१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

वीरगन्जमा आर्थिक गतिविधि : होटल र पर्यटन व्यवसायमा लगानी थपिँदै

शंकर आचार्य

पर्सा — मुलुकको ‘प्रवेशद्वार’ र ‘आर्थिक राजधानी’ जस्ता उपमा पाएको वीरगन्ज सहरमा एक वर्षयता बन्द हडताल हुनै छाडेका छन् । लामो संक्रमणकालको बन्द हडताल, आन्दोलन, विरोध जुलुसलगायतका सबै खाले विरोध प्रदर्शन भोगेको यो सहरमा गत वर्षको स्थानीय तह तथा संघीय एवं प्रादेशिक संसदको निर्वाचनपछि बन्द हडताल करिब समाप्त भएको छ ।

सधैंजसो विरोध प्रदर्शनको केन्द्र बनिरहने यो महानगरको मुटुमा रहेको घण्टाघरमा अचेल सामाजिक कार्य र सांस्कृतिक कार्यक्रमहरू भइरहेका देखिन्छन् ।


बन्द हडताल हुन छोडेपछि आर्थिक गतिविधि पनि बढदो छ । विशेषगरी होटल तथा पर्यटन व्यवसायमा लगानी थपिँदै छ । महानगरमा नयाँनयाँ होटल रेस्टुराँहरू थपिँदै छन् । अन्य नयाँ व्यापार व्यवसाय पनि सुरु गरिएका छन् ।


जिल्ला प्रहरी कार्यालयको रेकर्डअनुसार चालु आर्थिक वर्षको साउन २९ मा नेकपा (विप्लव) को पूर्वघोषित बन्द कार्यक्रमको बजारका अन्य क्षेत्रमा खासै असर नपरे पनि लामो दूरीका सवारी साधन चलेनन् । गत असोज २ मा माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपाल र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आहवानमा नेपाल बन्दको क्रममा यहाँ खासै असर परेन । यी दुई बन्दमा पनि वीरगन्ज बजारका पसल बन्द भएनन् ।


यो महानगरको बजार, व्यापार, व्यवसायमा कुनै असर गरेन । केन्द्रीयस्तरबाटै नेपाल बन्द आहवान गरिएको थियो । यी दुई बन्दबाहेक हालसम्म यो सहर केन्द्रित बन्द हडताल यस वर्ष भएका छैनन् ।


विश्लेषक मनोज उफाध्याय वीरगन्जमा बन्द हडताल नहुनुको मुख्य कारण एक वर्षयता मुलुकमा जारी लामो समयदेखिको राजनीतिक संक्रमणकालको अन्त्य हुनु नै मान्छन् ।


‘मुलुकले लामो समय संत्रमणमा गुजार्‍यो, त्यसको बढी मार वीरगन्जलाई परेको थियो,’ उनले भने, ‘अहिले राजनीतिक दलहरूका माग धेरैजसो सम्बोधन भएको र केही सम्बोधन हुने क्रममा छन्, संघीय संसद्, प्रादेशिक संसदसँगै स्थानीय तहको निर्वाचन र त्यसपछिका विकास एवं घटनाक्रमले यसरी असन्तुष्ट रहेका धेरै पक्षको माग सम्बोधन भएको र सम्बोधन नभएका मागहरू पनि सम्बोधन हुने आशामा सत्ता वा सत्ताको समर्थक भइसकेपछि वीरगन्जले आराम पाएको हो ।’


लामो समय आन्दोलन भोगेको वीरगन्ज प्रादेशिक राजधानीको प्रबल दाबेदार हुँदाहुँदै पनि प्रदेश २ को राजधानी नबन्दा निरन्तर आन्दोलनमा होमिएका वीरगन्जेलीलाई आन्दोलन, बन्द हडताललगायतमा मन नलागेको पनि हुन सक्ने उनको बुझाइ छ । ‘धेरै वीरगन्जेलीलाई आफूहरू बन्द हडतालको उत्कर्षमा पुगेर पनि वीरगन्जले केही नपाएको गुनासो पनि छ,’ उनले भने, ‘अर्कोतर्फ संक्रमणकालको अन्त्यसँगै वीरगन्जले पनि राजनीतिक स्थिरता र थप आर्थिक समृद्धि खोजेको छ, अहिले शान्त वीरगन्ज त्यसकै परिणाम हो ।’


इन्जिनियर बैजुनाथ रौनियार संघीय र प्रादेशिक संसदको चुनाव तथा स्थानीय तहको चुनावपछि कतिपय मधेसवादी दलहरू केन्द्रीय तथा प्रादेशिक संसद्मा रहेकाले पनि यहाँ बन्द हडताल हुन नपाएको बताउँछन् । ‘अधिकार प्राप्तिको लडाइँ गरिरहेका मधेसवादी दलहरू प्रादेशिक सरकार चलाइरहेको, कतिपय स्थानीय तहमा पनि मधेसवादी दलहरूकै उपस्थित रहेको छ,’ उनले भने, ‘संघीय सरकारमा संघीय समाजवादी फोरम आफैं सहभागी रहेको अवस्था छ, संघीय सरकारलाई अर्को मधेसवादी दल राजपाको समर्थन पनि भएको अवस्था छ ।’ मधेसवादी दलहरू पनि आफ्नो पूरा नभएका माग वार्ता, समझदारी र संवादको माध्यमबाट सम्बोधन गराउने बाटोमा लागेपछि बन्द हडताल तथा विरोध प्रदर्शन आदि कम भएको हुन सक्ने उनको बुझाइ छ ।


होटल तथा पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष बुद्धि (हरि) प्रसाद पन्त बन्द हडतालरहित पछिल्लो एक वर्षले यो महानगरमा आशाको किरण जगाएको बताउँछन् ।


‘दैनिकजसोको बन्द हडताल र अनेक बहानामा गरिने प्रदर्शनले महानगरबासीलाई आजित बनाएको थियो, यहाँको व्यापार व्यवसाय चौपट बनाइसकेको थियो, कतिपय व्यवसायी सम्भावना खोज्दै आफ्नो व्यापार व्यवसायसहित चितवन, भैरहवातर्फ सिफ्ट पनि भएका थिए,’ उनले भने, ‘पछिल्लो एक वर्ष बन्द हडतालरहित हुँदा यहाँको व्यापार व्यवसायमा त्यसको अत्यन्त सकारात्मक असर परेको छ, पर्ख र हेरको अवस्थामा बसेका कतिपय व्यवसायीहरू अहिले होटल, पर्यटन तथा अन्य क्षेत्रमा खुलेर लगानी गर्न थालेका छन्, यो हामी वीरगन्जेलीका लागि सुखद र शुभ संकेत हो ।’ बन्द र हडतालले सबैभन्दा मार उद्योगी व्यवसायीलाई नै पर्थ्यो । एकातिर व्यापार व्यवसाय चौपट हुने अर्कोतर्फ बन्द हडताल गर्नेलाई नै चन्दा दिएर सघाउनुपर्दा उनीहरू दोहोरो मारमा पर्थे ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?