गर्मीले ततायो लस्सीको बजार

सजना बराल

काठमाडौँ — घरका लागि सामान किन्न असन आएका बानियाँटारका रामप्रसाद न्यौपाने (६५) मंगलबार इन्द्रचोकको लस्सी पसलअगाडी भेटिए । लस्सी खानेहरूको भिडमा उनी पनि ठूलो ग्लास लस्सी घटघटी पिउँदै थिए । 

गर्मीले ततायो लस्सीको बजार

‘जिब्रोलाई स्वाद पर्‍यो,’ पहिलो पटक लस्सी चाखेका उनले भने, ‘दाम गए नि खाइपर्दो चिज रहेछ । यता आको बेला सधैं खाइन्छ अबदेखि ।’ उनीजस्ता सन्तुष्ट ग्राहककै कारण इन्द्रचोकका लस्सी पसल सधैं व्यस्त हुने गरेका छन् ।


बिहान ९ देखि साँझ ८ बजेसम्म आकाश भैरव मन्दिर परिसरमा लस्सी खानेहरू ओइरिन्छन् । त्यहाँ सधैं लस्सी मगमगाइरहेको हुन्छ । अहिले तापक्रम बढेसँगै लस्सीको व्यापार थप उकालिएको छ । व्यापारीहरू कसौंडीमा घोलिएको लस्सी डाडुले उघाउँदै प्लास्टिकको ग्लास भर्न व्यस्त हुन्छन् । ग्राहकहरू ठेलमठेल गर्दै लस्सी किन्दै गरेका देखिन्छन् । नयाँ लस्सी पसल थपिएपछि अहिले त्यहाँका व्यापारीमाझ प्रतिस्पर्धासमेत बढेको छ । सबै पसलमा देखिने भीडले त्यहाँको लस्सी कति प्रख्यात छ भन्ने बुझाउँछ । बसेर खाने ठाउँसमेत नभए पनि कसैलाई गुनासो छैन । यो यसरी नै चलेको छ ।


आकाश भैरवभन्दा अलि पर्तिरको जनकपुर दही लस्सी भण्डारमा पनि लस्सी खानेहरू लाइन लागेका हुन्छन् । वसन्तपुर, न्युरोड, असन पुगेकाहरू प्रायः इन्द्रचोकको लस्सी पिएर फर्किन्छन् । ‘गर्मीमा लस्सीले शीतल गर्छ,’ मैतीदेवीकी कल्पना क्षत्रीले भनिन्, ‘कोक, चिया–कफी खानुभन्दा लस्सी स्वस्थकर पनि छ ।’ भिजन गर्ल्स होस्टलकी सञ्चालक उनी मंगलबार किनमेलका लागि असन छिरेकी रहिछन् । त्यही मौकामा एक–एक ग्लास लस्सी पिएको उनले बताइन् ।


इन्द्रचोकमा सुनीलमान सिंहले दस वर्षअघि पहिलो पटक लस्सी पसल थापेका थिए । उनका अनुसार त्यो बेला लस्सी मात्रै बेच्ने पसल काठमाडौंमा थिएनन् । होटल, रेस्टुरेन्टमा मात्रै लस्सी पाइन्थ्यो तर त्यो खास प्रख्यात थिएन । अहिले लस्सी पसल रहेको ठाउँमा सिंह त्यो बेला चकलेट बेच्थे । व्यापार राम्रो थिएन । ‘रेस्टुरेन्टतिर लस्सी खाएपछि मलाई यो व्यापार चल्छ कि जस्तो लाग्यो,’ सिंहले भने, ‘सुरुमा त्यति राम्रो भएन तर बिस्तारै व्यापार बढ्यो ।’ अहिले आएर व्यापार यति सप्रिएको छ कि उनी एक्लैले पसल चलाउन नसकेर स्टाफ राखेका छन् । उनले हाल चार जनालाई रोजगार दिएका छन् । तीमध्ये एक जनाको त कामै भीड हटाउने हो ।


सिंहको ‘मीठो लस्सी पसल’ मा दिनको करिब तीन सय लिटर दही, ५ किलो काजु र १० किलो किसमिस खपत हुन्छ । एक सानो ग्लास लस्सीलाई ४५ र ठूलोलाई ८० रुपैयाँ तिर्न ग्राहक झिँजो मान्दैनन् । ‘यहाँको लस्सी बाक्लो र स्वादिलो हुन्छ,’ गौरी गुरुङले भनिन्, ‘स्वादअनुसार पैसा पनि ठिकै लाग्छ ।’ रिचमन्ड इन्टरनेसनल कलेजमा पढ्ने गौरीले पाँच वर्ष अघिदेखि इन्द्रचोकको लस्सी पिउन थालेको बताइन् । स्वाद कहिल्यै नखस्किएकामा उनलाई चित्त बुझेको रहेछ ।


सुनील दिनको १२ सय कपसम्म लस्सी बेच्छन् । एक ठूलो ग्लासको ८० रुपैयाँ पर्ने हुँदा उनले दिनमा करिब १ लाख रुपैयाँको लस्सी बेच्ने गरेको देखियो । यो व्यापारले आफूलाई सन्तुष्टि दिएको उनले बताए । उनको पसलमा भीड लागेपछि छेउछाउमा पनि लस्सी दोकान खुल्ने क्रम बढेको छ । इन्द्रचोक चाँडै लस्सी चोक हुन लागेको भन्दै स्थानीयहरू हाँसो गर्छन् । ‘मेरो किराना पसल थियो पहिले,’ सुनीलकै पसलको आडमा अर्को लस्सी पसल थापेका भरतमान सिंहले भने, ‘अस्ति वैशाख १ गतेदेखि किराना पसल हटाएर लस्सी बेच्न थालेको हुँ ।’


छेउको लस्सी पसलमा अत्यधिक भीड हुने र आफूकहाँ मन्दी भएपछि उनले बाध्य भएर लस्सी बेच्न थालेको सुनाए । भरतमानले १ सय २५ वर्ष पुरानो आफ्नो किराना पसल हटाएर लस्सी बेच्नु पर्ला भनेर सोचेका थिएनन् रे । ‘लस्सीकै माग छ यहाँ, म के गरूँ ।’ उनले भने, ‘बाध्यताले गरेको काम भए पनि लस्सीको व्यापारले म खुसी छु ।’ उनीकहाँ दिनमा १ सय लिटर दहीको ५ सय कपसम्म लस्सी बिक्री हुन्छ । यसरी हेर्दा उनले चार दिनमै करिब डेढ लाख रुपैयाँको लस्सी बेचिसकेका छन् । एक्लैले किराना पसल चलाएका उनले लस्सी बेच्न थालेपछि दुई जना स्टाफसमेत राखेका छन् ।


इन्द्रचोककै अर्को व्यस्त लस्सी पसल हो, जनकपुर दही लस्सी भण्डार । शिवशंकर प्रसाद साहले नौ वर्षअघि यो पसल खोलेका थिए । सुरुवाती दिनमा उनी २५ रुपैयाँमै ठूलो ग्लास लस्सी बेच्थे । सानालाई १५ रुपैयाँ लिन्थे । महँगी बढेपछि भाउ बढाउँदै लगेको उनले बताए । ‘यसपालि राम्रो व्यापार भइरहेको छैन,’ साहले भने, ‘पानी परेको पर्‍यै छ । दिनको २०/२५ हजार रुपैयाँको मात्रै लस्सी जान्छ ।’ वैशाखदेखि असोजसम्म लस्सी धेरै बिक्ने गरेको उनले सुनाए । पोहोरतिर यो मौसममा प्रतिदिन ३०/३५ हजार रुपैयाँको व्यापार हुने गरेको उनले बताए ।


‘हामीले सुरु गर्दा काठमाडौंमा लस्सी पसल थिएनन्,’ उनले भने, ‘अहिले २/३ सय वटा यस्ता पसल छन् । चोक–चोकमै लस्सी पसल खुलेपछि ग्राहक बाँडिए ।’ आफैंले दही जमाएर लस्सी बनाउने भएकाले जनकपुर दही लस्सीको स्वाद अरूको भन्दा विशेष रहेको साहको दाबी छ । सुनीलमानले भने डेरीबाट स्पेसल दही लिन्छन् ।


भरतमानले चाहिँ भक्तपुरको दहीले लस्सी बनाउने गरेको दाबी गरे । ‘दही कस्तो हो, त्यसमै लस्सीको स्वाद भर पर्छ,’ सुनीलमानले भने, ‘यो फास्ट व्यापार हो । ग्राहक आउँछन्, किन्छन्, खान्छन्, जान्छन् । फटाफट व्यापार हुन्छ ।’ प्रतिस्पर्धा बढेपछि उनले अब पसल दर्ता गरेर लोगो बनाउने अनि लोगो छापिएको ग्लासमा लस्सी बेच्ने योजना बनाएका छन् ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?