१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

हेलिकप्टरको सिट कटौती

कान्तिपुर संवाददाता

काठमाडौँ — हवाई सुरक्षा विभागले नेपाली आकाशमा उड्दै आएका एयरबस कम्पनीले उत्पादन गरेका बिथ्रीई हेलिकप्टरबाट एउटा सिट हटाउने बिहीबार निर्णय गरेको छ । नेपाली हेलिकप्टर व्यवसायीहरुले बीथ्रीईअन्तर्गत एच१२५ मोडलका हेलिकप्टरमा पाइलटसँगैका दुईटा सिटमध्ये बिचको एउटा सिट हटाउनु पर्ने भएको छ ।

हेलिकप्टरको सिट कटौती

'उडान सुरक्षाका दृष्टिकोणले एउटा सिट हटाउने निर्णय गरिएको छ,' नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने । नेपालमा ११ वटा हेलिकप्टर कम्पनी छन् । यीसँग २७ वटा हेलिकप्टर छन् । जसमध्ये सिट हटाउनुपर्ने बीथ्रीई मोडलका १२ वटा हेलिकप्टर रहेको हेलिकप्टर सोसाइटीका महासचिव योगराज कँडेलले बताए । हेलिकप्टर कम्पनीहरुले निर्माता कम्पनी र नेपालमा रहेको नियमनकारी निकाय हवाई सुरक्षा विभागको अनुमतिमा तोकिएको अधिकतम उडान भार नियमअनुसार, सिट क्षमता थपघट गर्न पाउछन् ।

'हेलिकप्टर चार्टर्ड उडान उचाई, तौल र मौसममा भर पर्छ । खासमा सिट हटाउनुको अर्थ छैन,' महासचिव कँडेलले भने, 'तर हामी व्यवसायीहरुले उडान सुरक्षाका दृष्टिकोणबाट यस विषयमा सहमत भएका छौं,' हेली एभरेस्टका सीइओसमेत रहेका कँडेलले भने । यो निर्णयले एयरबसकै उत्पादन बीथ्री र बीथ्रीई बीच प्रतिस्पर्धा हुँदा व्यवसायी रुपमा प्रभाव पर्ने उनले बताए । '१८ करोड पर्ने बीथ्री र २८ करोड पर्ने बीथ्रीई बीच उडान सञ्चालनलगायतका खर्चमा अन्तर छ,' उनले भने, 'व्यावसायिक रुपमा यो निर्णय बेठीक छ ।' विभागले हटाउने भनिएको सिट को-पाइलटले पनि प्रयोग गर्ने सिट हो । अब क्याप्टेनसँग को-पाइलट बस्ने बिचको सिट नहुने भएकाले छेउको सिटमा बसेर प्रशिक्षण लिनुपर्ने हुन्छ । तर, सिंगल इन्जिन हेलिकप्टर उडान एउटा पाइलटले मात्रै गर्न पाउँछन् ।

नेपालमा उचाइअनुसार हेलिकप्टरले लोड राख्छन् । नेपालमा सगरमाथाको दोस्रो क्याम्पसम्म हेलिकप्टर उड्छन् । त्यहाँ उडान २ सय ३० केजीभन्दा धेरै लोड राख्न मिल्दैन । तर तराई क्षेत्रमा उड्दा हेलिकप्टरले अधिकतम उडान भारमा उड्छन् ।

विभागले सगरमाथा आधार शिविर र कालापत्थर पदयात्रा जाने गोरकसेपमा रहेको हेलिप्याडमा चार्टर उडान अवतरण गर्न तत्कालका लागि रोक लगाइदिएको छ । १६ हजार ९ सय ४२ फिटमा रहेको उक्त हेलिप्याडमा आपतकालीन अवतरणबाहेक प्रयोग गर्न पाइने छैन । उक्त हेलिप्याड जोखिमयुक्त रहेकाले त्यही क्षेत्रमा अर्को हेलिप्याड बनाइने जानकारी उपमहानिर्देशक पोखरेलले दिए । विज्ञहरुको निर्णयअनुसार आगामी दिनमा भीभीआईपी उडानबारे निर्देशिका बनाइने पनि उनले बताए ।






प्रकाशित : फाल्गुन २४, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?