बाटो बिराउँछन् पर्यटक

अन्तर्राष्ट्रियस्तरमै चर्चा कमाएको खप्तडमा कहाँबाट जाने, कसरी जाने, कति समय लाग्छ भन्ने सामान्य जानकारी दिने सूचना केन्द्र नहुँदा पर्यटकलाई अलमल
वसन्तप्रताप सिंह, मोहन शाही

बझाङ/डोटी — अघिल्लो साता खप्तड बाबा आश्रमको दर्शन गरेर त्रिवेणी स्नान गर्न ओरालो लागेका संयोग थापासहित १७ जनाको टोली ६ घण्टासम्म पाटनमा हराए । होटल सञ्चालकले आश्रमबाट २० मिनेटमै त्रिवेणी भेटिने र त्यहाँ स्नान गरेपछि १० मिनेटमै होटल आइपुगिने सूचना दिएका थिए ।

खप्तड राष्ट्रिय निकुञ्जमा घुम्दै आन्तरिक पर्यटक । तस्बिर : वसन्त/कान्तिपुर

त्यही सूचनाको आधारमा चिया मात्रै पिएर बिहान ८ बजे घुम्न निस्किएका उनीहरू दिनभर भोक, प्यास र थकानले लखतरान परे ।

त्रिवेणी जाने बाटो बिराएपछि दिउँसो २ बजे मात्रै खप्तड ब्यारेक जाने संकेत बोर्ड भएको ठाउँ भेटाएका थिए । काठमाडौं कोटेश्वरबाट आएका उनीहरूले जीवनमै नपाएको दुःख पाएको सुनाए । ‘काठमाडौंदेखि तीन दिन लगाएर आउनु त के दुःख ?’ थापाले भने, ‘नौ बजे नै होटलमा पुगिहालिन्छ भनेर चिया मात्र खाएर निस्केका थियौं, पाटन जता गयो उस्तै देखिने, भोकै हिँड्नुपर्‍यो, हरायौं भन्ने थाहा पाएपछि निकै आत्तियौं ।’

यही दिन त्रिवेणी स्नान गरेर खाना खाएपछि खप्तड दह र सहश्रलिंग घुम्ने योजना बनाएको उनको टोली चार बजे मात्र होटल आइपुग्यो । ‘भोक, प्यास र थकानले आकुलव्याकुल भयौं, अन्त घुम्न जाने आँटै आएन,’ टोलीका अर्का सदस्य प्रदीप थापाले भने । अर्को दिन घुम्न जाँदा अघिल्लो दिनझैं हराउने डरले टोली खप्तडको यात्रालाई बीचैमा स्थगित गरेर काठमाडौं फर्क्यो ।

काठमाडौंबाट सपरिवार घुम्न आएको रेखा रावलको परिवारले पनि यस्तै नियति भोग्नुपर्‍यो । अछामको नैनीबाट ५ घण्टामा खप्तड पुगिने स्थानीयको सूचनाका आधारमा बिहीबार बिहान हिँडेका उनीहरूले दिनभर हिँडदा पनि पाटन भेटाउन सकेनन् । साँझ अबेर मात्र आगो बलेको देखेर पछ्याउँदै जाँदा एकजना गोठालोको भैंसी खर्कमा पुगे ।

बिहीबारको रात भैंसी गोठमा बिताएको उक्त परिवार शुक्रबार तिनै गोठालाले बाटो देखाएपछि खप्तड पुगेको उनले सुनाइन् । ‘खर्क नभेटिएको भए जंगलमै बास बस्नुपर्ने थियो, अब मरिने भयो भनेर डराइसकेका थियौं, भाग्यले बाँच्यौं,’ उनले भनिन् ।

उल्लिखत दुई प्रसंगहरू कुनै भवितव्य घटना हैनन् । खप्तड पुग्ने अधिकांशले भोग्ने नियतिका उदाहरण मात्रै हुन् । भूस्वर्गका नामले परिचित खप्तडको प्राकृतिक सुन्दरताले लोभिएर यहाँ पुग्ने अधिकांश पर्यटकहरूले दैनिकजसो यस्ता समस्याहरूको सामना गर्नुपरेको तितो अनुभव सुनाउँछन् । खप्तड राष्ट्रिय निकुञ्जभित्र मात्र हैन, यहाँ प्रवेश गर्ने मार्गहरूको अवस्था पनि कम दयनीय छैन । बझाङ, डोटी, अछाम र बाजुरा जिल्लाबाट प्रवेश गर्न सकिने खप्तडको प्रवेशमार्गमा यसबारे सूचना दिने व्यवस्था कतै पनि छैन ।

एक साताअघि डोटी हुँदै खप्तड छिरेका काठमाडौं कलंकीका निर्मला न्यौपाने र उनका ७ जना सहपाठीले खप्तडबारे सामान्य जानकारी दिन सक्ने सूचना केन्द्रसमेत फेला नपर्दा आफूले जीवनमा नपाइएको कष्ट व्यहोर्नुपरेको व्यथा सुनाए ।

खप्तडका रहेका मनोरम प्राकृतिक दृश्यले मन्त्रमुग्ध भएको अनुभूतिलाई त्यहाँ भोग्नुपरेको भोक, प्यास र निद्राको सास्तीले छायामा पार्‍यो । ‘अन्तर्राष्ट्रियस्तरमै चर्चा पाएको खप्तडमा कहाँबाट जाने, कसरी जाने, कति समय लाग्छ भन्ने सामान्य जानकारी दिने सूचना केन्द्रसम्म रहेनछ,’ खप्तडबाट फर्केपछि दुःखेसो पोखिन्, ‘न सुरक्षित सुत्ने घर छ, न पेटभरि खान दिने होटल नै ।’

बल्लतल्ल खप्तड पुग्नेहरू फर्कंदा जति प्रफुल्ल भएर फर्कनुपर्ने हो त्यस्तो भेटिँदैनन् । प्राकृतिक र जैविक सुन्दरताले जति प्रसन्न हुन्छन् । सूचना केन्द्र, संकेत बोर्ड, पूर्वाधार अभावले भोग्नुपरेका सास्तीले अपवादबाहेक अधिकांश पर्यटकका खुसीलाई क्षणभरमै खोसिदिन्छन् । ‘खप्तड सौन्दर्यको वर्णन जसरी गर्छन्, त्यति नै दुःख पाएको गुनासो पनि गर्छन्,’ ३ महिनाको अवधिमा ३ सय पर्यटकलाई दिपायलमा आतिथ्यता दिएको डोटीस्थित वर्षा होटल सञ्चालक गणेश बोहोराले भने, ‘कतिपय त खप्तडबाट फर्केका पर्यटकले पाएको दु:ख सुनेर यतैबाट फर्केका पनि छन् ।’

खप्तडमा नेपाली सेनाले सीमित ठाउँमा संकेत बोर्डहरू राखेको भए पनि पर्याप्त छैनन् । बोर्डहरूमा राखिएका सूचनासमेत पर्याप्त छैनन् । ‘संकेत बोर्डहरू हेरेर सेनाको ब्यारेक र बाबा आश्रमबाहेक अन्त गएर फर्कन गाह्रै हुने रहेछ,’ खप्तड प्रवेश गर्ने सबैभन्दा छोटो बाटो मानिने बझाङको लोखडाडामा होटल सञ्चालन गरिरहेका मनीष रावलले भने, ‘धेरैजसोले बाटो बिर्सेर पाटनमा हराएको सुनाउँछन् ।’ खप्तडमा हराएर दुःख पाउने मात्रै होइन, ज्यान गुमाउने जोखिम पनि उत्तिकै हुने गर्छ । ‘पाटन जता पनि उस्तै देखिन्छ, जंगली जनावरको आक्रमण, भोको पेट र थकान कति त हराएका हराई, महिनौंपछि मात्रै भेटिने गर्छन्,’ रावलले भने ।

प्रवेशद्वारहरूमा नै पर्याप्त सूचना नपाएका कारण खप्तड जानुपूर्व नै पर्यटकहरू अलमलमा पर्ने गरेका पर्यटन व्यवसायीहरूको अनुभव छ । ‘जानेबेला नै पर्यटकहरू रनभुल्लमा पर्छन्,’ डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक खड्काले भने, ‘कतिपयले होटल व्यवसायी, पत्रकारहरूसँग सोधखोज गर्छन्, कतिपय अलमलमै जाने गरेका छन्, खप्तड यात्राबारे पर्याप्त सूचना दिने निकाय कुनै जिल्लामा छैन ।’

यसो हुनुका पछाडि खप्तड क्षेत्रका सिमाना जिल्लाहरू बझाङ, डोटी, अछाम र बाजुराका जनप्रतिनिधि राजनितिज्ञ, अगुवा, पर्यटन तथा होटल व्यवसायीहरूले समन्वयकारी भूमिका निभाउन नसक्नु पनि हो ।

खप्तडको प्रशंसा लिन खिचातानी गर्ने तर चिनाउनका लागि चाहिने आवश्यक सेवा सुविधाका लागि ध्यान नदिने गरेका कारण पर्यटकले अहिलेको अवस्थामा पनि दुःख खेप्नुपरेको गुनासो गर्छन् । ‘प्रस्ट, पर्याप्त सूचना बोर्ड राख्नु कुन ठूलो कुरा हो र ? सामान्य लागे पनि कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीले भोगेका छौं, जिल्लावासी नेतृत्व तहले ध्यान देओस्,’ खप्तड घुमेर फर्केका काठमाडौं जडीबुटीका प्रतिरोध सुवेदीले भने ।

बझाङको खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्कबहादुर रोकाया पर्यटकका समस्याहरूलाई दिनप्रतिदिन सुल्झाउन स्थानीय सरकारले आफ्नो तहबाट लागिपरेको बताउँछन् । ‘होर्डिङ बोर्ड राख्ने, पर्याप्त सूचनाका सामग्रीहरू तयार गर्न काम थालिसकेका छौं,’ उनले भने, ‘गाउँको ठाउँ, भौगोलिक विकटताले गर्दा भनेजसरी खान, बस्न हिँड्न सजिलो छैन तर सहज बनाउन व्यवसायीहरूसँग सहकार्य थालिसकेका छौं ।’

खप्तड पुग्न प्रयोग हुने ४ जिल्लाका बाटामध्ये बझाङ हुँदै जानका लागि सबैभन्दा नजिक पर्ने भएकाले पनि गाउँपालिकाले चासो लिएको छ । बझाङ सदरमुकामदेखि खप्तडछान्नाकै दारुगाउँसम्म १० किमि मोटरबाटो सञ्चालनमा छ । यहाँबाट खप्तड राष्ट्रिय निकुञ्जमुनि लोखडासम्म ४ किमि मोटरबाटो जोड्नका लागि प्रदेश सरकारसँग गाउँपालिकाले पहल गरिसकेको छ । लोखडाबाट दुई घण्टा उकालो चढेपछि सहजै खप्तड पुग्न सकिने अध्यक्ष रोकायाले बताए ।

खाना र आवासकै झन्झट
स्थानीयले दिएको अनुमानित सूचनाका आधारमा कठोर र जोखिमयुक्त यात्रा गरेर खप्तड पुग्ने पर्यटकका लागि खाना र बस्न पनि सहज छैन । सुत्नका लागि गेस्ट हाउसहरू भए पनि जीर्ण छन् । उचाइमा पर्ने भएकाले उसै पनि चिसो हुने खप्तडमा जीर्ण अवस्थाका रहेकाले रात कटाउन निकै गाह्रो हुने गरेको पर्यटकहरू गुनासो गर्छन् ।

‘कोठाहरू काठले बारेपनि प्वालै प्वाल भएकाले चिसो पर्छ, सानो म्याट्रेसका भरमा चिसो भुइँमा रात कटाउन मुस्किल पर्छ,’ काठमाडौंबाट घुम्न आएकी रस्मिला क्षेत्रीले भनिन । खप्तड पर्यटकीय क्षेत्र मात्रै नभएर धार्मिक महत्त्व बोकेको क्षेत्र हो । वृद्ध उमेरका मानिसहरू धर्मकर्मका लागि खप्तड आउन रुचाउँछन् ।

अभिभावकहरू आफ्ना बालबालिकालाई घुमाउन चाहन्छन् । खाने, बस्ने र सुत्ने पर्याप्त व्यवस्था नहुँदा धेरैले आफ्ना चाहना पुरा गर्न पाएका छैनन् ।

खान, बस्न र सुत्नकै अभावले एकपटक आइसकेका पर्यटक दोस्रोपटक पुग्न हिच्किचाउँछन् । खान नपाएर कतिपयले भोकभोकै फर्कनुपर्ने गुनासो गर्छन् । यो समस्या खप्तडको मात्रै होइन ।

खप्तड जाने र फर्कने कतिपय बाटाहरूमा त होटलै छैनन् । डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र खडकाले भने, ‘एकैपटक ३०/३५ जनाको टोली गइदियो भने सबै एकै होटलमा कोचिएर बस्नुपर्छ ।’

प्रकाशित : वैशाख ९, २०७६ ०८:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सातामा कारोबारको पहिलो दिन (आइतबार) बजारमा करिब अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भए । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३५ प्रतिशतले बढी हो ।

करिब डेढ महिनापछि सेयर बजारमा एकैदिन अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । दिनभरको कारोबारमा नेप्से ३१.८९ अंकले बढेर १ हजार २ सय ६४.२० विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २.५९ प्रतिशतको वृद्धि हो ।

नयाँ वर्ष ०७६ को आगमनसँगै नेप्से लगातार रूपमा उकालो लागिरहेको छ । यो अवधिमा व्यपारसँगै कारोबार पनि बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा दिन सुरु गरेको, विभिन्न विश्लेषणहरूले सेयर बजार बढ्ने प्रक्षेपण गरेको, कम्पनीको तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन सकारात्मक आउने संकेत देखिएको छ । उल्लिखित कारणले लगानीकर्ताको मनोविज्ञान बढ्दै गएकाले बजारमा लगानी बढेको जानकारहरू बताउँछन् ।

उक्त दिन निर्जीवन बिमा र उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका परिसूचक बढे । तीमध्ये बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी ४.१ प्रतिशतले उकालो लाग्यो । केही सातायता लगानीकर्ताको आकर्षण बैंकिङ समूहको सेयरमा देखिएको छ । राम्रो प्रतिफल आउने कम्पनीका सेयर न्यून मूल्यमा पाइने भएकाले लगानीकर्ताले वाणिज्य बैंकको सेयरमा लगानी बढाएका हुन् ।

परिसूचक बढेपछि कुल बजार पुँजीकरण पनि बढेर १५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ । आइतबार १ सय ७१ कम्पनीको सेयर कारोबार भयो । तीमध्ये १ सय ८ कम्पनीको सेयर मूल्य बढ्यो, ४६ कम्पनीको सेयर मूल्य घट्यो र बाँकी १७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT