सुन्तला बगान स्याहार्दै पूर्वकमान्डर

हरिराम उप्रेती

गोरखा — फल टिपेर सकेसँगै सुन्तलाका बोट स्याहार्न किसान यतिबेला व्यस्त छन्  । फुल्नु अगावै सुन्तला काँटछाँट र मलजल गर्न किसानलाई भ्याइनभ्याई छ  ।

सुन्तला बगान स्याहार्दै पूर्वकमान्डर

पकेट क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत नै सुन्तला बनेको छ । सुन्तला खेतीको लागि प्रख्यात रहेको गोरखा नगरपालिका १४ देउरालीको भट्टबेंसीका किसानको यतिखेरको दैनिकी पनि सुन्तला बारीमै बित्ने गरेको छ । जमिनका किरा बोटको टुप्पोसम्म पुग्नबाट बचाउन फेदमा बोडोपेस्ट लगाउने र जमिन ओसिलोका लागि स्याउला बिछ्याउँदै गरेका किसान बारीमा भेटिन्छन् ।


भट्टबेंसीमा वर्षौंदेखिका अनुभवी र व्यावसायिक सुन्तला खेती गर्दै आएका पाका किसानका हुलमा शनिबार एक युवा भेटिए । ३२ वर्षीय जितबहादुर भुलन । मकवानपुर साविकको छतिवन गाविस ६ हाल हनर्मामाडी गाउँपालिका ८ बाट आएर सुन्तला खेती थालेका भुलनको लगाव देखेर गाउँले पनि छक्क छन् । चार वर्षको अवधिमा झाडीले ढाकेको बगैंचा हरियाली बनेको छ ।


परिश्रमको फल आम्दानी पनि वर्षैपिच्छे बढदै गएको छ । आम्दानी बढदै जाँदा सुन्तला स्याहारमा भुलनको लगाव अझै बढेको छ । उक्त क्षेत्रमा अन्य किसानको तुलनामा चर्चा पनि भुलनकै बढी छ । कारण तत्कालीन माओवादीका सेक्सन कमान्डर हुन् भुलन ।


द्वन्द्वरत तत्कालीन माओवादीको कार्यक्रमका तुल, ब्यानर र भित्तेलेखनमा सघाउँदै आएका भुलन २०६१ सालमा पूर्णकालीन बने । ‘पार्टीका साथी आउँथे, घरमै बसेर उहाँहरूको काम गरिदिन्थें, समय क्रमले भूमिगत हुनुपर्‍यो, सुरुमा जनमिलिसिया हुँदै सेक्सन कमान्डरसम्म बनें,’ उनले भने, ‘बीचमा रनर विभाग (समाचार ल्याउने लाने) मा पनि काम गरें ।’


शान्ति प्रक्रिया सुरु भएपछि मकवानपुरबाट चितवनको जुटपानी क्यान्टोनमेन्ट सरेका भुलनले देउरालीकी अनिता शाहसँग चिनजान भयो । मायाँ बस्यो । क्यान्टोनमेन्टमै प्रेम विवाह गरे । ‘मेरी श्रीमती त्यतिखेर प्लाटुन कमान्डर थिइन्,’ उनले भने, ‘सेना समायोजनको क्रममा स्वैच्छिक अवकाश राज्यौं, बूढाबूढीले ५–५ लाख रुपैयाँ पाएका थियौं ।’


स्वैच्छिक अवकाशमा आएको केही रकम घरखर्चमै सकिएपछि बचेको केही रकम मेनवावरमा बुझाएर ०६९ मा भुलन वैदेशिक रोजागारीका सिलसिलामा कतार पुगे । ‘श्रीमतीको पैसाले चितवनमा केही जग्गा खरिद गरेको थिएँ, मेरो आधाआधी पैसा घरखर्चमै सकियो,’ उनले भने, ‘बीचको समय आर्टको काम गर्दै थिएँ, विदेश जाने सोच आयो, कतारमा स्टिल फिक्स्चरको काम गर्न गएँ ।’


डेड वर्षपछि काम गर्ने कम्पनीका मालिकसँग तलबको विषयमा विवाद भएपछि स्वदेशी भूमि फर्कने उनले निधो गरे । ‘बिल्डिङका पिल्लर हाल्ने, जाली बनाउने काम गर्थें, एक हजार रियाल तलब थियो, दुई सय रुपैयाँ बढादिनु भन्दा साहुले मानेनन्,’ उनले भने, ‘अरूले अराएको काम गर्न म त्यसै पनि सन्तुष्ट थिइनँ, तलब पनि नबढेपछि नेपाल फर्किएँ ।’


विदेश छाडेर आएपछि के गर्ने उनी अन्योलमा थिए । ससुराली आउने क्रममा देउरालीको एक सुन्तला बगैंचा बिक्रीमा रहेको उनले सुने । ‘बगैंचा हेर्न बारीमा पुगेपछि विदेशभन्दा यहीँ केही गर्न सक्छु जस्तो आँट आयो, दुई लाखमा बगैंचा किन्ने निधो गरें,’ उनले भने, ‘अहिले जस्तो कहाँ थियो र झाडीले ढाकेको थियो, त्यस्तो काँडाघारी अहिले यस्तो बनाएँ ।’


मकवानपुरबाट आएका भुलनलाई सुन्तला खेतीबारे खासै जानकारी पनि थिएन । बुढीकोटी सुन्तला तथा कृषि समूहमा आबद्घ भए । ‘बिहे पछि पनि पहाड होला भनेर आउन डर लाग्थ्यो,’ उनले भने, ‘आएर बगैंचा नै किनिसकेपछि जसरी पनि मेहनत गर्नैपर्ने थियो, समूहमा आबद्घ भएपछि ०७२ मा सुन्तला खेतीको तालिम लिएँ ।’


विदेशी कमाइबाट बचेको केही रकमले सुन्तला खेती थालेका भुलनले फहिलो वर्षमै ५० हजारको सुन्तला बिक्री गरे । ०७३ मा १ लाख ८० हजार, ०७४ मा २ लाख २० हजार र यो वर्ष २ लाख ४५ हजारको सुन्तला बित्री गरे । ‘सुरुमा बोट हेर होइन बारी हेरेर बगैंचा किनेको हुँ,’ उनले भने, ‘परिश्रमअनुसार आम्दानी पनि बढदै गएको छ ।’


झन्डै सात रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेको उनले बताए । गर्दै जाँदा सुन्तला खेती गर्ने तरिका उनले सिक्दै छन् । छाडा गाईवस्तु र डडेलो चुनौती रहेको उनले गुनासो गरे । ‘आफ्नो जग्गामा तारबार लगाऊँ भन्यो त्यो नि महँगो पर्छ,’ उनले भने । अहिले उनी राजनीतितर्फ पनि खासै चासो दिँदैनन् । कृषि कर्ममै उनले जोड दिएका छन् ।


प्रकाशित : चैत्र ६, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?