२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

निर्यातबारे बेखबर उत्पादक

रमेशकुमार पौडेल

चितवन — माछा, केरा, कुखुरा र महजस्ता उत्पादन जिल्ला र देशभित्र खपत गर्नुका साथै विदेश निर्यात गर्न नसकिने हैन । बजार खोज्ने तरिका र निकासीका नियम प्रक्रियाबारे जिल्लाका किसानहरू खासै जानकार छैनन् ।

मंगलबार रत्ननगर उद्योग वाणिज्य संघको सहकार्यमा भएको निर्यात प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले उत्पादनको अवस्था, समस्या र निर्यातको सम्भावनाबारे चर्चा गरे ।


रमेश पाण्डे चितवन मत्स्य उत्पादक संघका अध्यक्ष हुन् । लागत मूल्यभन्दा पनि कममा माछा बेच्नुपरेको गुनासो गरेका उनलाई व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका प्रशिक्षक राजेन्द्र सिंहले चितवनको माछा बंगलादेश पुर्‍याउन सुझाव दिए । 'बंगलादेश धेरै टाढा पनि छैन । माछाको माग पनि अत्यधिक छ । मूल्य पनि राम्रो छ । अब यहाँ मूल्य नआएको भए त्यता पनि बेच्नुपर्‍यो,' सिंहले भने ।


सिंहको हौसलाले किसानहरू उत्साहित भएको देखिएन । अध्यक्ष रमेशले भने, 'अब भन्ने बित्तिकै कसरी त्यहाँ लैजाने ? हामी यहाँ माछामा समस्या आएर परीक्षण गर्न सरकारी अधिकारीका अगाडि पुग्यौं भने १० बजे जाँदा १२ बजेसम्म माछा चिरफार गरेर अन्तिममा खै के भयो भयो भन्छन् । हाम्राे हालत यस्तो छ ।' चितवनमा उत्पादन हुने माछासहित मह, केरा, कुखुरा निर्यात गर्न सम्भव रहेको अधिकारीहरूले बताए ।


'माछा तिब्बतमा समेत जति पनि बिक्री हुने अवस्था छ । तिब्बत बोर्डर ट्रेड एसोसिएसनका अधिकारीहरूले हामीलाई माछा किन्ने बाचा गरेका छन् । केरुङमा उनीहरूको ठूलो मल रहेछ,' सरकारी निकाय व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुरेश खनालले भने । त्यसैगरी केराको बोट अर्थात् थम्बाबाट रेशा निकालेर कपडा बनाउने उद्योग नेपालमा खुलेको पनि उनले जानकारी दिए ।


'केराको फल बिक्री हुन्छ । बोट भने त्यसै खेर गएको छ । त्यसबाट रेशा निकालेर बेच्न सकिन्छ । ललितपुरको लुभूमा केराको रेशाबाट कपडा बनाउने उद्योग खुलेको छ । उसले त्यस्ता कपडा विदेश पठाउँछ,' खनालले भने । चितवनमा पनि रेशा निकाल्ने प्लान्ट राख्ने योजना बनाएको सुनाए । त्यसैगरी महलाई प्रशोधन गरेर विदेश पठाउन सकिने उनले बताए । पूर्वाधारहरूको अभावमा निकासी फस्टाउन नसकेको उनले भने ।


'अन्तर्राष्ट्रियस्तरका प्रदर्शनी केन्द्रहरू ठाउँठाउँमा भए स्वदेशी उत्पादक र विदेशी उपभोक्ता वा व्यापारीको जमघट हुन्थ्यो । यसबाट बजार विस्तारमा टेवा पुग्थ्यो । अर्कोतर्फ उत्पादन बढी हुँदा मूल्य कम हुन्छ । ठूलाठूला स्टोरहरू भए त्यसमा राखेर पछि मूल्य आउँदा बेच्न सकिन्थ्यो,' खनालले भने । प्रशोधित कृष उत्पादनले राम्रो मूल्य पाउने भएका कारण प्रशोधन उद्योगहरू खोल्न आवश्यक भएको उनले बताए ।


'भारत तथा अमेरिका र युरोपमा समेत नेपाली कृषि उत्पादन बिनाभन्सार जान पाउने प्रवधान रहेका कारण यहाँका उत्पादनले पनि त्यहाँका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको छ,' उनले भने । 'धेरैजसो निकासी भारतसँग निर्भर छ । अर्कातर्फ निकासीका नियम प्रक्रिया र बजारबारे उत्पादकहरू जानकार नहुँदा पनि सोचेजस्तो प्रगति नभएको हो,' उनको तर्क थियो ।


रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले विदेश निर्यातका साथै चितवनका उत्पादन अन्य प्रदेशमा लगेर बेच्न सक्ने सम्भावना पनि रहेको बताए । संघका निवर्तमान अध्यक्ष तथा कुखुरा व्यवसायी ज्ञानबहादुर बिसुरालले सरकारी नीति नियमका कारण पनि उत्पादनहरू निर्यात हुन नसकेको बताए । आफ्ना उत्पादनहरू लागत मूल्यभन्दा कममा बेच्नुपरेका कारण नेपाली किसानहरू निराश भएको उनको भनाइ थियो ।

प्रकाशित : वैशाख १९, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?