सगरमाथामा गाउँ चिनाउने झन्डा

कान्तिपुर संवाददाता

काठमाडौँ — देशभरका सबै गाउँमा पर्यटकीय जागरणको सन्देश फैलाउने उद्देश्य बोकेर आरोही फुर्वा तेन्जिङ शेर्पा ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउँदै छन् । 

पर्वतारोही फुर्वा तेन्जिङ शेर्पालाई बिदाइ गरिँदै । तस्बिर : कान्तिपुर

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ओझेलमा परेका पर्यटकीय स्थलहरूको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता अभियान हो ।

भिडियो अभियानले ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गाउँठाउँ, प्राकृतिक, संस्कृतिक, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलालगायतका विषयमा केन्द्रित पाँच मिनेटसम्मको भिडियो बनाउन सार्वजनिक आहवान गरेको छ । जनवरी १ देखि सुरु भएको प्रतियोगिताको समयसीमा ३१ मे २०१९ सम्म रहेको छ । यो अभियान वी विल राइज फाउन्डेसन (हामी उठ्नेछौं) ले देशभर सञ्चालन गरिरहेको छ ।

फाउन्डेसनले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा १३ औंपटक सगरमाथाको आरोहण गरिसकेका गिनिज बुक अफ वर्ल्ड रेकड होल्डर शेर्पासँग अभियानको झन्डा सगरमाथामामा पठाउन लागेको हो । आरोही शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयासअनुरूप आरोहणको १४औंपटकको याक्रामा चुचुरोमा जान लागेकामा खुसी व्यक्त गरे ।

राष्ट्रिय सभाकी सांसद कोमल ओली, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य, पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्व राष्ट्रिय फुटबलर एवं प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खडका, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालगायतले फुर्वालाई हालै राजधानीमा आयोजित कार्यक्रमका भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डा हस्तान्तरण गरेका थिए ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:४३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रोकिएन बालुवा तस्करी

हरिहरसिंह राठौर

धादिङ — बूढीगण्डकी किनारका ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा दिनदहाडै भइरहेको बालुवा तस्करी रोक्न जिल्ला समन्वय समिति र स्थानीय प्रशासन असफल भएका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजना, जिल्ला समन्वय समिति र स्थानीय प्रहरीलगायत सरोकारवाला निकायले पटकपटक अवैध उद्योग रोक्न प्रयास गरे पनि राजनीतिक पहुँच र बलियो सेटिङका कारण बालुवा प्रशोधन उद्योग सञ्चालनमै छन् । आयोजनाले मुआब्जा दिएकै क्षेत्रमा बालुवा तस्करी भइरहेको छ ।

ज्वालामुखी गाउँपालिका ५ को बुङकोटघाट र मस्तेखोलामा रहेका दर्जन बालुवा प्रशोधन केन्द्र बन्द गराए पनि साता नबित्दै केही व्यक्तिले फेरि अवैध ढंगबाट बालुवा प्रशोधन गरिरहेका छन् । गोरखाका गण्डकी, सहिद लखन गाउँपालिकालगायत बूढीगण्डकी डुबान क्षेत्रभित्र पनि बेरोकतोक सञ्चालन भइरहेका छन् ।

‘आयोजना मातहत नामसारी भइसकेका विभिन्न स्थानमा १२ वटा अवैध बालुवाखानी सञ्चालन गरेर दैनिक ५ सय टिपरभन्दा बढी बालुवा बेचबिखन हुँदै आएको छ । हामीले नियन्त्रण गर्न स्थानीय प्रशाासनलाई गुहारे पनि प्रयास सफल भएको छैन, बालुवा बेच्न पाउने मागसहित उल्टै राजनीतिक दबाब आउने गरेको छ,’ आयोजना संयोजक कृष्णबहादुर कार्कीले भने ।

एक महिनाअघि प्रहरी प्रशासनले त्यहाँका अवैध बालुवा प्रशोधन उद्योगहरूमा ‘छापामारे जस्तो’ गरेर विद्युतीय उपकरण बरामद गरे पनि पुनः जडान गरी सञ्चालनमा आएको स्रोतले जनाएको छ । स्थानीय जनप्रतिनिधिकै मिलोमतोमा बूढीगण्डकी जलविद्युत् आयोजनबाट मुआब्जा लिइसकेको जमिनमा एक वर्षअघिदेखि अवैध बालुवाखानी सञ्चालन हुँदै आएका छन् ।

एक महिनाअघि सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीको नेतृत्वमा गएको तीनवटै सुरक्षा निकायको टोलीले बालुवा उद्योगमा छापा मारेको थियो । प्रहरी पुगेलगत्तै फिरफिरेका मजदुर र स्काभेटर, टिपरलगायत उपकरणरका चालकहरू उद्योग छोडेर भागेका थिए । गत वर्षसम्म खानीबाट बालुवा लिएर धुने सामान्य फिरफिरे जडान गरेका बालुवा तस्करहरूले यसपालि ठूला आधुनिक बुमरलगायत उपकरणहरू जडान गरेर सञ्चालन गरेका थिए ।

बालुवा प्रशोधन उद्योग सञ्चालन गर्न कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ता गर्दा अन्य स्थानको लालपुर्जा पेस गरेर कम्पनीको अनुमति लिएका बालुवा व्यवसायीहरूले उद्योग र खानी बूढीगण्डकीको नाममा मुआब्जा लिएर नामसारी गरेकै जग्गामा सञ्चालन गर्ने गरिरहेका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×