असारदेखि पाइपलाइनबाटै अमलेखगन्ज डिपोमा तेल भित्र्याउने तयारी

साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न बाँकी 
पवन यादव

सिमरा — असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाअन्तर्गत पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रको आधाभार क्षेत्रमा पाइप बिछ्याउँदै । तस्बिर : पवन/कान्तिपुर 

भारतीय सिमानादेखि अमलेखगन्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको मोतीहारी–अमलेखगन्ज परियोजना कार्यालयका प्रमुखसमेत रहेका अमलेखगन्ज आयल निगमका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए ।

अहिलेसम्म ५ किलोमिटर पाइपलाइन मात्र गाड्न बाँकी छ । वैशाख महिनाभित्र पाइपलाइन गाड्ने काम सकिने उनले बताए । ‘जेठ महिना टेस्टिङ गर्नमै लाग्छ,’ उनले भने, ‘असारबाट पाइपलाइनबाटै तेल भित्रिन्छ ।’ अहिले भइरहेको कामको गतिअनुसार असारबाटै तेल भित्रिने अनुमान गरिएको यादवले जानकारी दिए । उनका अनुसार अबको १५ दिनभित्र रूख काटेर रुट क्लियर गरिनेछ ।

वैशाखभित्र पाइप गाड्ने काम पूरा हुनेछ । रूख कटानसँगै पाइपलाइन वेल्डिङ गर्ने र गाड्ने काम पनि भइरहेको मोतीहारी–अमलेखगन्ज परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले बताए ।

यो पनि पढ्नुहोस् :

पाइपलाइलन विस्तार धमाधम, भाडा बचत वार्षिक २ अर्ब


वन क्षेत्र भएकै कारण पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाड्ने काम ३ महिना पछाडि धकेलिएको परियोजनाका अधिकारीले बताए । संघीय सरकारको मन्त्रिपरिषद्ले गत माघ ३ गतेको बैठकको निर्णयअनुसार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रूख काटेर पेट्रोलियम पाइपलाइन गाड्ने अनुमति दिएको थियो ।

अनुमति पाएपछि परियोजनाका अधिकारीले अमलेखगन्ज आयल निगमभन्दा दक्षिण क्षेत्रको झाडी सफा गरेर १० दिनदेखि पाइपलाइन गाड्ने काम सुरु गरेका थिए । त्यही क्रममा पुरानो ठेकेदारले ठेक्का लिन पेस गरेको कागजात फर्जी देखिएपछि उक्त ठेक्का दोस्रो ठेकेदारले पाएका थिए ।उनले पनि प्रक्रिया पूरा गरेर काम सुरुगर्दा अझ केही दिन ढिलो हुन गएको जानकारी दिए ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ किलोमिटर रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोले जनाएको छ । ३२ दशमलव २० किलोमिटर पाइपलाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर पाइपलाइन नेपाली क्षेत्रमा पर्छ । भारतको रक्सौलदेखि पथलैयासम्म पर्ने २७ किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम वैशाखअगाडि नै सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रबाहिरको ६० किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम सम्पन्नभइसकेको छ ।

पथलैयादेखि अमलेखगन्जसम्मको निकुञ्ज क्षेत्रको पाइपलाइन गाड्ने रुटबाट ८ वटा ब्लक मार्फत ६ हजार ५ सय ६३ वटा रूख तथा पोल काटिंदै छ । यस्तै उक्त रुटबाट ८१ हजार ६ सय पोथ्राहरूको कटान, मुछान, ढुवान, पाइलिङ, घाटगद्दी, जरा उखेल्नेलगायतका काम भइरहेको बीआर सप्लायर्सका सञ्चालक विदुरकुमार विष्टले जानकारी दिए ।

पाइपलाइन विस्तारका तस्बिरहरु :

पेट्रोलियम पाइपलाइन विस्तारकाे काम धमाधम


निकुञ्ज कार्यालयबाट खटिएका कर्मचारीको रोहवरमा टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाको आदेशअनुसार ठेकेदारले रूख कटान, मुछान गर्ने काम सुरु गरेका हुन् । ८ वटै ब्लकबाट काटिएको रूखबाट ५२ हजार १ सय २४ दशमलव २४ क्युफिट काठ र १ सय ८८ दशमलव ८६ चट्टा दाउरा संकलन हुने अनुमान टिम्बर कर्पोरेसनले गरेको छ ।

निकुञ्ज क्षेत्रमा पाइप गाडिएपछि बरौनी–पटना–कानपुर पाइपलाइनमध्ये पटनाबाट सिधै तेलका लागि यहाँको पाइपलाइन जडान गरिने मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ ।

तेल भण्डारण गर्न यसअघि अमलेखगन्ज डिपोमा रहेको ४ वटा पुराना ट्यांकीलाई भारतीय ठेकेदार मार्फत मर्मत कार्य अन्तिम चरणमा पुगेको छ, जसमध्ये यसअघि नै २ वटा ट्यांकीको मर्मत कार्य सम्पन्न भइसकेको परियोजना कार्यालयले जनाएको छ ।पहिलो चरणमा १६ हजार किलोलिटर तेल भण्डारण गर्न सक्ने पूर्वाधार तयार गरिएको छ ।

तेल भण्डारण गर्न थप ६/७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको छ । अहिले दैनिक २ सय ट्यांकर रक्सौलस्थित डिपोबाट इन्धन भर्छन् । वैशाखदेखि इन्धन भर्न रक्सौल पुग्नुपर्ने बाध्यता हट्नेछ ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्

थपिँदै कृषि नमुना फर्म

दिप्ती सिलवाल

पर्वत — कृषिमा आत्मनिर्भर बनाउन पर्वत र बाग्लुङमा यो वर्ष ८० वटा नमुना फर्म थपिंदै छन् । कृषि ज्ञानकेन्द्र पर्वतले वैदेशिक रोजगारीबाट फर्केका, एकल महिला, बेरोजगार, व्यावसायिक ज्ञान भएका युवालाई प्रोत्साहन गर्दै त्यस्ता फर्म स्थापना गर्न लागेको हो । 

पर्वतको कुश्मा–७ खरेहामा सञ्चालित नमुना व्यावसायिक कृषि फर्म । तस्बिर : अगन्धर/कान्तिपुर

ज्ञानकेन्द्रले विभिन्न ९ वटा बालीलाई समेटेर व्यावसायिक रूपमा तरकारीको मौसमी तथा बेमौसमी खेती गर्न त्यस्ता फर्म सञ्चालन हुने जनाएको छ । फर्म सञ्चालन गर्न इच्छुक युवा किसानको छनोट र जग्गाको व्यवस्थापनभइरहेको छ ।

व्यावसायिक फर्म सञ्चालन गर्न ज्ञानकेन्द्रले हाइटेक टनेल, सिंचाइ व्यवस्थापन, प्राविधिक उपकरण र अन्य पूर्वाधार निर्माणका लागि अनुदान व्यवस्थापन गरिसकेको छ । केन्द्रका अनुसार यसका लागि ३ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

कार्यालयले विभिन्न ९ वटा बाली समेटेर नमुना फर्म बनाउन लागेको हो । मिश्रित बालीका ३२, तरकारीका २६, माहुरीका १०, सुन्तलाका ५, फलफूलका २, अलैंचीका २, अर्गानिक तरकारी, किवी खेती र च्याउका १/ १ वटा नमुना फर्म सञ्चालन गर्न कृषकहरूलाई अनुदान सम्झौता गरी रकम वितरण सुरु गरिएको ज्ञानकेन्द्र प्रमुख वासुदेव रेग्मीले बताए ।‘धेरै पहिलादेखि यस्ता व्यावसायिक फर्मको परिकल्पना गरेका थियौं,’ रेग्मीले भने, ‘अपेक्षित बजेट अभावले सम्भव भएकै थिएन । इच्छुक किसान पनि लगानी अभावले रोकिएका थिए । अहिले त्यो परिकल्पना पूरा हुँदै छ ।’

ज्ञानकेन्द्रले कृषकहरूबाट माग संकलन गरी अहिले धमाधम अनुदान सम्झौता गर्न थालेको छ । एउटा फर्मका लागि २ लाख ५० हजारदेखि ४ लाख ८५ हजार रुपैयाँसम्म अनुदान रकम वितरण गरिएको ज्ञानकेन्द्रले जनाएको छ ।

आवेदन पेस गरेकामध्ये एउटा सामूहिक कृषि फर्म छ । त्यसबाहेक सबै व्यक्तिगत रूपमा कृषि पेसा गर्न निवेदन पेस भएका छन् । किसानहरूलाई कार्यालयमा बोलाएर अनुदान सम्झौता गरेको छ । व्यावसायिक फर्म सञ्चालक किसानलाई आवश्यकताअनुसार प्राविधिक ज्ञानसमेत दिएर पठाउने गरिएको कृषि अधिकृत सोनु रानाले बताइन् । ज्ञान केन्द्रले प्रांगारिक तरकारी खेती, पकेट र ब्लक विस्तार, कृषि वन प्रणाली, साना सिंचाइ, कृषि यान्क्रीकरणलगायतका कृषिमुखी कार्यत्रम सञ्चालनगरिरहेको छ ।

व्यावसायिक फर्ममा छनोट भएर अनुदान सम्झौता गरेका किसानले प्रोत्साहनमुखी कार्यक्रमले हौसला जागेको बताएका छन् । ‘थोरै भए पनि सरकारी सहयोगले हौसला मिल्छ नै,’ कुश्मा–१ की शान्ति कुमालले भनिन्, ‘आम्दानीनहुने मान्छेलाई यस्ता अनुदानले ठूलो राहत हुन्छ । उत्पादन बढाउन उत्प्रेरणा मिल्छ ।’ कुश्माकै अर्का किसान एवं वडा नम्बर–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले सरकारी निकायबाट दिइने अनुदानले व्यवसायमा लाग्न चाहने तर, आर्थिक अभावले रोकिने युवालाई मार्गप्रशस्त हुने बताए ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्