तार नपुग्दा तल्लो मोदीको उत्पादनमा ढिलाइ

अगन्धर तिवारी

पर्वत — पावर हाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिँदा दुई महिनाअघि परीक्षण उत्पादनको तयारी गरेको तल्लो मोदीको काममा ढिलाइ भएको छ । परादीस्थित पावर हाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करिब ७ मिटर नपुग्दा उत्पादनमा ३ महिना बढी ढिलाइ हुने देखिएको हो ।

आयोजनाले तारको दूरी नाप्ने इन्जिनियरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौं नोक्सान हुने बताएको छ । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावर हाउसदेखि प्रसारण लाइनसम्म पुर्‍याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो । चैतमा परीक्षण उत्पादनको दाबी गरेको आयोजनाको तार छोटो भएपछि अहिलेसम्म नयाँ तार तान्ने काम हुन सकेको छैन ।

‘सानो कामले धेरै दु:ख पाइयो,’ आयोजना प्रमुख पवनकुमार यादवले भने, ‘चैतमै फागुनमै परीक्षण उत्पादन दिने योजना थियो । चौपट भयो ।’ पावर हाउसदेखि प्रसारण लाइनसम्म विद्युत् पठाउन आयोजनाले एउटा मात्रै टावर बनाए पुग्छ । टावरका सबैजसो संरचना पूरा गरेको आयोजनाले ७ मिटर तारकै कारण उत्पादन दिन ढिलाइ गर्नुपरेको हो ।

२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको प्रमुख यादवले बताउँदैआएका थिए ।

‘मार्च फस्ट तारिखमा पानी हाल्ने लक्ष्य थियो,’ यादवले भने, ‘सानो त्रुटिले समस्या भयो ।’ मनाङ ट्रेड लिङ, फेवा कन्स्ट्रक्सनलगायतका व्यवसायी कम्पनीले टनेल, पावर हाउस र ड्याम क्षेत्रमा काम गरेका थिए । आयोजनाले टर्बाइन जोड्ने र टनेलदेखि टर्बाइनसम्मको ह्युमपाइप जोड्ने काम (रनवे) को जोडाइ परीक्षण, पेन्टिङलगायत काम सकेको छ । अघिल्लो वर्ष लामो झरीका कारण रनवे आसपासमा पहिरो खसेर पाइप बिछ्याउन समस्या परेपछि काममा ढिलाइ भएको थियो ।

सिभिलतर्फको निर्माण केही महिनाअघि नै सकिएको सहायक कम्पनी फेवा कन्स्ट्रक्सनका प्रतिनिधि त्रैलोक्यराज चालिसेले बताए । ‘बीचमा पहिरोले केही समस्या भएको थियो,’ उनले भने, ‘प्राविधिक काम सकेर हामीले जिम्मा लगाइसक्यौं ।’ पावर हाउससम्म पाइप बिछ्याउने,पावर हाउस फिनिसिङ, टर्र्बाइन र जेनेरेटर जडानलगायत फागुनअघि नै सकिएका थिए ।

विद्युुत् गृहदेखि प्रसारण लाइनसम्म पावर जोड्ने काम अन्तिम चरणमा पुगेका बेला ७ मिटर मात्रै तार कम हुँदा उत्पादन दिन नसकिएको आयोजनाले जनाएको छ । ‘अब अर्को तार मगाउनुपर्छ,’ यादवले भने, ‘त्यसका लागि केही समय लाग्ने भयो ।’ उत्पादन मिति पटकपटक सरेका कारण परीक्ष्ँण उत्पादनको समय तोक्न नमिल्ने उनले बताए । ३ अर्ब ६० करोडको लागत स्टिमेटमा सुरु आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत पनि बढेको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय ग्रिडमा जोडियो खलंगा, ८ जिल्लामा पुग्न बाँकी 

कान्तिपुर संवाददाता

काठमाडौँ — दार्चुलाको सदरमुकाम खलंगामा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको छ । प्राधिकरणले बलाँच-खलंगा ३३ केभी प्रसारण सञ्चालनमा ल्याएसँगै खलंगा नेपालकै विद्युत् प्रणालीमा आबद्ध भएको छ । 

अब ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिन बाँकी भएको प्राधिकरणले जनाएको छ । बाजुरा, हुम्ला, कालीकोट, मुगु, डोल्पा, रुकुम र सोलुखुम्बु राष्ट्रिय ग्रिडमा जोडिन बाँकी छ । यीमध्ये तीन जिल्ला बाजुरा, रुकुम र सोलुखुम्बुलाई यसै वर्ष राष्ट्रिय ग्रिडमा जोड्ने प्राधिकरणको तयारी छ ।

खलंगामा यसअघि भारतको उत्तराखण्डबाट विद्युत् ल्याइएको थियो । राष्ट्रिय ग्रिडमा जोडिएसँगै दार्चुलामा भोल्टेजको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले खलंगामा विद्युत्आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो ।

प्राधिकरणले विद्युत् आयात गरेबापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रूपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करिब ८ हजार ग्राहक छन् ।

बलाँच-खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्चुलाको थालीगाडमा निर्माणाधीन ३३/११ केभी सबस्टेसनको काम असारभित्र सकिने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाइ २५ किलोमिटर छ । सबस्टेसन निर्माणका लागि ६ करोड ८९ लाख रुपैयाँमा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।

प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सबस्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउनेछ ।

चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सबस्टेसनमा ८.५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्यचमेलिया, ६५ मेगावाटको कलंगा गाड, २५ मेगावाटको छत्तिगाड आयोजना जोडिनेछन् । त्यहाँ जोडिएको विद्युत् १३१ किलोमिटर बलाँच-अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा
प्रवाह हुनेछ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्