कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मूल्य घटेपछि अलैंची किसान दोधारमा

आनन्द गौतम

ताप्लेजङ — अलैंची कृषक सञ्जालका अध्यक्ष शिवकुमार गुरुङलाई अलैंची खेतीबाट आफू र आफूजस्ता किसानको भविष्य के हुन्छ पत्तो छैन । सदरमुकाम फुङलिङको वडा ६ कोठेबारी घर भएका उनको ध्यान अलैंची खेतीसँगै ब्याडमिन्टन हलतर्फ केन्द्रित हुँदै गएको छ ।

त्यही अलैंचीको कमाइबाट आफ्नै बारीमा ब्याडमिन्टन हल बनाएका उनको अहिलेको चिन्ता भने उत्पादित अलैंची बिक्री होला कि नहोला भन्ने छ ।


अलैंची व्यवसायी महासंघका पूर्वकेन्द्रीय अध्यक्ष निर्मल भट्टराई सम्मिलित टोलीले हालै ५ सय किलो अलैंची जहाजमार्फत सिधै कतार पठायो । उनीहरूले हवाई सेवामार्फत कतार पठाएको यो तेस्रोपटक हो । उनीहरूले अहिलेसम्म १५ सय किलो पठाइसकेका छन् । कतारमा नेपालको अलैंची भारत, पाकिस्तान हुँदै पुग्ने गरेको थियो ।


पहिला ७ वटा जिल्लामा अलैंची उत्पादन हुन्थ्यो । अहिले नेपालकै ४२ जिल्लामा पुग्यो । ‘जति बेला अलैंचीको

कारोबार सुरु भयो, त्यति बेला हामीले गुणस्तरमा ध्यान दिएनौं,’ समितिका अध्यक्ष दिनेश अधिकारीले भने, ‘पहिला नेपाल, भारत र भुटानमा मात्रै उत्पादन हुन्थ्यो अहिले भियतनाम, चीनमा पनि उत्पादन हुन थाल्यो । उत्पादन वृद्धिअनुसारको बजार खोज्न नसक्नु कमजोरी भयो ।’


किसानले १ लाख २० हजार रुपैयाँसम्ममा एक मन (४० किलो) अलैंची बेचेका थिए । हाल बजार मूल्य झापाको बिर्तामोडमा प्रतिमन २६ र ताप्लेजुङमा २४ हजार रुपैयाँ रहेको छ । कम्तीमा ३० हजार रुपैयाँ भए मात्रै यसको लागत उठ्ने किसानको दाबी छ ।


मूल्य घटेपछि फक्तालुङ गाउँपालिका ३ लिंखिमका वीरबहादुर विकले त २२ रोपनीमा लगाएको अलैंची बगान नै फाँडिदिएका छन् । २५ देखि ३० मुरीसम्म धान फल्ने खेत मासेर अलैंची लगाएका उनी अब पुरानै खेतीमा फर्कने तयारीमा लागेका हुन् ।


बगान नफाँडेकाहरू पनि अलैंचीलाई नै निरन्तरता दिने कि नदिने दोधारमा छन् । अधिक किसानको मनसाय पेसा बदल्ने कि भन्ने देखिएको छ । यही अलैंचीको मूल्य कतारमा भने एक मनको १ लाख ४४ हजार रुपैयाँ छ । भारतीय व्यापारीले निर्धारण गरेको मूल्यमा नेपालको बजार चलिरहेको किसान बताउँछन् ।


भारतबाट पाकिस्तान र खाडी राष्ट्रका यूएई, साउदी अरब, कतारजस्ता देशमा निर्यात हुने यसलाई मसला, आयुर्वेदिक औषधि, मिठाई, बिस्कुटजस्ता खाद्य वस्तुमा प्रयोग गरिन्छ ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?