२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

चौधरीको सम्पत्ति २० अर्बले बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — विनोद चौधरीको सम्पत्ति एक वर्षमा करीब २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोर्ब्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोर्ब्सको आकलन छ । 

चौधरीको सम्पत्ति २० अर्बले बढ्यो

गत वर्ष चौधरीको सम्पत्ति १ अर्ब ५० करोड अमेरिकी डलर थियो । एक वर्षमा चौधरीको सम्पत्ति २० करोड अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँले बढेको हो ।

फोर्ब्सको तथ्यांकलाई आधार मान्ने हो भने चौधरीको सम्पत्ति सन् २०१३ यता ७० अर्ब रुपैयाँ बढेको छ । सन् २०१३ मा पहिलो पटक फोर्ब्सको अर्बपति सूचीमा पर्दा चौधरीको कुल सम्पत्ति एक अर्ब अमेरिकी डलर थियो ।

२०१५ मा १ अर्ब ३० करोड अमेरिकी डलर पुगेको उनको सम्पत्ति अर्को वर्ष २० अर्बले घटेको फोर्ब्सको तथ्यांक छ । त्यसयता चौधरीको सम्पत्ति प्रतिवर्ष २२ अर्ब रुपैयाँका दरले बढ्दो छ ।

६३ वर्षीय चौधरी सीजी कर्प ग्लोबल र चौधरी ग्रुप नेपालका मालिक हुन् । चौधरीको नबिल बैंकमा ठूलो लगानी रहे पनि खाना, विद्युतीय सामग्री, बियर होटलमार्फत पनि उनले मनग्ये आम्दानी गर्ने फोर्ब्सले जनाएको छ ।

सबैभन्दा बढी आम्दानी उनले नेपालसहित विभिन्न मुलुकमा फैलिएको वाइवाई चाउचाउबाट कमाएका छन् । वाइवाईको भारत, सर्बिया, साउदी अरयिबा र बंगलादेशमा पनि उद्योग खुलेका छन् । चौधरीको भारतस्थित ताज होटलसहित अन्य २९ वटा होटलमा लगानी छ । नेपालमा रहेर छोरा निर्वाण र विदेशमा रहेर राहुल र वरुणले चौधरीलाई व्यवसायमा सघाइरहेका छन् ।

यो वर्ष अर्बपतिहरूको कुल सम्पत्ति र अर्बपतिको संख्या दुवै घटेको फोर्ब्सले जनाएको छ । फोर्ब्सका अनुसार यो वर्ष अर्बपतिको सूचीमा विश्वभरका २ हजार १ सय ५३ व्यक्ति अटाएका छन् । यो संख्या सन् २०१८ को भन्दा ५५ ले कम हो ।

विश्वभरका अर्बपतिहरूको कुल सम्पत्ति ८० खर्ब ७० अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ । यो सन् २०१८ को भन्दा करिब ४ खर्ब डलरले कम हो । सन् २०१८ मा अर्बपतिको सूचीमा परेका करिब ११ प्रतिशत अर्थात् २ सय ४७ व्यक्ति यो वर्षको अर्बपति सूचीबाट बाहिरिएको फोर्ब्सले जनाएको छ । एक पटक अर्बपति सूचीमा परेका व्यक्ति अर्को वर्ष बाहिरिएको यो संख्या सन् २००९ यताकै सबैभन्दा धेरै हो । उक्त वर्ष विश्वव्यापी आर्थिक मन्दीका कारण धेरै अर्बपतिले सम्पत्ति गुमाएका थिए ।

एसिया प्रशान्त क्षेत्रमा मात्रै गत वर्ष सूचीमा परेका ६० अर्बपति यो सूचीबाट बाहिरिएका छन् । चीनबाट गत वर्ष सूचीमा परेका ४९ जना यो वर्ष बाहिरिएका छन् । यो वर्षको सूचीमा १ सय ९५ जना नयाँ अर्बपतिहरू समावेश छन्, जो यसअघि कहिल्यै सूचीमा परेका थिएनन् ।

२१ वर्षीया कस्मेटिक उद्यमी केली जेनर यो वर्ष सूचीमा परेकी सबैभन्दा कान्छी अर्बपति हुन् । यसअघि फेसबुक मालिक मार्क जुकरवर्गको नाममा कान्छा उमेरमा अर्बपति भएको रेकर्ड थियो । उनी २३ वर्षको उमेरमा अर्बपति बनेका थिए ।

अघिल्लो वर्षझैं यसपालि पनि अमेजनका मालिक जेफ बेजोस र उनको परिवार विश्वका सबैभन्दा धनाढ्यमा दरिएका छन् । केही महिना डिभोर्स गरेका बेजोसको पत्नीको नाममा उनको केही सम्पत्ति छ ।

बिल गेट्स यो वर्ष पनि विश्वका दोस्रो धनाढ्य सूचीमा छन् । उनीपछि तेस्रो नम्बरमा वारेन बफेट र बर्नाड अर्नल्ट छन् ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?