुपर्छ ।' टोलीले बगानमै पुगेर कन्यामका आन्दोलनरत श्रमिकहरूसँग छलफल गरेको थियो । चैत १७ देखि श्रमिकले आन्दोलन गरेका थिए । केही दिनअघि नै झापाका अधिकांश बगानहरू खुले पनि निगमअन्तर्गत इलामका कन्याम र इलाम बगान खुल्न सकेका छैनन् ।


श्रमिक अगुवा विष्णुप्रसाद भट्टराई र नर्वदा निरौलाले श्रमिकहरू घट्दै गए पनि थोरैले बगानको सम्पूर्ण काम पूरा गर्ने गरेकाले व्यवस्थापनले नोक्सानीको बहानामा श्रमिकलाई बेवास्ता गर्न नमिल्ने बताए । '२०५७ मा चिया बगान त्रिवेणी संघाई ग्रुपले जिम्मा लिँदा ४ सय ७३ श्रमिकले वाषिर्क ४ लाख किलो चिया टिपाइ हुन्थ्यो,' भट्टराईले भने, 'अहिले स्थायी र अस्थायी गरी डेढ सयजनाले वाषिर्क छ लाख किलो चिया टिपिरहेका छौं ।'


टोलीसमक्ष उद्योगीहरूले चियाको बजार प्रवर्द्धनमा राज्यले ठोस पहल गर्नुपर्ने माग गरेका छन् । सूर्योदय टी प्रोडयुसर्स एसोसिएसनका तर्फबाट मागपत्र पेस गरिएको छ । भारत निर्भर बजारमा तयारी चियाले उचित मूल्य नपाएको भन्दै गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विशेष व्यवस्था गर्न माग गरेका छन् ।


यस्तै विद्युत्मा ५० प्रतिशत छुट, बैंक ब्याजमा अनुदान, भारत निकासीमा १५ प्रतिशत अनुदान दिनुपर्ने, अवैध रूपमा निकासी भइरहेको हरियो पत्ती रोकिनुपर्नेलगायत २५ बुँदे मागपत्र बुझाएका छन् । एसोसिएसनका अध्यक्ष पुनम राईलगायतले उद्योगीका समस्या पनि जटिल बन्दै गएकाले चियाको भविष्य उज्ज्वल बनाउन सरकारले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए ।


साना किसान प्रतिनिधि रविन राईले कृषकले उत्पादन गरेको तयारी चिया भारत निकासी गर्न पाइनरहेको अवस्थामा लाइसेन्सको व्यवस्था गरेर निकासी सहज बनाउनुपर्ने बताए । उनले चियाको अक्सन स्थापना नभएसम्म यस्ता समस्याको सामना पटकपटक गर्नुपर्ने अवस्था रहेको बताए ।


सूर्योदय नगरपालिकाले चिया कार्यविधि व्यवस्थित गर्ने कार्य सुरु गरेको जनायो । 'यो कार्यविधिले नगरपालिकाभित्रका उद्योगी व्यवसायीलाई व्यवस्थित गर्दै गुणस्तरीय चिया उत्पादनमा सहयोग पुर्‍याउने योजना हो,' उपमेयर दुर्गादेवी भट्टराईले भनिन्, 'अघिल्लो वर्षदेखि नै सुरु भएको यो कामका कारण कृषकले उपयुक्त मूल्य पाउने क्रम बढेको छ ।' यही क्रममा इलाम चिया बगान र कारखाना पुगेर टोलीले श्रमिकसँग भेट गरेको थियो ।


सो क्रममा श्रमिकहरूले आफूहरूलाई बगानको माया भएको भन्दै यसलाई अझै हराभरा बनाउन पहल गर्न आग्रह गरे । श्रमिककै अगाडि आन्दोलन टुंगिएको घोषणा गर्दा भेला भएका श्रमिक हषिर्त देखिएका थिए । 'स्थलगत रूपमा आएर चियामा सरोकार राख्ने सबैसँगको रायसुझाव लिने र स्थायी समस्या समाधानका लागि नीति बनाउने मुख्य प्रयास हो,' श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले भने, 'बल्झिरहने श्रमिकको पारिश्रमिक समस्या टुंगिएकाले बाँकी विषय पनि क्रमशः समाधान खोज्ने पहल हुन्छ ।'


खुले बगान

श्रमिक आन्दोलनले डेढ महिना ठप्प इलाम र कन्यामका चिया बगान पनि खुल्ने भएका छन् । सरकारले तोेकेबमोजिम सेवा सुविधा व्यवस्थापन पक्षले दिने जनाएपछि यी दुई बगान पनि सञ्चालनमा आउने भएका हुन् ।


शुक्रबार इलाम र कन्याम बगानका आन्दोलनरत श्रमिकहरूसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विष्ट र नेपाल चिया विकास निगमका अध्यक्ष सुवास संघाईले संयुक्त रूपमा चिया बगान खुलेको घोषणा गरेका हुन् । यसअघि झापालगायत क्षेत्रका बगान र कारखाना खुलेर सञ्चालनमा आए पनि यी दुई बगान बन्द थिए ।


श्रम मन्त्रालयका सचिव दाहाल, प्रदेशसभाका सभासदससहित स्थानीय जनप्रतिनिधिसमेत सम्मिलित भेलामा बगान खुल्ने घोषण गरिएपछि श्रमिक उत्साहित भएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?