राष्ट्रिय ग्रिडमा जोडियो खलंगा, ८ जिल्लामा पुग्न बाँकी
काठमाडौँ — दार्चुलाको सदरमुकाम खलंगामा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्याएको छ । प्राधिकरणले बलाँच-खलंगा ३३ केभी प्रसारण सञ्चालनमा ल्याएसँगै खलंगा नेपालकै विद्युत् प्रणालीमा आबद्ध भएको छ ।
अब ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिन बाँकी भएको प्राधिकरणले जनाएको छ । बाजुरा, हुम्ला, कालीकोट, मुगु, डोल्पा, रुकुम र सोलुखुम्बु राष्ट्रिय ग्रिडमा जोडिन बाँकी छ । यीमध्ये तीन जिल्ला बाजुरा, रुकुम र सोलुखुम्बुलाई यसै वर्ष राष्ट्रिय ग्रिडमा जोड्ने प्राधिकरणको तयारी छ ।
खलंगामा यसअघि भारतको उत्तराखण्डबाट विद्युत् ल्याइएको थियो । राष्ट्रिय ग्रिडमा जोडिएसँगै दार्चुलामा भोल्टेजको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले खलंगामा विद्युत्आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो ।
प्राधिकरणले विद्युत् आयात गरेबापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रूपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करिब ८ हजार ग्राहक छन् ।
बलाँच-खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्चुलाको थालीगाडमा निर्माणाधीन ३३/११ केभी सबस्टेसनको काम असारभित्र सकिने प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाइ २५ किलोमिटर छ । सबस्टेसन निर्माणका लागि ६ करोड ८९ लाख रुपैयाँमा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सबस्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउनेछ ।
चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सबस्टेसनमा ८.५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्यचमेलिया, ६५ मेगावाटको कलंगा गाड, २५ मेगावाटको छत्तिगाड आयोजना जोडिनेछन् । त्यहाँ जोडिएको विद्युत् १३१ किलोमिटर बलाँच-अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा
प्रवाह हुनेछ ।
प्रकाशित : जेष्ठ २, २०७६ ०९:२०