थपिँदै कृषि नमुना फर्म

दिप्ती सिलवाल

पर्वत — कृषिमा आत्मनिर्भर बनाउन पर्वत र बाग्लुङमा यो वर्ष ८० वटा नमुना फर्म थपिंदै छन् । कृषि ज्ञानकेन्द्र पर्वतले वैदेशिक रोजगारीबाट फर्केका, एकल महिला, बेरोजगार, व्यावसायिक ज्ञान भएका युवालाई प्रोत्साहन गर्दै त्यस्ता फर्म स्थापना गर्न लागेको हो । 

थपिँदै कृषि नमुना फर्म

ज्ञानकेन्द्रले विभिन्न ९ वटा बालीलाई समेटेर व्यावसायिक रूपमा तरकारीको मौसमी तथा बेमौसमी खेती गर्न त्यस्ता फर्म सञ्चालन हुने जनाएको छ । फर्म सञ्चालन गर्न इच्छुक युवा किसानको छनोट र जग्गाको व्यवस्थापन भइरहेको छ ।


व्यावसायिक फर्म सञ्चालन गर्न ज्ञानकेन्द्रले हाइटेक टनेल, सिंचाइ व्यवस्थापन, प्राविधिक उपकरण र अन्य पूर्वाधार निर्माणका लागि अनुदान व्यवस्थापन गरिसकेको छ । केन्द्रका अनुसार यसका लागि ३ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।


कार्यालयले विभिन्न ९ वटा बाली समेटेर नमुना फर्म बनाउन लागेको हो । मिश्रित बालीका ३२, तरकारीका २६, माहुरीका १०, सुन्तलाका ५, फलफूलका २, अलैंचीका २, अर्गानिक तरकारी, किवी खेती र च्याउका १/ १ वटा नमुना फर्म सञ्चालन गर्न कृषकहरूलाई अनुदान सम्झौता गरी रकम वितरण सुरु गरिएको ज्ञानकेन्द्र प्रमुख वासुदेव रेग्मीले बताए । ‘धेरै पहिलादेखि यस्ता व्यावसायिक फर्मको परिकल्पना गरेका थियौं,’ रेग्मीले भने, ‘अपेक्षित बजेट अभावले सम्भव भएकै थिएन । इच्छुक किसान पनि लगानी अभावले रोकिएका थिए । अहिले त्यो परिकल्पना पूरा हुँदै छ ।’


ज्ञानकेन्द्रले कृषकहरूबाट माग संकलन गरी अहिले धमाधम अनुदान सम्झौता गर्न थालेको छ । एउटा फर्मका लागि २ लाख ५० हजारदेखि ४ लाख ८५ हजार रुपैयाँसम्म अनुदान रकम वितरण गरिएको ज्ञानकेन्द्रले जनाएको छ ।


आवेदन पेस गरेकामध्ये एउटा सामूहिक कृषि फर्म छ । त्यसबाहेक सबै व्यक्तिगत रूपमा कृषि पेसा गर्न निवेदन पेस भएका छन् । किसानहरूलाई कार्यालयमा बोलाएर अनुदान सम्झौता गरेको छ । व्यावसायिक फर्म सञ्चालक किसानलाई आवश्यकताअनुसार प्राविधिक ज्ञानसमेत दिएर पठाउने गरिएको कृषि अधिकृत सोनु रानाले बताइन् । ज्ञान केन्द्रले प्रांगारिक तरकारी खेती, पकेट र ब्लक विस्तार, कृषि वन प्रणाली, साना सिंचाइ, कृषि यान्क्रीकरणलगायतका कृषिमुखी कार्यत्रम सञ्चालन गरिरहेको छ ।


व्यावसायिक फर्ममा छनोट भएर अनुदान सम्झौता गरेका किसानले प्रोत्साहनमुखी कार्यक्रमले हौसला जागेको बताएका छन् । ‘थोरै भए पनि सरकारी सहयोगले हौसला मिल्छ नै,’ कुश्मा–१ की शान्ति कुमालले भनिन्, ‘आम्दानी नहुने मान्छेलाई यस्ता अनुदानले ठूलो राहत हुन्छ । उत्पादन बढाउन उत्प्रेरणा मिल्छ ।’ कुश्माकै अर्का किसान एवं वडा नम्बर–७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलले सरकारी निकायबाट दिइने अनुदानले व्यवसायमा लाग्न चाहने तर, आर्थिक अभावले रोकिने युवालाई मार्गप्रशस्त हुने बताए ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?