१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महँगियो भान्सा, मूल्य बढ्नु रहस्यमय

दाल, चामल र गेडागुडीको मूल्य पनि बढ्यो
राजु चौधरी

काठमाडौँ — दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

महँगियो भान्सा, मूल्य बढ्नु रहस्यमय

‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण गरेका छौं । जुनसुकै बेला छापा मारेर कारबाही हुन्छ ।’


विभागका अनुसार सबैभन्दा बढी गोलभेडाको भाउ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले पनि एक महिनाकै अवधिमा गोलभेडाको मूल्य दोब्बरले बढेको देखाउँछ । तथ्यांकअनुसार गत महिना गोलभेडा प्रतिकिलो ६५ रुपैयाँमा कारोबार भएको थियो ।


जेठ महिनामा बढेर प्रतिकिलो १ सय ५ रुपैयाँमा कारोबार भएको छ । यो मूल्य कालिमाटी तरकारी बजारको मात्रै हो । तरकारी बजारबाहिरका खुद्रा पसलमा पसलैपिच्छे प्रतिकिलो १ सय ३० रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्मका बिक्री भएको छ । नियमक निकायहरू भने मौन छन् । तरकारी बजारमा मूल्य अस्वाभाविक भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितीले पनि अनुगमन गर्न सक्छ । बजार व्यवस्थित बनाउन सक्छ ।

समिति भने मुलुकभरि नै मूल्य बढेको भन्दै पन्छिन खोज्छ ।


‘भारतमा भएको चुनावले आयातमा केही कमी भएको छ । स्वदेशी किसानले पनि उत्पादन गर्न सकेन । मुख्य कुरा किसानले कति मूल्य पाए भन्ने हो,’ समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले भने, ‘कालिमाटीमा मात्रै बढेको हो कि । यहाँ मात्रै बढेको भए बिचौलियाले खाएको भन्ने हुन्थ्यो । तर मूल्य मुलुकभरि नै बढेको हो ।’


समितिका अनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ । हाल तरकारी बजारमा दैनिक ९ सय टन आयात भइरहेको जनाएको छ । यसमध्ये करिब ४५ प्रतिशत भारतबाटै आयात हुन्छ ।


समितिका सूचना अधिकारी विनय श्रेष्ठले पनि मुख्यत: गोलभेडाको मूल्य बढेको बताए । गोलभेडा बिहानबेलुका भान्सामा प्रयोग हुने भएकाले बढी माग भएको बताए । ‘माग अत्याधिक छ तर आन्तरिक उत्पादन नै छैन,’ उनले भने, ‘ठूलो र सानो गरेर दैनिक १ सय २० देखि १ सय ३० टन गोलभेड भित्रिएको छ । तीमध्ये अधिकांश भारतकै हुन् ।’ समितिका अनुसार भारतमा पनि सामँन्य बढेकाले यहाँ असर परेको हो । करेला, सिमी, बोडी, बन्दा, लौका, घिरौला, भन्टालगायत सिजनका तरकारी हुन् । ती तरकारीहरूमा मूल्य घट्नुपर्ने हो ।


ती तरकारीहरूको मूल्य पनि घटेको छैन ।

‘तरकारी बजारमा आइपुग्न सकेकै छैन, खपत अत्याधिक बढेको छ,’ श्रेष्ठले भने, ‘यतिबेला तरकारी आउने क्रम जारी हुनुपर्नेमा भएन ।’ समितिका अनुसार प्रतिकिलो ४५ रुपैयाँ पर्ने आलु ४८ रुपैयाँ, ५५ रुपैयाँ पर्ने स्थानीय काउली बढेर ८५ रुपैयाँ पुगेको छ । तथ्यांकअनुसार अघिल्लो वर्ष जेठमा काउली ४५ रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनमा लौका करिब दोब्बरले बढेको छ । प्रतिकिलो ४५ रुपैयाँ पर्ने लौका बढेर ७५ रुपैयाँ पुगेको छ ।


वैशाख महिनाको तुलनामा भने बढेको छैन । भिन्डी पनि प्रतिकिलो १० रुपैयाँले बढेको छ । हरियो प्याजको मूल्य एक महिनाको अवधिमा ५५ रुपैयाँदेखि १ सय १५ रुपैयाँ पुगेको छ । च्याउको मूल्य पनि एक महिनाको अवधिमा प्रतिकिलो ७० रुपैयाँले बढेको छ ।


प्रतिकिलँे १ सय २५ रुपैयाँ पर्ने च्याउ कालिमाटीमा १ सय ९५ रुपैयाँमा बिक्री भएको उल्लेख छ । कालिमाटी बाहिरका खुद्रा पसलमा भने प्रतिकिलो २ सय रुपैयाँभन्दा बढीमा बिक्री हुन्छ । हरियो खुर्सानीको मूल्य ८५ रुपैयाँबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ ।


एक महिनाको अवधिमा धनियाँको मूल्य ५० रुपैयाँले बढेर १ सय ५५ रुपैयाँ पुगेको उल्लेख छ । उपत्यकामा मुख्यत: धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर लगायत तराई जिल्लाबाट तरकारी भित्रिन्छ । मूल्यवृद्धिबारे जानकारी आपूर्ति विभागले छिटै हस्तक्षेप गर्ने जनाएको छ । ‘खाद्यान्नको मूल्य बढ्नुमा विभागले चासो दिएको छ,’ महानिर्देशक गौचनले भने, ‘मूल्य विश्लेषणपश्चात छिटै हस्तक्षेप हुन्छ ।’


गेडागुडी र चामल पनि बढ्यो

तरकारीजस्तै गेडागुडी र चामलको मूल्य पनि बढेको छ । खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठका अनुसार दाल चामलमा किलोमा दुईदेखि ५ रुपैयाँले बढेको छ । ‘बर्मा र भारतबाट नै बढेर आएको छ,’ चेम्बरका आपूर्ति सभापतिसमेत रहेका श्रेष्ठले भने, ‘आयात नै महँगो परेपछि बजारभाउ बढ्यो ।’


खुद्रा व्यवसायीका अनुसार एक महिनाको अवधिमा दालमा २० रुपैयाँ बढेर १ सय १० रुपैयाँमा बिक्री भएको छ । रहरको दालको भाउ ३० रुपैयाँ बढेर प्रतिकिलो १ सय ३० रुपैयाँ पुगेको छ ।


वैशाखमा प्रतिकिलो ८५ रुपैयाँ पर्ने मुसुरोको दाल जेठमा ९० रुपैयाँमा बिक्री भएको छ । चनाको भाउ ९५ रुपैयाँबाट बढेर १ सय १० रुपैयाँ, ७०/७५ रुपैयाँ पर्ने चिनीको मूल्य ८० रुपैयाँ पुगेको छ । हाल चिनीको कारखाना मूल्य नै ६५ रुपैयाँ पर्छ ।


फलफूलको पनि बढ्यो

समितिको तथ्यांकअनुसार फलफूलको मूल्य पनि प्रतिकिलो ४० रुपैयाँले बढेको छ । प्रतिकिलो १ सय २५ रुपैयाँ पर्ने स्याउ बढेर १ सय ६५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको जेठमा प्रतिकिलो १ सय ५ रुपैयाँमा बिक्री भएको उल्लेख छ । तरबुजाको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ ।


वैशाखमा प्रतिकिलो ४५ रुपैयाँमा कारोबार भएको तरबुजा जेठमा ५५ रुपैयाँमा बिक्री भएको छ । अघिल्लो वर्षको जेठ महिनामा भने प्रतिकिले २८ रुपैयाँ मात्रै थियो ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?