कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घलेम्दी आयोजनाको टनेल परीक्षण

म्याग्दी — अन्नपूर्ण गाउँपालिका ३ नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्नुअघि टनेल परीक्षण गरेको छ । ड्याम, इन्टेक, सर्च ट्याङ, ग्राभेल ट्राप, डिसेन्टर, अडित प्लक र टनेलमा पानी चुहिने÷नचुहिने परीक्षण गरेको हो ।

जेठ १५ सम्म टनेल टेस्ट पूरा गरी जेठ मसान्तसम्म आयोजनाको वेट तथा ड्राई टेस्ट, भोल्टेज तथा पावर टेस्टको पुनः परीक्षणसमेत सकाएर असार पहिलो सातादेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने आयोजनाको दाबी छ ।


‘आयोजनाको टनेल, पावर हाउस तथा सबस्टेसनका विभिन्न परीक्षण भइरहेका छन् । कुनै डिफेक्ट नआए असार पहिलो सातासम्म व्यावसायिक उत्पादन थाल्छौं,’ घलेम्दीका प्रोजेक्ट म्यानेजर विश्वविजय श्रेष्ठले भने, ‘टनेल टेस्टसँगै पावर हाउसमा ट्रान्सफर्मर जोड्ने, पावर सप्लाईका काम मिलाइरहेका छौं ।’


पीपीए लाइसेन्स परिवर्तन, फाइनान्सियल क्लोजर परिवर्तन, भूकम्प र नाकाबन्दीजस्ता कारणले २०७२ भित्र सक्नुपर्ने आयोजना निर्माणमा ढिलाइ भएपछि आयोजनाको लागत १६ करोडबाट बढेर २३ करोड बढी प्रतिमेगावाट पुगेको छ ।


मिस्त्रीखोलामा सुरुङ सकियो

सोही ठाउँमा निर्माणाधीन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला आयोजनाले ३ हजार ५ सय ३५ मिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको छ । आयोजनाले ३ हजार ५ सय मिटर लामो सुरुङ निर्माण पूरा गरेको छ । ५ अर्ब ५८ करोड ९६ लाख रुपैयाँको लागत अनुमान गरिएको मिस्त्रीखोलाले ड्याम, सुरुङ, पाइप राख्ने र पावर हाउससमेतका सिभिल संरचनाहरू एक साथ निर्माण गरिरहेको छ ।


‘आयोजनामा ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । अप्ठ्यारो भएको टनेलमा ब्रेकथ्रु गरिसकिएकाले लक्ष्यभित्रै आयोजना सम्पन्न गर्छौं,’ आयोजनाका परामर्शदाता दिवाकर खडकाले भने, ‘विद्युत् प्राधिकरणले दाना सबस्टेसन निर्माण ढिलाइ गर्दा आयोजनाको काम प्रभावित भइरहेको छ ।’


५ अर्ब ६४ करोड लागत अनुमान गरिएको मिस्त्रीखोलामा विद्युत् विकास कम्पनीको १ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकको ८० करोड, नेपाल बैंकको ५० करोड, नबिल बैंकको १ अर्ब, लक्ष्मी बैंकको ४० करोड, सिद्धार्थ बैंकको ३० करोड र एस डेभलपमेन्ट बैंकको ३० करोड लगानी छ ।


मिस्त्रीखोला निर्माता कम्पनी रोवस्ट इनर्जी प्रालिले छुट्टै ३८ मेगावाको नीलगिरि खोला प्रथम र ६२ मेगावाटको नीलगिरि खोला दोस्रो निर्माण गर्न प्रवेश मार्ग निर्माण गरिरहेको छ ।


प्रकाशित : जेष्ठ १, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?