विद्युत्को ५० करोड बक्यौता

नेपाल विद्युत् प्राधिकरणले धनुषाको तीन वटा वितरण केन्द्रबाट ५० करोड रुपैयाँ विद्युत् महसुल असुल गर्न सकेको छैन
शाहीमान राई

जनकपुर — नेपालमा एक मेगावाट विद्युत् उत्पादन गर्न कति रकम लाग्ला ? ऊर्जा क्षेत्रमा लगानीकर्ताको अनुभव सुन्ने हो भने निजी क्षेत्रबाट दस वर्षमा उत्पादित जलविद्युत् र निर्माणाधीन जलविद्युत् आयोजनाहरूको लगानी प्रतिमेगावाट १३ करोड ५० लाखदेखि २० करोड रुपैयाँ छ ।

विद्युत्को ५० करोड बक्यौता

ऊर्जाविज्ञ तथा लगानीकर्ताका अनुसार संखुवासभाको पिलुवाखोला जलविद्युत् आयोजना प्रतिमेगावाट साढे १३ करोड, गुल्मी र पाल्पाको रिडीखोला जलविद्युत् आयोजना प्रतिमेगावाट १७ करोड रुपैयाँ खर्च भएको छ । पाँचथरको इवाखोला जलविद्युत् आयोजना प्रतिमेगावाट १७ करोड ५० लाख र काबेली बी १ जलविद्युत् आयोजना प्रतिमेगावाट १८ करोड रुपैयाँ लगानीमा करिब ३५ मेगावाट उत्पादन हुन लागेको छ ।


तर, नेपाल विद्युत् प्राधिकरणले धनुषाको तीन वटा वितरण केन्द्रबाट ५० करोड रुपैयाँ विद्युत् महसुल असुल गर्न सकेको छैन । धनुषा सदरमुकाम जनकपुरधामस्थित विद्युत् प्राधिकरणको वितरण केन्द्रबाट मात्र ४५ करोड ५० लाख रुपैयाँ, धनुषाकै महेन्द्रनगर सखुवा केन्द्रबाट ४ करोड ५२ लाख रुपैयाँ बक्यौता असुल भएको छैन । प्राधिकरणले अर्को धनुषाको यदुकुहा वितरण केन्द्रबाट सेवाग्रहीलाई सेवा प्रवाह सुरु गरी महसुल असुल गर्न थालेको छ । प्रदेश २ को राजधानी सहर जनकपुरधामस्थित सरकारी कार्यालय, गैरसरकारी संघसंस्था, उद्योग, कलकारखाना, मठमन्दिर, कुटी, गुठी, क्लब, सार्वजानिक संस्थानलगायत सर्वसाधारणसित विद्युत् महसुल असुल गर्न नसकेको हो ।


विद्युत् प्रसारणलाइनबाट हुकिङ, चोरी, चुहावट र महसुल बक्यौताको कारण प्राधिकरणले निकै ठूलो नोक्सानी व्यहोर्दै आएको छ । सेवाग्रहीको घर झगडा, मुद्दा मामिला, संघसंस्थाको अटेरीपन, सार्वजानिक संस्थानको बेजिम्मेवारपन, ग्राहकको समय नहुनु, पारिवारिक समस्या, आर्थिक अभाव, वादविवाद, किचलो, निस्क्रियतालगायत विभिन्न कारण करोडौं रुपैयाँ बक्यौता असुल हुन नसकेको नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए । उनले विद्युत् बक्यौता महसुल असुल गर्न हर समय कोसिस जारी राखेको बताए ।


विद्युत् महसुल असुल गर्न ग्राहक तथा तथा सेवाग्रही घरपरिवार संघ संस्थालाई पत्राचार गर्ने, घरघरमा गएर अनुरोध गर्ने, सम्झाउ बुझाउ गरेर पनि महसुल नबुझाउनेको लाइन काटिदिने गरेको प्राधिकरण वितरण केन्द्र प्रमुख मण्डलले बताए । उनले लाइन काटेपछि पुन: जडानका लागि सेवाग्रहीबाट ५ सय रुपैयाँ रकम रिकनेक्सन चार्ज असुल्ने गरेको छ ।


नेपाल विद्युत् प्राधिकरणको धनुषा सदरमुकाम जनकपुर वितरण केन्द्रबाट जनकपुरधाम उपमहानगरपालिका, मिथिला बिहारी नगरपालिका, हंसपुर नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिकाको ग्राहक संख्या ६५ हजार घरपरिवार छ । प्राधिकरणले यसकेन्द्रबाट दैनिक ३० लाख रुपैयाँ महसुल असुल्दै आएको छ । जनकपुर वितरण केन्द्रको बक्यौता रकममध्ये सबैभन्दा बढी प्रसिद्ध जानकी मन्दिरको नाममा ४५ लाख रुपैयाँ बक्यौता असुल्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । जानकी मन्दिरका महन्तले बक्यौता छिट्टै बुझाउने प्रतिबद्धता जनाएको प्राधिकरणले जनाएको छ ।


प्राधिकरणको महेन्द्रनगर सखुवा वितरण केन्द्रबाट धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वर नगरपालिका, सबैला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका र मुखियापटी मुसहरनिया गाउँपालिका गरी पाँच वटा नगरपालिका र दुई वटा गाउँपालिकामा ३९ हजार २ सय ५२ घरपरिवार ग्राहक छन् । यस केन्द्रबाट मासिक चार करोड रुपैयाँ महसुल संकलन हुने गरेको प्राधिकरणको महेन्द्रनगर सखुवा वितरण केन्द्रका प्रमुख राजकुमार रमनले बताए ।


यस केन्द्रबाट बक्यौता रहेको ४ करोड ५२ लाख रुपैयाँ असुली, चोरी चुहावट नियन्त्रण र न्यूनीकरणका लागि सक्रिय रहेको केन्द्र प्रमुख रामकुमार रमनले बताए । उनले चोरी चुहावट र हुकिङ गरेर विद्युत् उपभोग गर्ने सेवाग्रहीलाई कारबाही शुरु गरेको बताए । उनले गतवर्ष एक सय ७२ जना र यसवर्ष ७२ जनालाई कारबाही गरी जनही दस हजार रुपैयाँका दरले जरिवाना तिराएको बताए । केन्द्रबाट विगतमा हुने गरेको ३० प्रतिशत चोरी चुहावट नियन्त्रण गरी घटाएर २० प्रतिशतमा झारेको केन्द्र प्रमुख रमनले दाबी गरे । ‘विगतमा ३० प्रतिशत चोरी चुहावट हुन्थ्यो, अहिले घटाएर २० प्रतिशतमा झारेको छु,’ केन्द्र प्रमुख रमनले दाबी गर्दै भने ।


नेपाल विद्युत् प्राधिकरणले पूर्वी धनुषाको यदुकुहा वितरण केन्द्रबाट सेवाग्रहीलाई विद्युत् महसुल असुल गर्न र सेवा विस्तार गर्न थालेको छ । यस केन्द्रबाट कमला, विदेह, हंसपुर, सहिदनगर नगरपालिका, जनकनन्दनी, औरही गाउँपालिका र सबैला नगरपालिकाको वडा नं ९ र १० का २२ हजार घरपरिवार ग्राहक छन् । गत भदौदेखि कार्यालय स्थापना भए पनि यस केन्द्रबाट महसुल असुल्न थालेको दुई महिना भयो । यदुकुहा केन्द्रबाट दैनिक दुई लाख रुपैयाँ महसुल संकलन हुने गरेको वितरण केन्द्र प्रमुख सुनिलकुमार महतोले बताए ।


विद्युत् सेवा विस्तार हुन नसकेको धनुषाको कमला नगरपालिकाको वडा नं ५, ६ र ७ का १५ वटा टोलका बासिन्दा विद्युत् सेवावाट वञ्चित छन् । दुई महिनाअघि कमला नगरपालिका ९ स्थित दुवरकोट हटलेटवामा विद्युत् सेवा विस्तार गरिएको केन्द्र प्रमुख महतोले बताए । उनले वडा नं ५ र ६ को सखुवामरान र हठमुण्डामा पोल र तार विस्तार गरिसकेको बताए ।


नेपाल विद्युत् प्राधिकरणले धनुषाको जनकपुरधामलगायत विभिन्न ठाउँमा सडक, ढल निकासका लागि ड्रेन नाली निर्माण कार्य भइरहेकाले विद्युत् प्रणाली अव्यवस्थित रहेको जनकपुर वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए । उनले छ लेनको ढल्केबर जनकपुर २७ किलोमिटर, जनकपुर जटही सडक, जनकपुरको परिक्रमा सडकलगायत विभिन्न ठाउँमा सडक विस्तार कालोपत्रे, विद्युत्, खानेपानी, विद्युत्, टेलिफोन लाइन मर्मत सम्भारको कारण विद्युत् प्रसारण लाइन अवरुद्ध हुने गरेकाले सेवाग्राहीलाई कठिनाइ हुने गरेको बताए ।


‘विगतमा लाइन पटक्कै थिएन, अचेल सुधारिएको छ, फिल्डमा काम गर्दै छौं,’ केन्द्र प्रमुख सूर्यनारायण मण्डलले दाबी गरे, ‘सुधार कार्य गर्दै छौं, उपभोक्ता, ग्राहक र सेवाग्रहीको अवरोधले पनि ठाउँठाउँमा सेवा विस्तार प्रभावित हुने गरेको छ, विद्युत् चाहिनेले पनि पोल गाड्न र तार टाँग्न दिँदैनन् ।’

प्रकाशित : माघ २६, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?