१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

अप्ठेरोमा चिनियाँ अर्थतन्त्र

न्युयोर्क टाइम्स

बेइजिङ — पश्चिमी चीनको चङकिङ महानगरका तीन ठूला मोटर एसेम्ब्ली कारखाना अहिले सुनसान छन् । जिआङसु प्रदेशको पूर्वी भेगका सयौं रासायनिक कारखाना बन्द भएको धेरै भयो भने गुआङदोङ प्रदेशका उद्योगमा कामदारहरू काम नभएर फुर्सदिला बनेका छन् । समग्रमा भन्दा चीनको विशाल अर्थतन्क्र अहिले चिसिने त्रममा छ ।

अप्ठेरोमा चिनियाँ अर्थतन्त्र

सन् २०१८ को पछिल्ला तीन महिनामा चिनियाँ अर्थतन्त्र विश्व वित्तीय संकटयताकै सुस्त गतिमा चलेको चिनियाँ अधिकारीले बताएका छन् । चीनको वार्षिक आर्थिक विकासको दर यसपटक ६.५ प्रतिशतमा झरेको छ । अमेरिकासँगको व्यापार युद्धपछि विकासक्रम झनै सुस्ताएको छ । यो साता सार्वजनिक भएको तथ्यांक हेर्दा यहाँको उत्पादनमूलक क्रियाकलापमा नयाँ माग आउन छोडेको र खुद्रा बिक्री घटेको देखिन्छ ।


विगतमा चीनले आर्थिक मन्दीका बेला विश्वलाई सघाएको थियो । यस पटक आफैं कमजोर आर्थिक स्थितिमा पुगेको छ । ८ महिनायता अटोमोबाइल बजार सबभन्दा अप्ठ्यारोमा परेको छ ।


स्मार्टफोनको बिक्री घटिरहँदा घरजग्गा बजार गतिहीन बनेको छ । पश्चिमसँगको व्यापार द्वन्द्व र वैदेशिक लगानीमा बेइजिङको कडा नीतिका कारण स्थानीय र विदेशी कम्पनीलाई चीनमा लगानी गर्न गाह्रो परेको मानिन्छ । यसबारे चीनले यसै साता नयाँ ऐन पारित गरेपछि सहज हुने अनुमान गरिएको छ । ‘चीनमा युरोपेली लगानी घटदो छ,’ युरोपियन युनियनको ट्रेड कमिस्नर सेसिलिया मलम्स्ट्रम भन्छिन्, ‘प्रविधि हस्तान्तरण, पारदर्शिता अभाव, स्थानीय कम्पनीका दाँजोमा हुने विभेद आदिका कारण त्यहाँ व्यापार गर्न जटिल भएकाले यस्तो भएको हो ।’ चिनियाँ प्रधानमन्क्री ली कच्याङले शुत्रबार देशको अर्थतन्त्र सुस्ताउँदै गएको र यसबाट अनेक अप्ठ्यारा आउन सक्ने बताएका थिए । उनले विदेशमा सञ्चालित चिनियाँ प्रविधि कम्पनीले बेइजिङको आदेशमा त्यहाँको गुप्तचरी गर्ने कुरा झूट भएको पनि दाबी गरे ।


चिनियाँ अर्थतन्त्र अधोगतितर्फ ढल्केको भन्दै उनले अब बलियो कदम चाल्नु आवश्यक भएको अभिव्यक्ति दिएका थिए । ‘हामीले कडा उपाय अपनाएर यो अवस्थासँग जुध्नु छ,’ लीले भने, ‘कम्पनी करमा भारी कटौती होला । सरकारी बैंक र सरकारी उद्योगलाई बेइजिङसँग आफ्नो मुनाफा बाँड्न अनुरोध गरिनेछ ।’


उनले भनेजस्तो गर्न राजनीतिक रूपमा जटिल हुने देखिन्छ । कम्युनिस्ट पार्टीले राजनीतिक नियन्त्रण, आफ्ना लाखौं पार्टी सदस्यलाई रोजगारी प्रदान गर्न र आर्थिक मन्दीलाई अन्त्य गर्न सरकारी बैंक र संस्थामाथि भर पर्दा गाह्रो हुने अनुमान गरिएको छ । चीनले आफ्नो बजेट घाटा देशको आर्थिक उत्पादनको ३ प्रतिशतभन्दा कम राख्न चाहेको छ । स्थानीय सरकारले भने अस्पष्ट वित्तीय माध्यमबाट ऋण लिएर सरकारी दस्तावेजमा ऋण उल्लेख नगर्ने गरेको छ ।


ली सहभागी भएको सम्मेलनअघि चीनको संसद् नेसनल पिपल्स कंग्रेसले वैदेशिक लागनीसम्बन्धी नयाँ कानुन पारित गरेको थियो । यसलाई अमेरिकासँगको व्यापार वार्ता सहज गर्ने पहलका रूपमा समेत लिइएको छ ।


विदेशी उद्योगलाई चिनियाँ प्रतिस्पर्धीसरह कानुनी अधिकार प्रदान गर्न ट्रम्प प्रशासनले चीनलाई दबाब दिँदै आएको थियो । नयाँ कानुनमा पनि चिनियाँ संसद्ले कर्पोरेट ट्रेड सेक्रेट सुरक्षित राखेर स्थानीयलाई राम्रो जागिर दिन मिल्ने खालको व्यवस्था समेटेको छ ।


‘नयाँ व्यवस्था सामान्य खालकै छन्,’ चीनस्थित अमेरिकी च्याम्बर अफ कमर्सका अध्यक्ष टिमोथी पी स्ट्राटफोर्डले भनेका छन्, ‘यसले विदेशी कम्पनी वा वैदेशिक लगानीमा सञ्चालित कम्पनीका विद्यमान थुप्रै चासोलाई सम्बोधन गरेको छैन ।’ नयाँ व्यवस्थाले पनि विदेशी व्यापारीलाई कानुनी असुविधा छोडेको उनले बताएका छन् । प्रधानमन्त्री लीले भने आफूहरूले स्थानीय र विदेशी उद्योगलाई समान व्यवहार गर्ने दाबी गरेका छन् ।


चिनियाँ सरकार, घरधुरी र गैरवित्तीय व्यापारको ऋण सन् २००७ मा कुल गार्हस्थ उत्पादको १४६ प्रतिशतबाट सन् २०१८ मा २५३ प्रतिशत पुगेको छ । यो उच्च वृद्धि दर हो । पछिल्लो २५ वर्षमा चीनले आफूलाई विश्वका ठूलो अर्थतन्त्रमध्ये दोस्रो स्थानमा पार्न सफल भएको थियो । विश्वका आधाजसो स्टिल, तामा, कोइला र सिमेन्ट चीन जानेका गरेका छन् भने सुँगुरको मासु र धानसमेत ठूलो मात्रामा चीनले लिन्छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?