पूर्वमन्त्री बोगटीको सम्झनामा कृषि मेला

कान्तिपुर संवाददाता

काठमाडौँ — वामपन्थी नेता एवं पूर्वमन्त्री दिंवगत पोष्टबहादुर बोगटीको स्मृतिमा शनिबारदेखि कृषि प्रदर्शनी मेला हुने भएको छ । कृषि र पर्यटन प्रवर्द्धनको उद्देश्यले नुवाकोटको रानीपौवा बजारमा पाँच दिने मेला गर्न लागिएको आयोजक पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

तस्बिर : कान्तिपुर

ककनी गाउँपालिका नुवाकोटको सहआयोजना रहेको मेलाको नाम 'पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६' दिइएको छ। मेला जेठ ४ देखि ८ गतेसम्म चल्ने छ।

प्रतिष्ठानका अध्यक्ष एवं नेकपाका नेता हितराज पाण्डेले देशमा खेतीयोग्य जमिन बाँझो रहेको बेला कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण र नुवाकोटको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यले दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको बताए। रसुवा, धादिङ, काठमाडौंका कृषक र अवलोकनकर्तासमेत केन्द्रित गर्ने उद्देश्यले रानीपौवामा कृषि मेला राखिएको उनले प्रस्ट्याए। मेला नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ।
प्रतिष्ठानका उपाध्यक्ष एवं मेला संयोजन समिति संयोजक हितबहादुर तामाङले मेलामा नुवाकोटको चिनारी ट्राउट माछा, स्ट्रबेरी, आलुलगायत कृषि उपज आकर्षण रहने बताए। त्यस्तै, धान, कोदो, मकै, गहुँलगायत खाद्यान्न, तरकारी तथा फलफूलजन्य लिची, आरुबखडा, चिउरी, काफल, ग्राउन्ड एप्पल, कफी, चिया, तरुल, सखरखण्ड, बदाम, पिँडालु, मुलालगायतको पनि स्टल रहने छन्।
मेलामा रहने ४० वटा स्टलमा नुवाकोटका १२ वटै स्थानीय तहले आ-आफ्ना क्षेत्रका सबै प्रकारका कृषि उपज र छिमेकी जिल्लाहरु रसुवा, धादिङ र काठमाडौंका कृषकहरुका स्टलहरु रहने छन्। यो मेलापछि विभिन्न गाउँपालिकालाई उत्पादनको आधारमा वर्गीकरण र विशिष्टिकृत गर्न सजिलो हुने उनले बताए। उनका अनुसार प्रदर्शन अवधिभर करिब ५० हजारले दर्शकले अवलोकन गर्ने, २ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।

मेला अवधिमा स्थानीय बाजा तथा झाँकी, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री तथा सांसहरुको सम्बोधन, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने छ। मेलामा उत्कृष्ट उत्पादन गर्ने कृषक, उत्कृष्ट कलाकारहरुलाई सम्मान गरिने जनाइएको छ।

नुवाकोटको तुप्चेमा २०१० सालमा जन्मिएका पोष्टबहादुर बोगटीको ०७१ भाद्र ३० गते मष्तिकघात र हृदयघातका कारण निधन भएको थियो।बोगटीले उर्जामन्त्री र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।किसान संघर्षको नेतृत्वसमेत गरेका बोगटी २०६४ सालको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ १, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्

च्याउ खाँदा बालकको मृत्यु

कान्तिपुर संवाददाता

लमजुङ — च्याउ खाएर बिरामी पर्दा क्व्होलासोंथर गाउँपालिका ९, गिलुङ लौबारीका १० बर्षीय साजन क्षेत्रीको मृत्यु भएको छ । स्थानीयका अनुसार आमा तारा क्षेत्री र बुवा रामबहादुर क्षेत्री उपचारका लागि पोखरा गएको बेला छोरा साजन छिमेकी सुलबहादुर क्षेत्रीको घरमा बस्न लगाइएको थियो । 

सुलबहादुर र उनकी पत्नि सरिताले शुक्रबार गाउँ नजिकैको जंगलबाट च्याउ टिपेर ल्याएको र बेलुकी पकाएर खाएका थिए। च्याउ खाएका सबै शुक्रबार राति बिरामी परेपछि गाउँलेले उनीहरुलाई उपचारका लागि पोखरा पुर्‍याएका थिए। सुलबहादुर र सरिता साथै गम्भीर भएका उनीहरुका छोरा १२ बर्षीय मनतोष र छिमेकीका छोरा साजनलाई फेवासिटी अस्पतालमा पुर्‍याइएको थियो।

अस्पतालले ४ जनालाई काठमाडौं रिफर गरेपछि सोमबार काठमाडौंस्थित नेशनल लाइफ हस्पिटलमा भर्ना भएका थिए। उपचारमा खटिएका डाक्टरले साजनको उपचार सम्भव नभएपछि गाउँ फर्काएकोमा मंगलबार दिउँसो उनको मृत्यु भएको वडाअध्यक्ष नन्दजंग गुरुङले बताए। साजन गिलुङस्थित बुद्धोदय मावि कक्षा ५ मा पढ्थे।

मनतोषको अवस्था चिन्ताजनक रहेको अध्यक्ष गुरुङले बताए। मन्तोष कक्षा ७ मा पढ्छन्। सुलबहादुर र सरिताको अवस्था भने सामान्य अवस्थामा रहेको बुझिएको गुरुङले बताए।

उपचारमा संलग्न डाक्टरले च्याउ विषालु परेका कारण उनीहरु बिरामी भएको गाउँलेले बताएका छन्। घटनाबारे प्रहरीमा जानकारी आएको जिल्ला प्रहरी कार्यालयका डीएसपी यादव ढकालले बताए।

प्रकाशित : जेष्ठ १, २०७६ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्