कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

निकुञ्ज क्षेत्रमा पाइप गाड्न सुरु

पवन यादव

सिमरा — वन क्षेत्र भएको कारण विगत तीन महिनादेखि अडकिएको पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाड्ने काम बुधबारदेखि थालिएको छ । 

संघीय सरकारको मन्त्रिपरिषद् बैठकले यही माघ ३ गते भएको बैठकको निर्णयअनुसार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रूख काटेर पेट्रोलियम पाइपलाइन गाडने अनुमति दिएपछि रूख कटान गर्ने र पाइपलाइन गाड्ने काम सँगसँगै सुरु गरिएको हो ।


मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ किलोमिटर रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले बताए । यसमध्ये ३२ किलोमिटर पाइपलाइन भारतीय क्षेत्रमा र ३६ किलोमिटर पाइपलाइन नेपाल क्षेत्रमा पर्दछ । भारतको रक्सौलदेखि पथलैयासम्म पर्ने २७ किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम सम्पन्न भएको छ ।


निकुञ्ज क्षेत्रबाहेकको ६० किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम एक साताअघि सम्पन्न भइसकेको उनले जानकारी दिए । ‘निकुञ्ज क्षेत्रको ९ किलोमिटर क्षेत्रमा एक महिनाभित्र पाइप गाड्ने काम सकिन्छ,’ उनले भने, ‘त्यसपछि पाइपलाइन टेस्टिङको काम सुरु गर्छौं ।’ पाइपलाइन टेस्ट गर्न झन्डै १५ दिन समय लाग्ने अनुमान गरिएको उनले बताए । यसरी सबै प्रक्रिया पूरा गरी वैशाखको पहिलो सातासम्ममा पाइपलाइनबाट तेल ल्याउन सकिने उनले जानकारी दिए ।


उनका अनुसार निकुञ्ज क्षेत्रका रूख कटान अनुमति दिइने काम ढिलो भएको कारण पाइपलाइनबाट तेल ल्याउने लक्ष्य निर्धारित समयमा भेटाउन सकिएन । अबको डेढ महिनामा पाइपलाइन गाड्ने र टेस्ट गर्ने सबै काम सम्पन्न हुने उनले दाबी गरे ।


निकुञ्ज क्षेत्रका रूख काट्ने प्रक्रिया पुर्‍याएर अनुमति लिनमै छ महिना समय लाग्यो । पथलैयादेखि अमलेखगन्जसम्मको निकुञ्ज क्षेत्रको पाइपलाइन गाड्ने रुटबाट आठ वटा ब्लकमार्फत ६ हजार ५ सय ६३ वटा रूख तथा पोल परेका छन् । त्यस्तै उक्त रुटबाट ८१ हजार ६ सय लाथ्राहरूको कटान, मुछान, ढुवान, पाइलिङ, घाटगद्दी, जरा उखेल्नेलगायतका काम सुरु गरिएको उनले जानकारी दिए ।


निकुञ्ज कार्यालयबाट खटिएका कर्मचारीको रोहवरमा टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाले रूख कटान मुछान गर्ने नेपाल आयल निगमले जनाएको छ ।


आठ वटै ब्लकबाट काटिएका रूखबाट ५२ हजार १ सय २४ दशमलव २४ क्युफिट काठ र १ सय ८८ दशमलव ८६ चट्टा दाउरा संकलन हुने अनुमान टिम्बर कर्पोरेसनले गरेको छ । निकुञ्ज क्षेत्रमा पाइप गाडिएपछि बरौनी–पटना–कानपुर पाइपलाइनमध्ये पटनाबाट सिधै तेलका लागि यहाँको पाइपलाइन जडान गरिने मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ ।


तेल भण्डारण गर्न यसअघि अमलेखगन्ज डिपोमा रहेको चार वटा पुराना ट्यांकीलाई भारतीय ठेकेदारमार्फत मर्मत कार्य भइरहेको छ । जसमध्ये दुई वटा ट्यांकीको मर्मत कार्य सम्पन्न भइसकेको परियोजना कार्यालयले जनाएको छ । पहिलो चरणमा १६ हजार किलोलिटर तेल भण्डारण गर्न सक्ने पूर्वाधार तयार गरिएको छ । तेल भण्डारण गर्न थप ६/७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको जनाइएको छ । अहिले दैनिक दुई सय ट्यांकर रक्सौलस्थित डिपोबाट इन्धन भर्छन् । वैशाखदेखि इन्धन भर्न रक्सौल पुग्नुपर्ने बाध्यता हट्ने जनाइएको छ ।


२ सय ७५ करोड भारु खर्चमा परियोजना सम्पन्न गर्ने लक्ष्य लिइए पनि पाइपलाई क्षेत्रमा पर्ने घर क्षेत्रमा पाइपलाइन व्यवस्थित पार्न खर्च बढेकाले परियोजनाको कुल खर्च अहिले ३ सय २४ करोड भारु पुगेको उनले परियोजना अधिकारीले जानकारी दिए ।

पाइपलाइनबाट तेल भित्रिने काम सुरु भएपछि नेपाल आयल निगमले इन्धन ढुवानीमा खर्च गर्दै आएको रकममध्ये झन्डै ३ देखि ५ अर्ब रुपैयाँ खर्च बचत हुने अनुमान आयल निगमले गरेको छ ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?