कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किरा मार्न 'मोहनी पासो’

प्लास्टिकको बोतलभित्र 'क्युलियर’ नामक रसायन राखिन्छ । त्यसको गन्ध पोथी किराको जस्तै हुन्छ । भाले किरा पोथीको गन्ध सुँग्दै बोतलभित्र पस्छ र त्यहीँ मर्छ 
भवानी भट्ट

कञ्चनपुर — चारैतिर काँक्राका लहरा । बाँसका टुक्राले बेरिएका छाना । लाइनमा रोपिएका काँक्राका बोट । प्रत्येक लाइनमा प्लास्टिक बोतलमा आधाजति तरल पदार्थ देखिन्छ । बोतलको बीचमा प्वाल पारिएको छ ।

किरा मार्न 'मोहनी पासो’

काँक्रामा बस्न आउने किरा बोतलभित्रको त्यही तरल पदार्थको सुगन्धले मोहित हुन्छन् र भित्र पस्छन् । उम्किन सक्दैनन् त्यहीँ फस्छन् । फलफूल र तरकारीबालीलाई किराबाट जोगाउन कञ्चनपुरका किसानले यस्तो उपाय अपनाएका हुन् । यो बोतललाई मोहनी पासो भनिन्छ ।


'हामीले किरा मार्न कुनै विषादी प्रयोग गरेका छैनौं,' टनेलमा काँक्रा र करेला उत्पादन गरिरहेकी महाकाली नगरपालिकाकी बबिता सुनारले भनिन्, 'बारीमा आएका सबै किरा मोहिनी पासोमै फसेर मरे ।' उनका अनुसार अर्गानिक काँक्रा र करेला उत्पादन गर्न मोहिनी पासोसंँगै गाईको गहँुत र निमका पातको प्रयोग गरिएको छ ।


जिल्लाका विभिन्न ठाउँमा अर्गानिक तरकारी खेती गर्ने कृषकहरूले यो विधि अपनाउन थालेका छन् । तरकारी खेतीमा यसको उपयोग बढ्दो छ । 'हामीले पनि यस्तै विधिको प्रयोग गरेर किरा मार्ने गरेका छौं,' भीमदत्त नगरपालिका १४ र १६ मा रहेको राना थारू होमस्टेका सचिव चेतराम रानाले भने, 'होमस्टेमा खान र बिक्रीका लागि अर्गानिक तरकारी नै उत्पादन गर्छाैं ।'


भाले किरालाई आकर्षण गर्ने एक किसिमको रसायन राखिएको बोतललाई नै मोहनी पासो भनिन्छ । प्लास्टिकको बोतलभित्र 'क्युलियर' नामक रसायन राखिन्छ । उक्त रसायनको गन्ध पोथी किराको जस्तै हुन्छ । रसायनसंँगै कपासमा २/३ थोपा मालाथिन वा पानी राखिन्छ । जब भाले किरा पोथीको गन्ध सुँघ्दै बोतलभित्र पस्छ र त्यहीँ मर्छ ।


'भाले-पोथीको सम्पर्क हुन नसकेपछि अन्य लार्भा जन्मिन पाउँदैन,' विभिन्न ठाउँमा लामो समयदेखि कृषि प्राविधिकका रूपमा खटिएका शंकर दत्त भट्टले भने, 'भाले किरा मार्न सके तरकारीमा अन्य किरा आफैं हराउँछन् ।' उनले टमाटर तथा अन्य तरकारीका लागि पोथी र भाले दुवै मार्ने प्रविधि अपनाइने भए पनि लहरे तरकारीका लागि भाले मार्ने प्रविधि नै उपयुक्त भएको बताए । अन्य किरा मार्न घरायसी तरिकाहरू अपनाइने गरेको उनले बताए । निम, तुलसी, आँप र बकाइनोलगायत तितो र अमिलो हुने बिरुवाका पातहरू कुहाएर त्यसमा निश्चित पानीको मात्रा मिसाएर छर्किंदासमेत किरा मर्ने गरेका छन् ।


काँक्रा, लौका, फर्सी र करेलामा एक किसिमको पुतलीले फूल छाडेर पछि भित्र देखिने औंसा -लार्भा) को समस्या यही प्रविधिबाट नियन्त्रण गर्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनका कृषि अधिकृत रामचन्द्र भट्ट बताउँछन् । उनका अनुसार विभिन्न प्रजातिका किराका लागि फरकफरक विधि अपनाउन सकिन्छ ।


'वातावरणका हिसाबले पनि यो विधि सुरक्षित र उपयुक्त मानिन्छ,' कृषि अधिकृत भट्टले भने, 'पोथी किराको आयु छोटो हुन्छ, भाले र पोथीको सम्पर्क नभएपछि छिट्टै किरा नाश हुन्छन् ।' यो विधि एक/दुई कृषकले मात्रै अपनाएर सफल हुन नसकिने उनले बताए । यसका लागि गाउँभरिका कृषकले यो विधि अपनाउनुपर्ने उनको सुझाव छ । आईपीएम तरकारी खेतीमा यो विधि निकै रुचाइएको र प्रयोग भएको उनले बताए ।


तरकारी जस्तै धान र गहुँमा पनि उज्यालो पासो र पहेंलो पासोलगायतका विधिहरू आएका छन् । राति खेतमा लाइट बाल्दा किराहरू सबै त्यहीँ झुम्मिन्छन् । लाइटको तल तेल वा पानी राखिएदिए सबै त्यसमा खसेर मर्छन् । यसैगरी पहेंलो चिज बारीमा राखे किरा त्यहाँ झुम्मिन्छन् ।

प्रकाशित : वैशाख २९, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?