कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषामा धान महँगियो

श्यामसुन्दर शशि

जनकपुर — किसानबाट सस्तोमा खरिद गरिएको धानको मूल्य कारोबारीले वृद्धि गरेका छन् । किसानको हातबाट व्यापारीको हातमा गएसँगै धानको मूल्यमा उल्लेख्य वृद्धि भएको हो । 

धनुषामा धान महँगियो

एक महिनाअघि धान खरिद गर्ने थोक पसल (घाटगद्दी) मा कतरनी धान २ हजार २ सय, बासमती ४ हजार ७ सय, सोना मन्सुली १ हजार ९ सय ५० र रामविलास २ हजार ५ सय प्रतिक्विन्टलमा बिक्री भयो । अहिले कतरनीको मूल्य २ हजार ८ सय पुगेको छ भने बासमती ६ हजार २ सय, सोना मन्सुली २ हजार ५ सय र रामविलास २ हजार ७ सय प्रतिक्विन्टलमा बिक्री भइरहेको छ ।


अहिले सोना मन्सुली चामल ३ हजार ५ सय, रामविलास ४ हजार, कतरनी ५ हजार र बासमती १० हजार ५ सय प्रतिक्विन्टलमा बिक्री हुँदै छ । यो थोक बाजारको मूल्य हो । खुद्रा बाजारमा भने चामलको मूल्य प्रतिकिलो ५ देखि १० रुपियाँ अधिक छ ।

केही वर्षयता धनुषा, महोत्तरी, सिरहा, सप्तरीलगायतका तराईका जिल्लामा आधा उसिनेको चामल खाने चलन बढेको छ । यी जिल्लाहरूमा यस्ता मिलहरूको आभाव भएकाले भारतीय चामलप्रतिको आकर्षण बढेको छ ।


श्रीराम राइस मिलका सञ्चालक राजकिशोर साहका अनुसार किसानहरू आफैंले उत्पादन गरेको चामलको सट्टा भारतबाट आयातित आधा उसिनेको चामल खान मन पराउँछन् । ‘मोटो र मनसुली चामल खानेको संख्या निरन्तर घटदै छ । हाम्रो देशमा मोटो चामलकै उत्पादन बढी हुन्छ । मागअनुसारको उत्पादन गर्नुपर्‍यो नि,’ राजकिशोर साहले कान्तिपुरसँग भने ।


धेरै उत्पादन दिने र थोरै हेरचाह र पानीमा पनि राम्रो उत्पादन हुँदा किसानहरू आफ्नो खेतमा रामविलास, सोना मन्सुलीलगायतका मोटो जातिको धानको खेती गर्न मन पराउँछन् । तर मोटो जातका धानको उपभोक्ता दिनदिनै घटै गएको छ ।


केही वर्षअघिसम्म तराईका जिल्लाहरूमा उत्पादन हुने मोटो अरबा चामल सिन्धुली, रामेछाप, उदयपुरलगायतका पहाडी जिल्लाहरूमा खपत हुन्थे अचेल ती जिल्लाहरूमा पनि आधा उसिनेको चामलको माग बढ्न थालेको चामल उत्पादक चन्देलाल साह भन्छन् ।


सुपाच्य तथा मधुमेहका रोगीहरूले समेत खान सक्ने भएकाले आधा उसिनेको भारतीय चामलप्रतिको आकर्षण बढेको चामल उत्पादकहरू बताउँछन् । भारतीय सरकारले कृषि उत्पादनमा दिने सब्सिडीका कारण त्यहाँका व्यावसायीहरू सस्तोमा चामल बिक्री गर्न सकेको उनीहरूको दाबी छ ।


‘हामीले धान खरिद गर्दा अधिकतम एक सप्ताहभित्र किसानलाई भुक्तानी गर्नुपर्दछ तर भारतमा १ महिनादेखि ६ महिनाको बीचमा भुक्तानी गर्ने प्रावधान छ । भारत सरकार अधिकांश मोटो धान आफैं खरिद गर्छ । हामीलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको छ,’ श्रीराम राइस मिलका अर्का सञ्चालक ओमशंकर साहले भने ।


उसिना चामल खाने शैली

तीन दशकअघिसम्म उसिना चामल खाने चलन थियो । किसानहरू घरघरमा धान उसिनेर चामल बनाउँथे । उसिना चामल उत्पादन गर्न धनुषामा पाँच ठूला चामल मिल थिए । जसमा तीन हजार अधिक कामदारले रोजगारी पाएका थिए । यहाँको उसिना चामल भारत, बंगलादेश र चीनसम्म निर्यात हुन्थ्यो । अचेल उसिना र आधा उसिना चामल भारतबाट आपूर्ति गर्नुपर्ने बाध्यता छ ।


गिरिजा राइस मिलका सञ्चालक तथा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश साहले गलत सरकारी नीतिका कारण उसिना चामल उत्पादन गर्ने मिलहरू बन्द भएको बताउँछन् । साहका अनुसार तत्कालीन सरकारले धान चामल निर्यात कम्पनी सुरु गरेपछि निजी चामल मिलहरू बन्द भएका हुन् ।


‘सरकारले आफैं धान खरिद गरी चामल बिक्री गर्न थाल्यो । अनि चामल उत्पादक मिलहरूमाथि लेबी पनि लगायो । चामल उत्पादकहरू घाटामा गए अनि मिल बन्द भयो,’ साहले भने ।


अर्का चामल उत्पादक चन्देप्रसाद साह उपभोक्ताहरूको खानपान शैलीमा परिवर्तन भएको बताउँछन् । साहका अनुसार पहिले उसिना चामल खाने चलन थियो । तिसको दशकमा अरबा खाने चलन बढ्यो अनि केही वर्षदेखि पुनः उसिना चामल खाने चलन बढेको छ ।

संस्थागत औद्योगिक क्षेत्रको निर्धारणबिना उसिना चामल उद्योग सञ्चालन गर्न कठिन हुने उनीहरूको दाबी छ । उसिना चामल उद्योगमा अत्यधिक धूवा, धूलो र पानीको प्रयोग हुने हुँदा यस्ता उद्योग सञ्चालन गर्न औद्योगिक क्षेत्र निर्धारण गर्नुपर्ने श्रीराम राइस मिलका सञ्चालक साह भन्छन् ।

प्रकाशित : फाल्गुन १६, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?