कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

भैरहवा सेजमा उत्पादन सुरु

भैरहवा — भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा शक्ति मिनिरल्स प्रालिले व्यावसायिक उत्पादन थालेको छ । विदेश निर्यात उद्देश्यसहित सेजमा उत्पादन थाल्ने यो पहिलो उद्योग बनेको छ । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मंगलबार यसको उद्घाटन गरेका हुन् । उद्योगमा ४० करोड रुपैयाँ लगानी छ । दैनिक उत्पादन क्षमता १ हजार ५ सय टन रहेको छ । उद्योगले निर्यातका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणबाट सोमबार अनुमति पाएको थियो । उद्योगले स्वदेशी चुनढुंगा प्रशोधन गरेर लाइभ स्टोनको धूलो (फ्लाक्स) र डोलोमाइट उत्पादन गर्छ । डोलोमाइट र फ्लाक्सको प्रयोग ठूला स्टिल (फलामे छड) र फलाम उद्योगमा शुद्धीकरणमा प्रयोग हुन्छ । साथै रंग बनाउन प्रयोग गरिन्छ ।


‘अनुमति पाएपछि अब भारत निर्यात गर्ने प्रक्रियामा छौं,’ शक्ति मिनिरल्स प्रालिका अध्यक्ष विनोदकुमार श्रेष्ठले भने, ‘केही महिनाअघि परीक्षण उत्पादन गरेका थियौं । अब निर्यातका लागि उत्पादन थालेका छौं ।’ सिद्धार्थ उद्योग वाणिज्य संघबाट उत्पत्तिको प्रमाणपत्र जारी हुनासाथ निर्यात गरिने उनले बताए । पाल्पाको खानीबाट उद्योगमा कच्चा पदार्थ ल्याएर प्रशोधन गरिन्छ । वार्षिक एक अर्ब रुपैयाँ बराबर उत्पादन निर्यात गरिने उद्योगले जनायो ।


लाइभस्टोन र डोलामाइटको धूलो नेपालमा कुखुराका चल्लाको दाना, प्लास्टिकका बोरा उत्पादन, रंग, कंक्रिट ब्लकलगायतका उत्पादनमा आयात हुने गरेको श्रेष्ठले बताए । यसको कच्चा पदार्थको प्रतिटन तीन सय रुपैयाँ मूल्य पर्छ । प्रशोधन गरेपछि १ हजार ८ सयदेखि २ हजार ५ सय रुपैयाँ प्रतिटन मूल्य पर्ने उनले बताए ।


‘उद्योग वातावरण र जनतामैत्री हुनुपर्छ,’ मन्त्री यादवले भने, ‘निर्यातमुखी उद्योगलाई प्राथमिकता दिइनेछ ।’ ११ महिनाअघि स्थापना भएको उद्योगले संचालनको क्रममा सेज ऐन र आर्थिक ऐनबीच मेल नखाँदा समस्या झेल्नु परेको थियो । यहाँ स्थापना हुने उद्योगलाई विदेशबाट मेसिन तथा उपकरण ल्याउँदा पूर्ण भन्सार छुट दिने सेजको विनियमावलीमा उल्लेख व्यवस्था चालु आवको आर्थिक ऐनमा समावेश नहुँदा उद्योगले समस्या खेप्नु पर्‍यो । उद्योगले आयात गरेका १७ ट्रक औद्योगिक उपकरण धेरै दिन भैरहवा भन्सारमा थन्किएका थिए ।


विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले सरकारी निकायबीचको समन्वयमा कमी हँुदा सेज संचालनमा ढिलाइ भएको बताए । अर्थ र उद्योग मन्त्रालयबीच केही विषयमा एकरूपता नहुँदा लगानीकर्ताले समस्या भोग्नु परेको उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?