कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

वैकल्पिक मार्गमा स्थानीयको लगानी

'हाम्रो मात्रै प्रयासले पिच गर्न सकिन्न, गाउँपालिकाबाट हुने सहयोगमा कञ्जुस्याइँ गरेकै छैनौं’
दिप्ती सिलवाल

पर्वत — अवरुद्ध भइरहने मध्यपहाडी लोकमार्गको धौलागिरि प्रवेशद्वारदेखि डिमुवासम्मको करिब पाँच किलोमिटरको वैकल्पिक मार्ग स्थानीयले खुलाएका छन् । दैनिकजसो घन्टौं आवागमन अवरुद्ध पारेर सडक चक्ल्याउने काम भइरहेकाले यात्रीले समस्या भोग्न थालेपछि गत माघमा स्थानीयले गाउँपालिकाको सहयोगमा ट्र्याक खोलेका थिए । 

वैकल्पिक मार्गमा स्थानीयको लगानी

मोदी २ देउपुरको पातीचौर–राहाले–टापु–गौंडा–टिमुरे हुँदै बेतेनीसम्मको करिब ५ किलोमिटर वैकल्पिक ट्र्याक यतिबेला स्थानीयकै श्रमदान र लगानीमा स्तरोन्नति भइरहेको छ । सडकको बेतेनीदेखि डिमुवासम्मको खण्ड सहज हुँदा पनि जोखिमको क्षेत्र हो ।


२०७२ वैशाख १२ को भूकम्पपछि बेलाबेला सडकमाथिको भीरबाट खस्ने सुक्खा पहिरो र ढुंगाले सवारीलाई यात्रा सहज हुँदैन । पाँच किलोमिटर सडकमाथिको पहरोबाट खस्ने पहिरोबाट यात्रा सहज बनाउन सुरु गरेको पहलमा साथ दिन यहाँका बासिन्दाले मोदी गाउँपालिका, गण्डकी प्रदेश र केन्द्र सरकारसँग आग्रह गरेका छन् ।


तत्कालीन सांसद एवं संविधानसभा सदस्य कल्पना चापागाईं, मोदी २ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिना, मध्यमोदी जलविद्युत् आयोजना, स्थानीय युवा क्लब, सामुदायिक वन र आमा समूहको सहयोगमा ३ वर्षदेखि सुरु गरेको यो सडक गत माघमा ट्र्याक खुलेको हो ।


सडकको ट्र्याक खुलाउन चापागाईंले ३ वर्षअघि नै सांसद विकास कोषको १० लाख सहयोग गरेकी थिइन् । उक्त रकम अभाव भएपछि गत वर्ष वडाध्यक्ष विकास तिमिल्सिनाले वडा तथा गाउँपालिकाको स्रोतबाट आठ लाख बजेट विनियोजन गरेका थिए ।


कडा चट्टान र पहरा फुटाउनुपर्ने भएकाले उक्त रकमसमेत कम भएपछि स्थानीय भटुने सामुदायिक वन उपभोक्ता समूहले डेढ लाख, प्रगतिशील आमा समूहले दुई लाख नगद सहयोग गरेका थिए । देउपुरकै आदर्श युवा क्लबले सडकको डिजाइन खर्च क्लबको आन्तरिक स्रोतबाट जुटाएको सडक निर्माण समितिका अध्यक्ष रघुनाथ चापागाईंले बताए ।


‘सडक मर्मतको केही पैसा थियो,’ वडाध्यक्ष तिमिल्सिनाले भने, ‘यहाँ वैकल्पिक सडक अति आवश्यक देखिएपछि त्यसमै खर्चियौं ।’ देउपुरभरका सडक मर्मतमा आएको बजेट वैकल्पिक मार्गमा खर्चन देउपुर सडक सञ्जाल सुधार समितिका अध्यक्ष खिमबहादुर केसीले समेत सहयोग गरेको उनले बताए । यो वर्ष मात्रै साढे दुई किलोमिटर सडकको पुरानो ट्र्याक मर्मत र नयाँ ट्र्याक सुधारमा करिब १२ लाख खर्च भएको निर्माण समितिका सचिव संगम चापागाईंले जनाए ।


वैकल्पिक सडक पातीचौरदेखि राहालेसम्म करिब साढे २ किलोमिटर पुरानै सडक छ । यो सडक देउपुरकै मैदानसम्म कालोपत्रे हुँदै छ । राहालेबाट उत्तरतर्फ मोडिएर अढाई किलोमिटरमा बेतेनी पुगिन्छ । मध्यपहाडी मार्गको मुख्य सडकको पातीचौरदेखि बेतेनीसम्म पुग्ने समयमा वैकल्पिक मार्गबाट समेत पुग्न सकिने सरोकारवालाको दाबी छ ।


अन्यत्रभन्दा केही भिरालो यो सडकको दुवैतर्फ पक्की नाली र केही फराकिलो बनाउन सके दैनिक सयौं सवारीको याक्रा जोखिममुत्त हुनेछ । अपेक्षित स्तरवृद्धि गर्न स्थानीय तहले चासो देखाएको भए पनि बजेट अभावले काम अघि बढ्न नसकेको वडाध्यक्ष तिमिल्सिनाले बताए ।


स्थानीय अगुवा सूर्यप्रसाद शर्माका अनुसार केही समयअघि गाउँपालिकाको एक कार्यक्रममा आएका राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र संघीय सांसद पदम गिरीले वैकल्पिक सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका थिए ।


‘उहाँहरूले मौखिक प्रतिबद्धता जनाउनुभएको छ,’ शर्माले भने । सडक बाह्रै महिना सञ्चालन भएमा देउपुरमा उत्पादित करोडौंका सुन्तला, तरकारी, अदुवा, बेसार, कफी तथा दूध र पशुजन्य उत्पादन बजार पठाउनसमेत सहज हुने देउपुरवासीको अपेक्षा छ ।

यो सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउन पर्वत प्रशासन, मध्यपहाडी लोकमार्ग आयोजना र प्रदेश सरकारमा औपचारिक जानकारी गराइसकिएको भटुने सामुदायिक वनका अध्यक्ष प्रतापराज शर्माले बताए ।


मोदीका अध्यक्ष प्रेम पौडेलले यो सडकलाई प्रयोगमा ल्याउन गाउँपालिकाले भरपुर सहयोग गरेको बताए । ‘हाम्रो मात्रै प्रयासले पिच गर्न सकिन्न,’ उनले भने, ‘यहाँबाट हुने सहयोगमा कञ्जुस्याइँ गरेकै छैनौं ।’ गाउँपालिकामा हुने सानो बजेट सबैतिर वितरण गर्नुपर्ने बाध्यताले एकै ठाउँमा ठूलो सहयोग गर्न नसकिएको उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?