यतीले थप्यो एटीआर 

काठमाडौँ — पछिल्ला वर्ष ब्रिटिस जेटस्ट्रिम विमानबाट असन्तुष्ट हुँदै आएको आएको निजी क्षेक्रको यती एयरलाइन्सले शुत्रबार फ्रान्स र इटालियाले उत्पादन गर्ने एटीआर विमान थपेको छ ।

अल्फा नोभेम्बर चार्ली नेपाली कल साइन भएको यो विमान यतिको चौथो एटीआर हो । यतिका प्रवक्ता भीम राईका अनुसार कम्पनीले भ्रमण वर्षलाई साइत पारी अबको एक महिनाभित्र अर्को एटीआर पनि थप्दै छ ।


कम्पनीका एक वरिष्ठ पाइलटका अनुसार यो विमान यतीले थाइल्यान्डको नोक एयरबाट खरिद गरेको हो । विमान कम्पनीकै वरिष्ठ पाइलटद्वय ज्ञानप्रकाश राई र कमल केसीसहितको टोलीले बैंककबाट काठमाडौं ल्याएका थिए ।

यतीले यो विमान ५६ लाख डलरमा खरिद गरेको जनाएको छ ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयमा यतिले ४ लाख डलर बिमासमेतको गरी ६० लाख डलरमा खरिद गरेको कागजात पेस गरेको थियो । भन्सार कार्यालयले यसअघि बुद्ध एयरले चैतमा भित्र्याएको एटीआर विमान पनि सन् २००७ मै उत्पादन भएकाले उक्त विमानको मूल्यांकन गरेको अंक ८२ करोड रुपैयाँलाई आधार मानेर ८२ लाख रुपैयाँ भन्सार लिएको छ ।


‘बुद्धले यही मोडलको विमान भित्र्याउँदा उसले ८२ करोडको बिल पेस गरेको थियो । उसैको विमानको मोडललाई आधार मानेर हामीले यतीको विमानलाई पनि ८२ करोड मूल्यको लागतअनुसार भन्सार महसुल लियौं,’ विमानस्थलस्थित भन्सार प्रमुख गजेन्द्र ठाकुरले कान्तिपुरसँग भने ।


विमानको भन्सार महसुल १ प्रतिशत पर्छ । उनका अनुसार यतीले ६० करोडमा खरिद गरेको मूल्यका आधारमा ६० लाख महसुल बुझाउन खोजेको थियो । भन्सार प्रमुख ठाकुरले यसबारे भन्सार विभाग तथा अर्थ मन्त्रालयलसम्म उजुरी दिन सकिने जनाउँदै आफूले ६० करोड मूल्य इन्कार गरेको बताए । एटीआर ७२– ५०० ब्रान्ड न्युको बजार मूल्य २ अर्ब माथि पर्छ । नेपालको कानुनले १५ वर्षसम्म उडानमा रहेको विमान खरिद गर्न छुट दिएको छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?