कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कर्णाली करिडोरले छुँदै हुम्ला

जयबहादुर रोकाया

हुम्ला — चालु आर्थिक वर्षभित्रै हुम्ला पुग्ने गरी कर्णाली करिडोरको निर्माण तीव्र गतिमा भइरहेको छ । असार मसान्तभित्र करिडोर हुम्लाको दक्षिणी क्षेत्र ताजाकोट र अदानचुलीमा जोडिने निर्माण कम्पनीले जनाएको छ ।

करिडोरको कालिकोट खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको खण्ड नेपाली सेनाले निर्माण गरिररहेको छ । उक्त खण्डमा पर्ने कवाडीखोलाको बेलिब्रिज (पुल) बन्ने बित्तिकै करिडोर अदानचुली गाउँपालिकाको दोमुख पुग्नेछ । ‘सेनाले पुल बनाउन थालेकाले हुम्ला अब छिट्टै कर्णाली करिडोरसँग जोडिने आशा पलाएको छ,’ हुम्ला कांग्रेस जिल्ला सभापति धनपति रोकायाले भने, ‘अहिले पनि हुम्ला र बाजुराको सीमा क्षेत्र धरलाचौरसम्म गाडी गुड्न थालेका छन् ।’ कवाडीखोलामा पुल निर्माणको काम तीव्र रूपमा भइरहेको उनले बताए ।


करिडोरको खुलालु–सिमकोट खण्ड २ सय किलोमिटर छ । सरकारले खुलालुदेखि हुम्ला, सलीसल्लासम्मको सडक निर्माण जिम्मा सेनालाई दिएको छ । सलीसल्लादेखि सिमकोटसम्मको खण्ड भने सडक विभागले ठेकेदारमार्फत गरिरहेको छ । यो खण्ड निर्माणका लागि ठेकेदार कम्पनीले हेलिकप्टरबाट स्काभेटर लगेर काम गरिरहेको छ ।


ठेकेदार तेजबहादुर महतले सजिलो ठाउँमा स्काभेटरबाट काम भए पनि कडा चट्टान भएको ठाउँमा भने विस्फोटक पदार्थबाट काम गर्नुपर्ने अवस्था रहेको बताए । ‘सेनाले विस्फोटक पदार्थ प्रयोगमा आनाकानी गरिरहेको छ,’ उनले भने, ‘यसले भने केही ढिलाइ हुन सक्छ ।’


कर्णाली करिडोरअन्तर्गतको हिल्सा–सिमकोट ९५ किलोमिटर खण्डमध्ये ७१ किलोमिटर ट्र्याक खुलिसकेको छ । यो खण्डमा गाडीसमेत गुडिरहेका छन् । दुई वर्षअघि नै हिल्सा–सिमकोट जोड्ने लक्ष्य रहे पनि च्याछडाको भीर फुटाउन नसक्दा ढिलाइ भइरहेको आयोजना कार्यालयका सूचना अधिकारी वीरेन्द्रबहादुर शाहीले बताए । भीर फुटाउन विस्फोटक पदार्थको समस्या रहेको उनले बताए ।


राष्ट्रिय सडक सञ्जालसँग नजोडिए पनि जिल्लाभित्र भने आआफ्नो गाउँमा सडक लग्ने होड नै चलेको छ । स्थानीय तहले पनि सडकलाई नै प्राथमिकता दिएका छन् । अर्कोतिर कर्णाली प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले पनि प्रदेश सरकारबाट प्रस्तावित ६ वटा सडकका लागि सर्भे र लगत स्टिमेट थालेको छ । यी सडकका लागि प्रदेश सरकारले १९ करोड रुपैयाँ विनियोजित गरेको कार्यालय प्रमुख पूर्णबहादुर रोकायाले बताए ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?