१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चैनपुर-ताक्लाकोट सडक निर्माण सुस्त

बसन्तप्रताप सिंह

बझाङ — सुदूपश्चिम प्रदेशको समृद्धिको मार्ग मानिएको चीनको तिब्बत जोड्ने चैनपुर-ताक्लाकोट सडक निर्माणले गति लिन सकेको छैन । सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निमार्णका लागि दुईवटा कम्पनीले काम गरिरहे पनि भौतिक प्रगति सन्तोषजनक नभएको सडक आयोजना कार्यालयले जनाएको छ । 

चैनपुर-ताक्लाकोट सडक निर्माण सुस्त

१८ किलोमिटर दूरी रहेको चैनपुर रुवातोला सडकलाई चौडा बनाउन ०७३ मा ठेक्का सम्झौता भएर काम सुरु गरेका लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म १२ किलोमिटर मात्र काम सम्पन्न गरेका छन् । यो प्रगति ७० प्रतिशतको हाराहारी हो । ४ वर्षको अवधिमा भएको यो प्रगति हेर्दा तोकिएको म्यादभित्र काम सम्पन्न हुनेमा शंका रहेको आयोजना कार्यालयका प्रमुख ऐनबहादुर सिंहले बताए ।


उक्त कम्पनीको ठेक्का अवधि समाप्त हुन ७ महिना मात्र बाँकी छ । २२ करोडको लागतमा काम गर्ने गरी निर्माणको जिम्मा लिएको उक्त कम्पनीले १८ किलोमिटर सडकलाई ठूला सवारी साधनहरू सञ्चालन गर्न मिल्ने गरी साढे सात मिटर चौडा बनाउने जिम्मेवारी पाएको थियो ।


यता निर्माण कम्पनीका साइट इन्चार्ज योगेश साउदले स्थानीयको पटकपटकको अवरोधका कारण सडक निर्माणमा ढिलाइ भएको बताए । तोकिएको अवधिमा काम सक्ने गरी आफूहरू लागिरहेको उनको दाबी छ । ‘धेरैपटक स्थानीयको अवरोधले काम रोकिएको छ । बाधाहरू पन्छाउँदै काम गर्नुपरेकाले ढिला भएजस्तो देखिए पनि समयमै सकिनेमा विश्वस्त छौं,’ उनले भने ।


यस्तै रुपातोलादेखि साइपाल गाउँपालिकाको धुलीसम्म ३० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झन् सुस्त छ । ५० महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको उक्त कम्पनीले २ वर्षको अवधिमा १४ किलोमिटर ट्र्याक खोल्ने काम सम्पन्न गरेको छ ।


धुलीसम्म नै ठूला सवारी सञ्चालन गर्न मिल्ने गरी ८ मिटर चौडा सडक बनाउने जिम्मा लिएको कम्पनीको काम निकै ढिलो गतिमा भइरहेको बताउँदै आयोजना प्रमुख सिंहले भने, ‘कहिले मेसिन बिग्रियो भन्छन् । कहिले डिजेल सकियो भनेर बहाना बनाइरहेका छन् ।’


उनले छिटो काम सम्पन्न गर्न आफूले निरन्तर ताकेता गरिरहे पनि कम्पनीले वास्ता नगरेको बताए । सरदर एक महिनामा आधा किलोमिटर सडकको ट्र्याक खोल्ने काम भइरहेको उनले बताए । ठेकेदार कम्पनी स्वच्छन्द बानियाँ नागार्जुन जेभीका सञ्चालक दीपकबहादुर सिंहले भने आयोजना प्रमुखको आरोपको खण्डन गरे ।


उनले आफूहरूका पाँचवटा स्काभेटर कार्यस्थलमा रहेको र पूर्ण क्षमताका साथ काम गरिरहेको बताए । स्थानीय तहको निर्वाचन, प्रदेश तथा संघको निर्वाचन र समयमै विस्फोटक पदार्थ उपलब्ध नभएकोले केही ढिलाइ भएको भए पनि अहिले दु्रत गतिमा काम भइरहेको उनको भनाइ छ ।


‘हामीले काममा बहाना बनाउनुपर्ने कुनै कारण नै छैन,’ सञ्चालक सिंहले भने, ‘अहिले जिलेटिन प्राप्त गर्ने प्रक्रिया पनि पूरा गरी सकेका छौं । तोकिएको समयमा काम सम्पन्न गर्छाैं ।’


प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले आयोजनास्थलको अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र आयोजना कार्यालयलाई निर्देशन दिएका छन् । ‘अनुगमनमा गएको बेला तामझामसहित काम गरेको देखाउँदा रहेछन्,’ उनले भने, ‘फर्केपछि सुस्त हुन्छन् । समयमा काम नसके कारबाही गर्ने चेतावनी पनि दिएको छु ।’ यो सडक छिटो निर्माण गर्न सेती लोकमार्गअन्तर्गत उत्तरखण्ड (चैनपुर-ताक्लाकोट) मार्गको छुट्टै कार्यालयसमेत स्थापना भएको छ ।


चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मानिएको यस सडकको लम्बाइ १ सय १८ किलोमिटर छ । साइपाल गाउँपालिकाको धुलीदेखि सीमा क्षेत्र उरै भन्ज्याङसम्म ६० किलोमिटरको डीपीआरसमेत तयार भइसकेको छ ।


धुलीभन्दा माथि हिमाली क्षेत्रमा सुरुङ निर्माण गर्न सके यो दूरी आधाभन्दा बढी घट्ने र वर्षभरि सवारी साधन सञ्चालन गर्न सकिने प्राविधिक अध्ययनले देखाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?