कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

महँगाइले मर्का

'भारतमा चुनाव र मुस्लिम समुदायको रोजा चलेकाले उतै खपत हुने तरकारीमध्ये बचाएर नेपाल भित्र्याउँदा मूल्य वृद्धि’

रूपन्देही — बुटवलको दीपनगरस्थित तरकारी बजारमा किनमेल गर्न आएकी सुक्खानगरकी पवित्रा शर्मा बिहीबार अलमलमा देखिइन् । व्यापारीले अधिकांश तरकारीको भाउ बढेको बताएपछि उनले जिब्रो टोकिन् । 'जुन तरकारीको भाउ सोधे पनि उत्तिकै महँगो छ,' उनले भनिन्, 'कुन किन्ने कुन ? यो महँगाइले मर्का पर्‍यो ।'

महँगाइले मर्का

कालिकानगरकी इन्दिरा रानाले तरकारी खरिद गरेर खानै नसकिने गुनासो गरिन् । गत साता ८० रुपैयाँ प्रतिकिलो परेको टमाटर यो साता उनले एक सय रुपैयाँमा खरिद गरिन् । ४० रुपैयाँ किलोको काँक्रालाई ६० रुपैयाँ पर्‍यो । त्यस्तै काउली किलोको ६० रुपैयाँ रहेकामा ८० रुपैयाँमा बिहीबार खरिद गरेको उनले बताइन् ।


शर्मा र राना प्रतिनिधि पात्र हुन् । तरकारीको मूल्य ह्वात्तै बढेपछि उपभोक्ता मारमा परेका छन् । 'गत साता ४० रुपैयाँ प्रतिकिलोमा टमाटर बिक्री भएकामा यो साता ६५ देखि ७० रुपैयाँसम्ममा बेचियो,' आरके फ्रुट्स एन्ड भेजिटेबल सप्लायर्सका सञ्चालक रवि बर्नवालले भने, 'भारतीय उत्पादन आयात गर्दा महँगै आउँछ ।'


उनले भदौ-असोजमा सल्यानको, मंसिर-पुसमा चितवनको टमाटर बजारमा आउने भए पनि हाल ८० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको बताए । भारतमा चुनाव र मुस्लिम समुदायको रोजा चलिरहेकाले उतै खपत हुने तरकारीमध्ये बचाएर नेपाल भित्र्याउँदा मूल्य बढेको उनले जनाए ।


टमाटरबाहेक थोक बजारमा भेंडे खुर्सानीमा अघिल्लो साताभन्दा १० रुपैयाँ, हरियो मटरमा २०, गाजरमा २०, हरियो धनियाँमा ५० देखि ७० रुपैयाँ, खुर्सानीमा १५ देखि २५, फर्सीमा ७ देखि १०, सिमीमा ५ रुपैयाँ बढेको छ । यसैगरी अन्य तरकारीमा पनि ५ देखि १० रुपैयाँसम्म बढेको बुटवल कृषि उपज थोक बजारबाट प्राप्त तथ्यांकमा उल्लेख छ ।


भारतबाट आयातित तरकारी भएकाले नेपाली उत्पादनको तुलनामा मूल्य अलि महँगो भएको व्यापारीको भनाइ छ । 'थोकमा बिक्री गर्दा ३ रुपैयाँसम्म मात्र नाफा बच्छ,' बर्नवालले भने, 'तरकारीको व्यापारमा खुद्रा व्यापारीलाई नै फाइदा छ ।' बुटवल थोक बजारमा स्थानीयबाहेक कपिलवस्तुको गोरुसिंगे, चन्द्रौटा, कृष्णनगर, परासीको त्रिवेणी, पहाडी जिल्ला गुल्मी, अर्घाखाँचीबाट समेत व्यापारी तरकारी खरिदका लागि आउने गर्छन् ।


खुद्रा व्यापारी सविता कोइरालाले ६५ रुपैयाँमा ल्याएको टमाटर ९० देखि १ सय रुपैयाँमा बेच्दा र अन्य तरकारीमा ५ देखि १० रुपैयाँ वृद्धि गर्दा नाफा भएजस्तो देखिने मात्र बताइन् । 'एक क्यारेटमा ३ किलोजति कुहिएको हुन्छ,' उनले भनिन्, 'ढुवानी र कुहिएको फाल्दा नाफा के नै हुन्छ र ?' दिनभरिको घाम र चिच्याइको बाध्यता ग्राहकले नबुझ्ने उनले सुनाइन् ।


गत वर्षको यही समयको तथ्यांकले अहिले तरकारीको दररेटमा वृद्धि भएको नदेखाउने बुटवल कृषि उपज थोक बजारका अध्यक्ष कलाधर पन्थीले बताए । 'गर्मी बढेसँगै तरकारीमा आवश्यक पानी कम हुने र उत्पादन कम हुने गर्छ,' उनले भने, 'खानयोग्य हुन लागेका तरकारीसमेत पानीको अभावमा बिगि्रने भएकाले मूल्य वृद्धि भएजस्तो देखिएको हो ।'


भारतीय बजारमा मूल्य वृद्धि भएर आउँदासमेत बजारको माग नघटेको तर ग्राहकलाई खुद्रामा खरिद गर्दा समस्या परेको उनले बताए । मौसम यस्तै रहिरहे यो अवस्था अझै १५ दिनसम्म रहने उनको भनाइ छ । 'कृषकबाट उपभोक्तासम्म तरकारी या अन्य उत्पादन पुग्दा ५ लेयर पार गर्नुपर्छ,' पन्थीले भने, 'यस आधारमा कृषक पनि मारमा देखिन्छन् ।'


राज्यले नै कृषकको उत्पादनको प्रारम्भिक मूल्य नतोक्दासम्म यो समस्या रहिरहने उनले बताए । उत्पादनलाई बजारसम्म ल्याउँदा बिचौलियाले फाइदा लिने गुनासो आइरहने बताउँदै उनले समस्या घटाउन बुटवल कृषि उपजजस्तै अन्य स्थानमा समेत व्यवस्थित संकलन केन्द्र र थोक बजार सञ्चालन गरी साना बजारबाट ठूला बजारमा जाने लिंक तयार गरी बिचौलियाको मार्जिन घटाउन सकिने सुझाव दिए ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?