१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘बौद्धिक सम्पत्तिको सम्मान गरौं’

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले व्यवसायिलाई बौद्धिक सम्पत्तिको सम्मान गर्न आग्रह गरेका छन् । अमेरिकी फास्ट फुड रेस्टुरेन्ट केएफसीको उदाहरण दिँदै उनले नेपालमा केएफसीकै जस्तो नाममा विभिन्न गैर(फ्रेन्चाइज रेस्टुरेन्ट खोलिएको र यसले बौद्धिक सम्पत्तिको उल्लंघन गरेको उनले बताए । 

‘बौद्धिक सम्पत्तिको सम्मान गरौं’

‘केएफसी, काठमाडौं फुड चिकेन रे,’ उनले भने, ‘के हो यो ? नाम यताउता गरेर मान्छेलाई झुक्याउने काम भइरहेको छ । व्यवसायीलाई बौद्धिक सम्पत्तिको सम्मान गर्न आग्रह गर्छु ।’ अन्तर्राष्ट्रिय कम्पनीहरूको नक्कल गरेर ग्राहक झुक्याउनु गैरकानुनी भएको उनको आशय थियो । वास्तविक फ्रेन्चाइज कम्पनीले भने फाइदा गर्ने उनले बताए ।


मन्त्री खतिवडाका अनुसार सरकारले बौद्धिक सम्पत्तिसँग सम्बन्धित ऐनको मस्यौदा बनाइरहेको छ । यस मामिलामा व्यवसायीहरू इमानदार र सतर्क हुनुपर्ने उनको आशय थियो । विशेषत: फ्रेन्चाइज कम्पनीहरूको सन्दर्भमा बौद्धिक सम्पत्तिको अवमूल्यन हुने गरेको उनले बताए । बिहीबार ‘नेपाल-इन्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ’ मा उनले नेपालमा नवउद्यमी र लगानीकर्ताका लागि हाल उचित वातावरण रहेको बताए ।


बुधबारबाट सुरु भएको दुईदिने सम्मेलन तथा प्रदर्शनीमा भारतका उद्योगी, व्यवसायी र अन्य सरोकारवालाको उपस्थिति छ । बिहीबार उद्घाटन सत्रमा भारतका प्रख्यात सेलिबे्रटी सेफ एवं उद्यमी सञ्जीव कपुरले नेपालमा फ्रेन्चाइज रेस्टुरेन्ट खोल्न चाहेको बताए । उनले केहीअघि फ्रेन्चाइज गरे पनि त्यो हाल छैन ।


‘मुम्बईमा पनि नेपाली कुजिन भएको रेस्टुरेन्ट देख्न चाहन्छु,’ उनले भने, ‘त्यसमा हाम्रो कम्पनीले त्यसको फ्रेन्चाइज गर्न सक्छ ।’ कपुरका विश्वभर ७० वटा रेस्टुरेन्ट छन् । आफूले आजभन्दा बीस वर्षअघिदेखि नै फ्रेन्चाइजमा काम गर्न थालेको उनले बताए ।


कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मनजिभ पुरीले भारतको अर्थतन्त्र परिवर्तन गर्न त्यहाँका फ्रेन्चाइज कम्पनीको भूमिका रहेको बताए । मोदि सरकारले महत्व दिएको ‘स्टार्टअप इन्डिया’ अभियानले युवा उद्यमीमार्फत् नवपर्वतक योजना ल्याएको उनको भनाइ थियो । ‘नेपालमा पनि युवा उद्यमीको संख्या बढो छ,’ उनले भने, ‘युवाबाट इन्नोभेसन सम्भव छ ।’


नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले फ्रेन्चाइजका फाइदाबारे धेरै कुरा बताइन् । राणाका अनुसार फ्रेन्चाइजमार्फत् रोजगारी सिर्जना र प्रविधि हस्तातन्तरण सम्भव हुन्छ । यसले कुशल व्यवस्थापकिय अभ्यास सिकाउने बताइन् । ‘यस्ता सम्मेलनमार्फत् सम्भावित बजार र लगानीकर्ता पहिल्याउन सकिन्छ,’ उनले भनिन्, ‘यही प्रकारको कार्यक्रम पनि अर्को वर्ष भारतमा आयोजना होस् भन्ने चाहन्छौं ।’ महासंघले भारतीय दूतावास र फ्रेन्चाइज इन्डियाको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो ।


दुईदिने कार्यक्रममा विभिन्न विषयमा छलफल हुनुका साथै नेपाल र भारतका ब्रान्डहरू प्रदर्शनी गरिएको थियो । पहिलो दिनको सत्रमा ‘द न्यु रोडम्याप फर बिल्डिङ बिजनेस एन्ड आन्टरप्रेनियरसिप इन नेपाल’ शीर्षकमा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र फ्रेन्चाइज इन्डियाका सम्पादक ऋतु मारियाले आफ्ना अनुभव सुनाएका थिए ।


नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवर्द्धनमार्फत विभिन्न ब्रान्डमा लगानी गर्ने अवसर सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेको महासंघले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?