कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अपर नौगाडको विद्युत् छिट्टै

मनोज बडू

दार्चुला — नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड साना जलविद्युत् आयोजनाले एक महिनाभित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ । ८ मेगावाट क्षमताको यो आयोजनाको सिभिलतर्फको काम अन्तिम चरणमा पुगेको छ । हाइड्रो मेकानिकतर्फको केही काम भने अझै बाँकी छ । 

‘समग्रमा आयोजनाको ९५ प्रतिशत काम सकिएको छ,’ अपर नौगाड आयोजनाका इन्चार्ज मधुसूदन कोइरालाले भने, ‘दुई युनिटमा जडान हुने यो आयोजनाले एक महिनाभित्र एक युनिटबाट विद्युत् उत्पादन गर्ने गरी तयारी हुँदै छ ।’ यसअघि चैतभित्रै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो । साउन २७ गतेको बाढी र प्राविधिक कारणले केही ढिलो भएको कोइरालाले बताए । ‘पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्ज ट्यांक निर्माणको कार्य भइरहेको छ,’ उनले भने, ‘कुनै समस्या नआएमा वैशाखमै एक युनिटबाट विद्युत् उत्पादन सुरु हुन्छ ।’


पावरहाउसमा ४/४ मेगावाट क्षमताका दुइटा युनिट राखिने आयोजनाले जनाएको छ । साउनमा आएको बाढीले आयोजनाको पानी फिट्ने रनर बगाउँदा विद्युत् उत्पादनमा विलम्ब भएको हो । ‘खोलाले बगाएको रनर नेपालमा बन्दैन । यसलाई बनाउन भारत लैजानुपर्छ,’ कोइरालाले भने, ‘भारतबाट बनाएर ल्याउँदा अलि समय बढी लाग्ने भयो ।’ पहिलो युनिटबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु हुने र अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्न थप एक महिना लाग्ने आयोजना इन्चार्ज कोइरालाको भनाइ छ ।


२०७५ साउनको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएकाले चैतभित्रै निर्माण सम्पन्न हुन नसकेको हो । साउनको बाढीले मात्रै आयोजनामा १० करोडको क्षति भएको आयोजनाको दाबी छ । अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको यो आयोजनामा हाल ९५ प्रतिशत भौतिक प्रगति पूरा भएको कोइरालाले बताए ।


नौगाड गाउँपालिका ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगेर सुकेखोलाको पावरहाउसमा खसालिनेछ । पाइपलाइन (पेनस्टक) को लम्बाइ ५ किलोमिटर छ । २०७३ असोजदेखि निर्माण सुरु भएको आयोजनाको लागत १ अर्ब ४४ करोड रहेको इन्चार्ज कोइरालाले जानकारी दिए ।


अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका १ बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको चमेलिया सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । यसका लागि ९ किलोमिटर लामो ३३ केभीए प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको आयोजना इन्चार्ज कोइरालाले बताए । यसअघि प्रथम नौगाड जलविद्युत् आयोजनाले सुदूरपश्चिमका पहाडी जिल्लामा लोडसेडिङ हटाउन नेपाल विद्युत् प्राधिकरणलाई ठूलो मद्दत गरेको कोइरालाको भनाइ छ ।


नौगाड प्रथम जलविद्युत्ले वार्षिक १५ करोड रुपैयाँ बराबरको विद्युत् उत्पादन गरिरहेको छ । अपि पावर कम्पनी लिमिटेडले यसअघि शैल्यशिखर नगरपालिका २ मा साढे ८ मेगावाट क्षमताको नौगाड प्रथम जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ । २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको उक्त जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरिकै नमुना योजना रहेको कोइरालाको दाबी छ ।


नौगाड प्रथम जलविद्युत आयोजना १८ महिनामै निर्माण सम्पन्न गरिएको अपि पावर कम्पनीले जनाएको छ । अपि पावर कम्पनीले दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना निर्माणको तयारी पनि गरेको छ । ‘अहिले शेयर जारी गरेर पूँजि संकलनमा लागेका छौ,’ कोइरालाले भने, ‘यसमा स्थानीयले लगानी गर्न सक्ने छन् ।’ अपी चमेलिया पावर लिमिटेड मार्फत शेयर निष्काशन गरेको छ । ७ अर्व २० करोड लागत अनुमान गरेको यो आयोजनामा सबै नेपालीले लगानी गर्न सक्ने जनाइएको छ ।

प्रकाशित : चैत्र २९, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?