कफी खेती फैलिँदै

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका १ तिनधारेका तिलबहादुर कार्कीले कफी खेतीका लागि बिरुवाको नर्सरी राख्न थालेका छन् । माटो बनाउने मल लगाउने र ड्याङ बनाएर रोपेको दाना जेठ–असारमा उम्रने भएकाले उनले अहिलेदेखि दल राख्न थालेका हुन् ।

कफी खेती फैलिँदै

कफीखेतीका नमुना किसानमध्येका एक उनले व्यक्तिगत प्रयोजन र बिक्रीका लागि पनि प्रत्येक वर्ष बिरुवा उमार्छन् ।

तिलबहादुका अनुसार दल राख्नका लागि माटो र मलको मात्रा मिल्नुपर्छ । चिस्यान राखिराख्न प्रत्येक साँझ या त दुई दिनको अन्तरमा सिँचाइ गर्नुपर्छ । दल राख्ने कफीको दाना टिप्तै छुट्याएर टिप्नुपर्छ । राम्ररी पाकेको, पोटिलो दाना टिपेर बियाँ बनाएर त्यसको दल राखे बिरुवा राम्रो उम्रने र हुर्कन पनि छिटो हुने उनको अनुभव छ ।


अरू किसानकामा पनि चाँडै फैलियोस् भनेर बिक्रीका लागि राखिने नर्सरी तयारी गर्ने बेलादेखि नै दाना, मल, माटो, बालुवा, पानी र नर्सरीलाई विशेष ध्यान दिनुपर्ने कार्की बताउँछन् । उनका अनुसार नर्सरी तयार गरेको ठाउँको माटोमाथि छानेको मल लगाउनुपर्छ ।


मलको माथि पातलो गरी बालुवा छरिदिनुपर्छ । त्यसमा बीउलाइ घोप्टो पारेर रोप्नुपर्छ र रोपेको दाना माटो र मलले अलिअलि छोपिदिनुपर्छ । त्यसको माथि सुकेको पतझरको छापो राख्नुपर्छ । सिँचाइ त्यसको माथिबाट गर्नुपर्छ । यसरी राखेको नर्सरीमा ४५ दिनदेखि २ महिनासम्ममा बिरुवा उम्रिसक्छ ।


नगदेबालीमध्येमै कफी अहिलेको राम्रो आम्दानीको स्रोत भएको हाङदेवाका किसान देवेन्द्र मादेन बताउँछन् । यसको बिक्रीमा समस्या छैन । प्रत्येक वर्षको मंसिर १ गते कफी विकास बोर्डले यसको समर्थन मूल्य निर्धारण गर्छ ।

यो वर्ष बोटमा उत्पादन भएको दाना जस्ताको तस्तै बिक्री गरे प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको थियो ।


किसानले भने एक सय रुपैयाँसम्ममा बिक्री गरे । बोटमा फलेको ताजा यस फललाइ चेरी भनिन्छ । त्यसको बोक्रा फालेपछिको मूल्य ए ग्रेडको ४ सय २५ र बीको ४ सय १० रुपैयाँ निर्धारण गरिएको कफी विकास बोर्डको सूचना केन्द्रमा उल्लेख छ । यो अघिल्लो वर्षको तुलनामा २० रुपैयाँले बढी हो । बोक्रा फालेपछिको दानालाइ पार्चमेन्ट भनिन्छ ।


८ देखि १० पातको भएपछि रोपिने कफीले दुई वर्षदेखि सामान्य र तीन वर्षदेखि राम्रो आम्दानी दिन थाल्छ । रोपेको पाँच वर्षदेखि भने पूर्ण आम्दानी लिन सकिन्छ । साढे दुई मिटरको अन्तरमा रोपिने कफीलाई एक–एक फिटको खाल्टो बनाउनुपर्छ । खाल्टोमा रोप्नुअघि मल र माटोको मात्रा मिलाउनुपर्छ ।


मलपानीको मात्रा पुर्‍याउन र बिरुवालाई झाँगिन दिन रोपाइँको अन्तरमा विशेष ध्यानदिनुपर्ने किसानलाई कफी खेतीसम्बन्धी तालिम दिँदै आएको संस्था वातावरण संरक्षण तथा विकास मञ्चका कृषिविज्ञ हरिश्चन्द्र चिलवाल बताउँछन् । चिलवालका अनुसार एक रोपनी क्षेत्रफलमा एक सय बोट कफीका बिरुवा लगाउन सकिन्छ ।


राम्ररी स्याहार पुर्‍याए एउटा बोटमा ८ देखि १० किलोसम्म फल्छ । कम्तीमा ८ सयदेखि हजार किलोसम्म उत्पादन हुने क्षेत्रमा अहिलेको बजार मूल्यअनुसार ८० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ । एउटै बोटमा १५ किलोसम्म पनि उत्पादन लिएको मादन बताउँछन् ।


चिलवालका अनुसार अहिलेको कफीको बजार मूल्य अरू बालीको तुलनामा सबैभन्दा राम्रो छ । चिसो हावापानी र अर्गानिक उत्पादन भएकाले अरू देशको तुलनामा नेपालको कफीलाई राम्रो मूल्य दिएको चिलवाल बताउँछन् । उनका अनुसार माग पनि प्रसस्तै छ । कुनै पनि किसानले बजारको समस्या झेल्नुपर्दै छ । ८ देखि १६ सय मिटरसम्म कफीको उत्पादन राम्रो हुने गरेको छ ।


कफी छायाँदार रूखको फेदमा फस्टाउँछ । लप्सी, सिरिस, दाना, लामपातेको रूख यसका लागि राम्रो हुने चिलवाल बताउँछन् । इलाममा रहरको दाल र कफी खेतीसँगै गरिएको उनले बताए । कार्कीले भने सुन्तलाको फेदमा लगाएका छन् । २० मिटरको अन्तरमा रहेको सुन्तला बगानको बीचमा कफी खेती छ ।


आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनका किसान पूर्ण सिटौलाले भने सुन्तला र अलैंचीको बीचमा कफी लगाएका छन । ५० वर्षसम्म टिक्ने कफीको बोट प्रत्येक १२ देखि १५ वर्षको बीचमा काटेर माथिल्लो भाग फाल्नुपर्छ ।

टुप्पातिरको तीन फुटसम्म काटिदिएपछि त्यसमा फेरि पलाएको हाँगाले फल दिन्छ । फाल्ने भाग भने दाना टिपिसकेपछि मात्रै काट्नुपर्ने विज्ञहरू बताउँछन् ।


फल राम्रो बनाउने तरिका

अहिलेसम्म अरबिका र रोबस्टा गरी दुई जातको खेती हुने गरेको छ । नेपालको धेरै खेती अरबिकाको छ । पटकपटक गरेर टिप्नुपर्ने कफीको दाना टिपिसकेपछि सफा पानी भाँडोमा राखेर त्यसमाथि कफीको दाना लगाउनुपर्छ । पानीमा तैरिएको दानालाइ छुट्याएर फालिदिनुपर्छ । त्यस्तो दानामा किरा, घुन लागेको हुन्छ र राम्रो गुणस्तर हुँदैन ।


नतैरिएको दानालाइ पल्पर मेसिनमा लगाएर बोक्रा र भित्रको दाना छुट्याउनुपर्छ । यसरी छुट्याइएको दानालाइ दिउल भनिन्छ । बोटबाट टिपेको २४ घण्टामा छुट्याइसक्नुपर्ने मान्यता रहेको छ । नत्र गुणस्तरमा ह्रास आउँछ ।


दिउललाई प्लास्टिकको भाँडामा राखेर गुम्स्याउनुपर्छ त्यसमा रहेको लेदो फाल्नुपर्छ । यस्तो लेदोलाई पार्चमेन्ट भनिन्छ । दिउललाइ कफी बनाउन भने विशेष मेसिनमा राख्नुपर्छ जुन किसानका लागि अहिलेसम्म सम्भव भएको छैन । व्यापारीहरूले मेसिन राखेर दिउलबाट कफी बनाउने गरेका छन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?