कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

९५ प्रतिशत वैदेशिक रोजगार बचतपत्र बिकेन

यज्ञ बञ्जाडे

काठमाडौँ — रोजगारीका लागि बिदेसिएका नेपालीलाई लक्षित गरी सरकारले जारी गरेको वैदेशिक रोजगार बचतपत्रमध्ये करिब ९५ प्रतिशत बिक्री भएको छैन । 

विगत ९ वर्षमा राष्ट्र बैंकले ११ अर्ब ८ करोड ७९ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरिसकेको छ । तीमध्ये ५८ करोड ६८ लाख रुपैयाँ बराबरका बचतपक्र मात्र बित्री भएको देखिन्छ । बिक्री भएको बचतपत्र कुल जारी रकमको ५.२९ प्रतिशत हो । नागरिकलाई बचतपत्रबारे सचेतना नहुनुका साथै बैंकको पहुँचमा पुग्न नसकेकाले अपेक्षित रूपमा बिक्री हुन नसकेको जानकारहरू बताउँछन् ।


वैदेशिक रोजगार बचतपत्र सरकारी आन्तरिक ऋण उठाउने एक वित्तीय औजार हो । पछिल्लो दशकमा नेपालबाट रोजगारीका लागि बाहिरिने संख्या बढेसँगै रेमिट्यान्स आप्रवाह पनि बढेको थियो । त्यही बेला मुलुक भित्रिएको रेमिट्यान्समध्ये ठूलो अंश उपभोग र बाँकी अनुत्पादक क्षेत्रमा प्रवाह भएको सरकारी तथ्यांक सार्वजनिक भयो । यसकारण वैदेशिक रोजगारीमा गएका नागरिकलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उनीहरूको बचत उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले सरकारले वैदेशिक ऋणपत्र निष्कासन सुरु गरेको हो ।


आर्थिक वर्ष ०६६/०६७ मा राष्ट्र बैंकले पहिलो पटक १ अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको थियो । त्यति बेला ४० लाख रुपैयाँको माक्र बित्री भयो । उक्त बचतपत्रको ब्याजदर वार्षिक ९.७५ प्रतिशत परिपक्वता अवधि पाँच वर्ष थियो । त्यसपछि हरेक वर्ष विभिन्न रकमको बचतपत्र जारी गर्दै आएको छ । त्यस्ता सबैजसो आह्वानमा निकै कम मात्र बचतपक्र बित्री भएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष ०७२/७३ मा तीन पटक गरी राष्ट्र बैंकले करिब ८४ अर्ब रुपैयाँ र त्यसपछिको दुई आर्थिक वर्षमा १/१ अर्ब रुपैयाँ बराबरको बचतपत्र जारी गरेको थियो ।


यस्तै पछिल्लो पटक असार २७ मा राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र आह्वान गरेको थियो । त्यति बेला पनि जम्मा ४० लाख (जारी रकमको १.६० प्रतिशत) बचतपक्र बित्री भयो । यो बचतपत्रको ब्याजदर १० प्रतिशत थियो ।

रेमिट्यान्समार्फत मुलुक भित्रिएको रकम उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले बचतपत्र जारी भए पनि अपेक्षित रूपमा बिक्री नभएको राष्ट्र बैंकले स्विकारेको छ । अपेक्षित रूपमा बचतपक्र बित्री नहुनुमा प्रमुख चार कारण रहेको राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख नरबहादुर थापाले बताए ।


पहिलो विदेशमा काम गर्ने नेपालीको बचत तुलनात्मक हिसाबले न्यून छ । यसकारण आफ्नो कमाइ दैनिक उपभोगमा खर्चिनुपर्ने कारण उनीहरूको बचत न्यून रहेको हो । आम्दानीले दैनिकी धान्न पर्याप्त नभएको अवस्थामा बचत हुने कुरा भएन । उनीहरूका लागि बचतपत्र विलासिताको वस्तु जस्तै बन्यो । यसकारण उनीहरूको रोजाइमा परेन ।


दोस्रो बचतपत्र आह्वानले निरन्तरता पाएन । यसको अर्थ विदेशमा गएकाले आफूले चाहेको समयमा बचतपत्र खरिद गर्न पाएनन् । समय समयमा आह्वान हुने भएकाले समयको सुनिश्चितता भएन । तेस्रो बचतपत्र सीमित ठाउँमा मात्र पाइन्छ । घरजग्गा जस्तो सहज उपलब्धता छैन । चौथो बचतपत्रले ठूलो पुँजीगत लाभ दिँदैन । घरजग्गा, पशु, सेयरलगायतमा लगानी गर्दा थप पुँजीगत लाभकर प्राप्त गर्न सकिन्छ । बचतपत्रमा पुँजीगत लाभ प्राप्त भएन । यसकारण आकर्षण घटेको हुन सक्छ ।


सरकारले रोजगारीका लागि बिदेसिएका नागरिक र गैरआवासीय नेपाली (एनआरएन) ले यस्तो बचतपत्रमा लगानी गर्न पाउने व्यवस्था छ । ‘मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा मात्र खरिद गर्न पाउँछन्,’ राष्ट्र बैंकले भनेको छ । वार्षिक १० प्रतिशत ब्याज दिने र सो ब्याज ६/६ महिनामा भुक्तानी हुने व्यवस्था छ ।


यस्तो ब्याज बचतपत्र खरिदकर्ता आफैंले वा इच्छाइएको व्यक्तिमार्फत भुक्तानी लिन पनि पाउँछन् । आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुने गरी ब्याज भुक्तानी लिन आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फर्ममा उल्लेख गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।


त्यसो त पछिल्ला वर्षहरूमा रोजगारीमा जाने नेपालीको संख्या घट्दो छ । आर्थिक वर्ष ०७१/७२ मा ५ लाख १२ हजार नेपाली वैदेशिक रोजगारीमा गएकामा गत वर्ष यस्तो संख्या घटेर ३ लाख ५८ हजारमा सीमित भएको छ । चालु आर्थिक वर्षको छ महिनामा यो संख्या झन् घटेर १ लाख १३ हजार ९० रहेको राष्ट्र बैंकले जनाएको छ ।


यस्तै विगत पाँच वर्षमा रेमिट्यान्सबाट प्राप्त रकम बढ्दै गए तापनि चार वर्षको तथ्यांक हेर्दा सोको वृद्धिदरमा कमी आएको देखिन्छ । आर्थिक वर्ष ०७१/७२ मा रेमिट्यान्स वृद्धिदर १३.६ प्रतिशतले बढेकामा गत वर्ष ८.६ प्रतिशतमा सीमित भएको छ । यद्यपि गत वर्ष मात्र ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस्तै चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ४३ अर्ब रुपैयाँ मुलुक भित्रिएको छ । यो ३०.२ प्रतिशतको वृद्धि हो ।


अर्थतन्त्रका सेवा क्षेत्र (खासगरी थोक तथा खुद्रा व्यापार, शिक्षा, स्वास्थ्य, यातायात आदि) विस्तारमा रेमिट्यान्सको योगदान महत्त्वपूर्ण रहेको सरकारी तथ्यांक छ । यस्तै कुल घरपरिवारमध्ये ३८.४ प्रतिशतको आम्दानीको मुख्य स्रोत रेमिट्यान्स रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ ।


‘रेमिट्यान्स आप्रवाहको ठूलो हिस्सा शिक्षा, स्वास्थ्यललगायत उपभोगका खर्च हुने गरेकाले रेमिट्यान्सको भूमिका गरिबी निवारण तथा जीवनस्तर सुदृढीकरणमा महत्त्वपूर्ण देखिन्छ,’ नेपाल जीवनस्तर सर्वेक्षण २०११ मा उल्लेख छ ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?